८ वैशाख २०८१ शनिबार
अन्य

उपभोक्ताको रोजाइ जोगवनी

प्रदेश १ को अस्थायी राजधानी विराटनगरसँग जोडिएको सीमावर्ती भारतीय बजार जोगवनीमा नेपाली उपभोक्ताको भीड लाग्ने गर्छ। विशेषगरी दैनिक उपभोग्य वस्तु र लत्ताकपडा किन्न नेपाली उपभोक्ताको भीड लाग्ने गर्छ। 

अझ चाडबाडको समयमा किनमेलका लागि जोेगवनी जाने नेपाली उपभोक्ताको संख्या निक्कै धेरै हुन्छ। साँघुरो सडकका कारण अत्यधिक जाम हुने जोगवनी बजारमा नेपाली उपभोक्ताका कारण अस्तव्यस्त नै हुने गर्दछ। ‘जोगवनीमा सस्तोमा सामान पाइन्छ भन्ने मानसिकताले त्यहाँको व्यापारलाई बढावा दिइरहेको विराट व्यापार संघ मोरङका महासचिव सुजन थापाले बताए। उनका अनुसार नेपाली उपभोक्ताको मानसिकता परिवर्तन नभएसम्म जोगवनी धाउने प्रवृत्ति रोकिँदैन।

‘जोगवनीका व्यापारीले उपभोग्य वस्तुमा केही सस्तो मूल्य राखे पनि तौलमा ठग्ने गरेका छन्’ उनले भने, ‘नेपालमा उत्पादन भएर निर्यात गरिएका साबुन, चियाजस्ता सामग्री किन्न पनि जोगवनी नै पुग्ने उपभोक्ताको परिपाटी अचम्मको छ।’  नेपाली उपभोक्ताले केही जोर लुगा, केही खाद्य सामग्री खरिद गर्दा हुने नाफाले जोगवनी जाँदा लागेको खर्च पनि उठाउन हम्मे पर्छ। विराटनगरकै महेन्द्र चोकबाट जोगवनीसम्म सिटी सफारीमा गए भाडा खर्च १ सय रुपैयाँ लाग्छ। 

यसमाथि धेरै सामान लिएर आए भन्सार पनि तिर्नुपर्ने हुन्छ। थोरै सामान मात्रै ल्याए नाफाभन्दा बढी त खर्च नै हुन्छ।  विराटनगरको बजारभन्दा जोगवनीमा खाद्य वस्तुहरूको मूल्य किलोमा १० देखि १५ रुपैयाँसम्म फरक हुने गरेको छ। केही सामान त जोगवनीमा भन्दा नेपाली बजारमै सस्तो हुने गर्छ। यस्तो अवस्थामा सामान किन्न जोगवनी जाँदा उपभोक्तालाई खासै फाइदा देखिँदैन। तर, पनि नेपाली उपभोक्ताको जोगवनी मोह भने घटेको छैन। पछिल्लो केही महिनायता सामान ल्याउँदा थोरै भए पनि भन्सार तिर्नुपर्ने व्यवस्थाले नेपाली उपभोक्तालाई केही मात्रामा निरुत्साहित गरेको छ। तर, पनि सामान सस्तोमा पाइने मानसिकताका कारण घाटा लागे पनि सामान किन्न जोगवनीनै धाउने नेपाली उपभोक्ताको  बानी भने हटेको छैन।  

जोगवनी र विराटनगरमा खाद्य वस्तुहरूको मूल्यमा सामान्य मात्रै फरक छ। यहाँका उपभोक्ता विशेष गरी चिनी किन्ने उद्देश्यले जोगवनी जाने गर्छन्। विराटनगर र जोगवनीको व्यापार चिनीमै निर्भर रहेको छभन्दा पनि फरक पर्दैन। जोगवनीका व्यापारीले चिनीलाई नेपाली उपभोक्ता लोभ्याउने मुख्य शस्त्रका रुपमा प्रयोग गर्दै आएका छन्। जोगवनीका व्यापारी घाटा खाएर पनि नेपाली उपभोक्तालाई चिनीको मूल्य सस्तो बताउँछन्।

‘चिनीमा एक रुपैयाँ घटाएर अन्य सामानमा धेरै मूल्य लिएर नाफा कमाउन त्यहाँका  व्यापारी खप्पिस छन्’ विराटनगरका व्यापारी रमन चौधरी बताउँछन्। ‘चिनीको लोभमा नेपाली उपभोक्ता जोगवनीमा ठगिए पनि उनीहरू आफू ठगिएको पत्तो नै पाउँदैनन्,’ चौधरीले भने।  जोगवनीका व्यापारीले व्यापारमा चिनीलाई अस्त्र बनाएर व्यापार बढाएको पत्तो पाएर विराटनगरमा गत वर्षदेखि सञ्चालनमा आएको भाटभटेनीले पनि चिनीलाई नै शस्त्रका रुपमा प्रयोग गरिरहेको छ।

भाटभटेनीले चिनीलाई प्रयोग गरेर सुरुवातमा निक्कै धेरै व्यापार गर्न पनि सफल भयो। अझै पनि भाटभटेनीमा उपभोक्ताको आकर्षण घटेको छैन। भाटभटेनीले  सौलियत दरमा भन्दै  ५९ रुपैयाँमा नै चिनी बिक्री गरेपछि  मासिक १ करोड बढीको व्यापार गर्न सफल भयो।

भाटभटेनीले अन्य  खाद्य वस्तुमा पनि १० प्रतिशत छुटको अफर राख्यो जसका कारण केही महिना जोगवनीको व्यापार लगभग ठप्प भयो। तर, भाटभटेनीले चिनी बाहेकका खाद्य वस्तुमा दिँदै आएको छुट हटाएपछि जोगवनीको व्यापारले पुनर्जीवन पायो। विराटनगरमा भाटभटेनीलगायतका ठूला व्यापारिक महल, सुविधा सम्पन्न अत्याधुनिक सिनेमा हल सञ्चालनमा आउन थालेपछि विराटनगरले भारतीय ग्राहकलाई पनि आकर्षण गर्न थालेको छ। सस्तो नभई गुणस्तरीय सामान किन्न चाहने भारती ग्राहकहरूलाई विराटगरले पनि आकर्षण गर्न थालेको छ। 

प्रकाशित: १८ फाल्गुन २०७५ ०७:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App