८ वैशाख २०८१ शनिबार
खेल

प्रधानसेनापति खुला म्याराथनको उपाधि बस्नेतलाई

काठमाडौं - त्रिभुवन आर्मीका कृष्ण बस्नेतले प्रधानसेनापति चौथो खुला म्याराथन प्रतियोगितामा च्याम्पियन हुँदै उपाधि आफ्नै विभागमा सुरक्षित राखेका छन्।

आर्मीको हेडक्वार्टरमा शनिबार भएको म्याराथनमा कृष्णले २ घण्टा २० मिनेट ५१ सेकेन्डमा निर्धारित दूरी पूरा गरेपछि उपाधि उचाल्न सफल भए। उनले यसअघि आर्मीका धावक पूर्ण तामाङले बनाएको २ घण्टा २२ मिनेट १९ सेकेन्डको कीर्तिमानलाई तोड्दै नयाँ रेकर्ड बनाएका छन्। कृष्णले उपाधिसँगै पल्सर मोटरसाइकल र नेपाल सेन्चुरी कमर्सियल बैंकबाट प्रायोजित १ लाख २५ हजार नगद पनि प्राप्त गरे।

हेडक्वार्टरबाटै सुरु ४२.१९५ किलोमिटर दूरी म्याराथन त्रिपुरेश्वर, माइतीघर, कोटेश्वर, सूर्यविनायक, जगातीबाट पुरानो ठिमी, पेप्सीकोला, जडीबुटी, कोटेश्वर, गौशाला, चावाहिल, महाराजगन्ज, बालुवाटर, नागपोखरी, दरबारमार्ग, भद्रकाली, सहिदगेट हुँदै आर्मी हेडक्वार्टरमै आएर टुंगिएको थियो। आर्मीले शीर्ष तीनमै बाजी मार्न सफल भयो। राजन खत्रीले २ घण्टा २८ मिनेटमा र नवराज साउदले २ घण्टा २९ मिनेट ५९ सेकेन्डमा उक्त दूरी पूरा गर्दै आर्मीलाई शीर्ष तीन स्थान दिलाए।

त्यससँगै राजनले ६५ हजार र नवराजले ३५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे। पुरुष हाफ म्याराथनमा आर्मीले वर्चस्व जमाउँदा कल्याण बानियाँ प्रथम भए। त्रिपुरेश्वर, माइतीघर, कोटेश्वर, गौशाला, चावहिल, महाराजगन्ज, बालुवाटार, नागपोखरी, दरबारमार्ग, भद्रकाली, सहिदगेट हुँदै आर्मी हेडक्वार्टरमै टुंगिएको २१ किलोमिटरको हाफ म्याराथनमा कल्याणले १ घण्टा ६ मिनेट ३१ सेकेन्ड लगाए। 

आर्मीकै गजेन्द्र राईले १ घण्टा ६ मिनेट ३८ सेकेन्ड तथा टीका कटुवालले १ घण्टा ७ मिनेट २३ सेकेन्ड समय खर्चदै क्रमशः दोस्रो र तेस्रो भए। महिला २१ किमिकै हाफ म्याराथनको उपाधि आर्मीकै विश्वरूपा बुढाले जितिन्। बुढाले उक्त दूरी १ घण्टा १७ मिनेट २० सेकेन्टमा पूरा गरिन्। एपिएफकी बिन्द्रा देसार १ घण्टा २६ मिनेट १२ सेकेन्ड समयका साथ दोस्रो भइन्। आर्मीकी चन्द्रा रावल तेस्रो स्थानमा रहँदा १ घण्टा २६ मिनेट ३२ सेकेन्ड समयमा दौड पूरा गरिन्। 

पुरुष तथा महिला हाफ म्याराथनका शीर्ष तीनले क्रमशः ५० हजार, ३५ हजार र २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे। पुरुष ४५ वर्षमाथि भेट्रान २१ किमी हाफ म्याराथनको उपाधि जित्न धर्म महर्जनले १ घण्टा ११ मिनेट १६ सेकेन्ड समय खर्चिए। भेट्रान्समै भीम गुरुङ र भीमसेन आले क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे। यी शीर्ष तीनैले क्रमशः ४० हजार, २५ हजार र १५ हजार रुपैयाँ नगद प्राप्त गरे। छात्रा ५ किमि दौडमा मेगा नेसनल कलेजकी काजल विष्टले सफलता प्राप्त गरिन्। 

बिजेश्वरी स्कुलका कुसल्ला तामाङ र स्वेच्छा बलामीमगर क्रमशः दोस्रो र तेस्रो भए। छात्र ५ किमी दौडमा सैनिक महाविद्यालय भक्तपुरका ईश्वरचन्द्र बस्नेत पहिलो, भूपराज पुरी दोस्रो र विकास तामाङ तेस्रो भए। छात्रा र छात्रको दौडमा शीर्ष तीनैले क्रमशः १० हजार, ७ हजार र ५ हजार रुपैयाँ नगद पुरस्कारबाट पुरस्कृत भए। नेपाली सेनाका अधिकृतको अन्तरिक १० किमी दौडमा महिलातर्फ रजनी अधिकारी पहिलो, संजिता केसी दोस्रो र पवित्रा अधिकारी तेस्रो भए।

पुरुषतर्फ विशालचन्द्र बाजी, मधु थापा र नवराज थापा क्रमशः शीर्ष तीनमा रहे। सोही अवसरमा आर्मीले आफ्ना तीन अन्तर्राष्ट्रिय पूर्वखेलाडीलाई सम्मान ग¥यो। कार्यक्रममा एथ्लेटिक्सका राजेन्द्र भण्डारी, पारा खेलाडी विक्रमबहादुर राना र सुटिङका टीकाराम श्रेष्ठ सम्मानित भए। विजेतालाई प्रधान सेनापति पूर्णचन्द्र थापा, गोल्छा अर्गनाजेसनका शेखर गोल्छालगायतले पुरस्कृत गरे।

प्रकाशित: १८ फाल्गुन २०७५ ०९:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App