coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

महँगो भान्सा

पोखरा – बजारमा यतिबेला रातो आलुको थोक मूल्य किलोको २० देखि ३० रुपैयाँ छ। पोहोर पनि यो बेला आलुको मूल्य यही थियो। त्यस्तै प्याजको थोक मूल्य पनि पोहोर र अहिले एकैनास अर्थात् किलोको २५ देखि २८ रुपैयाँ छ। 

थोकमा किनेको तरकारी बजारमा खुद्रा मूल्यमा बेच्दा बढीमा २० प्रतिशत मूल्य मात्र बढाउन पाउने सरकारी नियम हो। यो हिसाबले आलुको मूल्य किलोको २४ देखि ३६ रुपैयाँ पर्नुपर्ने हो। तर, यहाँ अहिले आलुको मूल्य किलोलाई ५० रुपैयाँसम्म पर्छ। त्यस्तै प्याजमा पनि खुद्रा व्यवसायीले २० प्रतिशत नाफा लिएर बेच्दा ३० देखि ३४ रुपैयाँ पर्नुपर्ने हो। तर, अहिले ग्राहकले एककिलो प्याज किन्दा कम्तीमा ४० रुपैयाँ तिर्नुपर्छ। 

आलु र प्याजको खुद्रा मूल्य देखाउँदा पोखरामा तरकारीको मूल्य किसान र थोक विक्रेता नभई खुद्रा व्यापारीले तोक्छन्। थोक बजारमा तरकारी किनेर २० प्रतिशत नाफा थपेर बेच्नुपर्ने थोक व्यापारीले सतप्रतिशतसम्म नाफा लिने गरेको आलुको उदाहरणले देखाउँछ। खुद्रा व्यापारीलाई नियन्त्रण गर्ने निकाय कमजोर हुँदा पोखराका उपभोक्ताले सधैँभरि तरकारीको महँगो मूल्य तिर्नुपर्छ। 

पृथ्वीचोकस्थित कृषि उपज बजार सञ्चालक समितिका व्यवस्थापक रुपा दाहाल भन्छिन्, ‘तरकारीमा खुद्रा व्यापारी साह्रै नै हावि भए। खुद्रा व्यापारीका कारण उपभोक्ताले महँगोमा तरकारी किनेका छन्। खुद्रा व्यापारी नियन्त्रण गर्ने निकाय नै भएन।’ उनको अनुभवमा किसानबाट किनेर थोक बजारसम्म ल्याउँदा तरकारीको मूल्य बिचौलियाले बढाएका हुन्छन्। तर, बिचौलियाभन्दा कम नहुने गरी खुद्रा व्यापारीले मनलाग्दो तरिकाले तरकारीको भाउ तोक्ने गरेका छन्। त्यसको असर कम आयस्रोत हुने उपभोक्तालाई पर्ने गरेको उनले सुनाइन्। ‘सरकारले बिचौलिया त नियन्त्रण गर्न सकेको छैन। सतप्रतिशतसम्म नाफा खाने खुद्रा व्यापारी पनि नियन्त्रण गर्न सकेन,’ दाहालले भनिन्।

सिजन र अफसिजन यहाँ सधैँभरि तरकारीको भाउ अन्यत्रको भन्दा महँगो हुन्छ। पोखराका उपभोक्ताले छानेर राम्रो तरकारी किन्ने भएकोले गुणस्तर कायम गर्न खोज्दा अन्यत्र भन्दा महँगो पर्ने गरेको यहाँका व्यावसायीले निहुँ बनाउँछन्। ‘यहाँ कहिल्यै तरकारी सस्तो हुन पाउँदैन। कुनै न कुनै निहुँमा महँगो भइरहन्छ,’ दाहालले भनिन्, ‘बजार अनुगमनको नीति नै छैन। जसले जे गर्दा पनि भई हाल्छ।’ गुणस्तरको नाममा महँगो हुँदा कम आयस्रोत हुनेको भान्सा महँगिएको छ।

हरियो तरकारी मात्र होइन, यहाँ कुखुराको मासु पनि अन्यत्रभन्दा बाहै्रमास महँगो हुन्छ। पोहोर यो बेला पोखरामा कुखुराको मासुको मूल्य प्रतिकिलो ३९० रुपैयाँ थियो। त्यही कुखुराको मासुको मूल्य यतिबेला प्रतिकिलो ४१० रुपैयाँ रहेको छ। मासु व्यवसायी संघ कास्कीका अध्यक्ष भोलानाथ ओझा भन्छन्, ‘हो, पोखरामा अन्यत्रभन्दा सधैँ कुखुराको मासु महँगो हुन्छ।’ पोहोर भन्दा अहिले किलोमा २० रुपैयाँ मूल्यवृद्धि भएको उनले बताए। ‘सिजन एकै भए पनि ढुवानी खर्च पनि बढेको छ। दानाको मूल्य पनि थपियो, त्यसैले मूल्यवृद्धि भयो,’ ओझाले भने।

ओझा भन्छन्, ‘यहाँ बोसो, पुच्छर, घाँटी फ्याकेर शुद्ध मासु उपभोक्तालाई दिइन्छ। अन्यत्र घाँटी, पुच्छर र बोसो फ्याक्ने चलन छैन। उपभोक्ताले नचाहेमा तौलेर मात्र निकालिन्छ। तर, पोखरामा पहिला घाँटी, पुच्छर, बोसो निकालेर तौलेर मासु दिने गरिएको छ।’ ढुवानीमा मात्र नभई गुणस्तर कायम गर्न खोज्दा केही महँगो पर्न गएको उनले बताए। 

