coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

चन्द नेतृत्वको नेकपाका १७ नेता तथा कार्यकर्ता पक्राउ

सिन्धुपाल्चोक - नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका १७ नेता तथा कार्यकर्तालाई प्रहरीले सिन्धुपाल्चोकबाट नियन्त्रणमा लिएको छ। उनीहरुका गतिविधिलाई उच्च निगरानीमा राखिरहेको नेपाल प्रहरीले उनीहरुलाई शुक्रबार राती एकै पटक नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिइएकाहरुमा अधिकांश जिल्ला तहका नेता छन्।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको टोलीले चौतारा साँगाचोकगढी नगरपालिकाको कार्कीटारबाट शुक्रबार राति उनीहरुलाई नियन्त्रणमा लिएको हो। उनीहरुलाई हिरासतमा लिएर अनुसन्धान गरिरहेको प्रहरी स्रोतले जनाएको छ। जिल्ला प्रहरी प्रमुख एसपी मुकुन्द मरासिनीले पक्राउ घटनाबारे अनभिज्ञता नजनाएपनि थप सूचना भने दिन चाहेनन्। ‘केही व्यक्ति पक्राउ परेका हुन्,’ उनले नागरिकसँग भने, ‘पक्राउ परेकाहरु को हुन् र कुन दलमा आवद्ध छन् भन्ने चाहिँ खुल्न बाँकी नै छ।’ अवाञ्छित गतिविधिमा संलग्न रहेको आशंकामा उनीहरुलाई नियन्त्रणमा लिइएको एसपी मरासिनीले बताए। अनुसन्धानबाट आइतबारसम्म थप सूचना दिन सकिने भन्दै उनी पन्छिए।

सुरक्षा स्रोतले भने चन्द समूहको गतिविधि नियन्त्रणमा लिने केन्द्रीय सर्कुलरअनुसार उनीहरुलाई पक्राउ गरेको बतायो। जिल्लामा चन्दा आतंक मच्चाएको, धाकधम्कीको राजनीति अघि बढाएको आरोपमा अनुसन्धान गर्न उनका नेता, कार्यकर्तालाई पक्राउ गरेको एक प्रहरी अधिकारीले बताए। उनका अनुसार चन्द समूहले पछिल्लो समय धम्कि दिएर स्थानीय जनप्रतिनिधि, विभिन्न उद्योगी, व्यवसायी, क्रसर उद्योगीमाझ चन्दा आतंक मच्चाउँदै आएको छ।

चन्द समूहका नेता किरण घिमिरेले आफ्ना १७ कार्यकर्ता पक्राउ परेको जानकारी दिए। ‘धेरै जिल्ला समिति सदस्य हुन्। केही समर्थक पनि पक्रिएको जानकारी पाएका छौँ,’ उनले भने। उनका अनुसार पक्राउ पर्नेमा जिल्ला सदस्य रञ्जित ठकुरी, धनबहादुर श्रेष्ठ, पूर्ण मल्ल ठकुरी, मेलम तामाङ, पार्टी आन्तरिक मिडिया हेर्ने समीर तामाङ लगायत छन्।

साँगाचोकको कार्कीटारमा पार्टी संगठन निर्माण र विस्तारको क्रममा उनीहरु पक्राउ परेको जिल्ला पूर्वसेक्रेटरी रहेका घिमिरेले जनाए। ‘पछिल्लो दुई महिनायता हामी पार्टी संगठन बनाउने र विस्तार गर्ने अभियानमा छौँ । उहाँ (पक्राउ परेका) हरु सोही क्रममा कार्कीटार पुग्नु भएको थियो,’ उनले भने । हाल ब्यूरो कार्यालयमा काम गरिरहेको बताउने उनले संगठन निर्माणसँगै राजनीतिक असहमति भण्डारफोर गर्ने बाहेक चन्दा असुली र अन्य गतिविधि नगरेको दाबी गरे। 

प्रकाशित: १८ फाल्गुन २०७५ १०:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App