तरकारी र मासु मात्र नभई दैनिक उपभोग्य वस्तुको मूल्य यहाँ वर्षको अन्तरमा निकै नै फरक छ। सबैभन्दा कम (तलको सुँची) चिनीमा पोहोरको तुलनामा यो पटक किलोमा १ रुपैयाँ मात्र बढी देखिन्छ। नत्र कुनै पनि वस्तुको मूल्य नबढेको छैन। भान्सामा पाक्ने जिरा मसिनो चामलमा पोहोरभन्दा ५ रुपैयाँ अहिले बढेको छ। त्यस्तै बासमती चामलमा पनि किलोमा १५ रुपैयाँ बढेको छ। रहर दालमा किलोमा पोहोरभन्दा १५ रुपैयाँ, मुग दालमा १०, मसुरो दालमा ५ रुपैयाँ बढेको छ। चामल र दाल मात्र नभई खानेतेलको मूल्य पनि निकै नै अकाशिएको छ। सबैभन्दा बढी तोरीको तेल पोहोर यो बेला लिटरको १८५ रुपैयाँ थियो। तर, अहिले २५ रुपैयाँ बढेर २१० रुपैयाँ पुगेको छ। त्यस्तै सूर्यमुखी तेलको मूल्यमा पनि लिटरमा २० रुपैयाँ बढेको छ। भटमास तेलमा पनि पोहोरभन्दा अहिले १५ रुपैयाँ बढेको छ। मैदामा किलोमा ५ रुपैयाँ बढेको छ। 

‘पोहोरभन्दा कुनै पनि वस्तुमा मूल्य नबढेको छैन,’ चिप्लेढुंगाको मुनाल स्टोर्सका संचालक मोति भूजेल भन्छन्, ‘बाहिर जे जस्तो रिपोर्ट देखिए पनि मूल्यवृद्धि अचाक्ली छ। यसले उपभोक्तालाई घर धान्न मुस्किल छ।’ कम आयस्रोत हुने उपभोक्ता मूल्यवृद्धिले बढी मारमा परेको उनले बताए। ढुवानी खर्च पनि बढेकोले मूल्य थपिएको उनको भनाइ छ। ‘राष्ट्रबैंकले कम मूल्यवृद्धि देखाउँछ। तर, वास्तविक मुल्यवृद्धिको आकार निकै नै बढी छ,’ भुजेल भन्छन्, ‘राष्ट्रबैंकको आकार हेर्दा हामीलाई नै अचम्मित पार्छ।’ उनले आन्तरिक उत्पादन नबढेसम्म मूल्यवृद्धि नरोकिने बताए। 

पृथ्वीनारायण क्याम्पसका प्राध्यापक लेखनाथ भट्टराई पेट्रोलियम पदार्थले पनि मूल्य थपिएको बताउँछन्। त्यसबाहेक बिचौलिया हावी भएको उनले बताए। सरकार आफँैले तोकेको मूल्य लागू गर्न नसक्दा यो अवस्था आउने गरेको भट्टराईको भनाइ छ। ‘सरकारले तोकेको मूल्य अब कतै लागू हुन सकेको छैन,’ उनी भन्छन्, ‘नियमनकारी निकाय पनि सक्रिय छैन।’ व्यापारीले कति नाफा लिएको छ भनेर हामीकहाँ हस्तक्षेपको अधिकार स्थानीय प्रशासनलाई दिए पनि प्रशासनको सक्रिया निकै कमजोर रहेको उनले बताए। 

‘तरकारीमा बढी बिचौलिया हावी छन्। किसानको उत्पादन सिधा बजारमा पुग्ने हो भने केही सस्तो पर्छ,’ उनले भने, ‘तर, बिचौलियाको ४÷५ खण्ड पार गर्दा निकै नै मूल्य बढेर उपभोक्तासम्म पुग्छ।’ त्यसबाहेक केही ठूला व्यापारीले बजारभाउ कब्जा गर्दा पनि उपभोग्य वस्तुको मूल्य अकाशिएको उनी बताउँछन्। ठूला व्यापारीको बजार भाउलाई हस्तक्षेप गर्ने शक्ति सरकारसँग पनि नरहेको उनले बताए।

कुखुराको मूल्य उस्तै
नारायणगढको पुतली बजारमा रहेको गोरखनाथ किराना पसलकी सञ्चालक लक्ष्मी पनेरु गएको वर्षको तुलनामा खाद्यान्न सामग्रीको मूल्यमा खासै अन्तर नआएको बताउँछिन्। तीन वर्षअघि नाकाबन्दीको समयमा खाद्यान्नको मूल्य अधिक रहेको उनले बताइन्। ‘बेला बखतमा खाद्यान्नको मूल्य केही घटबढ भइरहेको हुन्छ’ उनले भनिन्, ‘उपभोक्ताले किन्नै नसक्ने गरी मूल्य बढेको भने छैन।’ गएको वर्षको भन्दा यस वर्ष चिनीको मूल्य भनेको बढेको उनले बताइन्। प्रतिकिलोमा पाँच रुपैयाँसम्म बढेको छ। 

गेडागुडी तथा दालको मूल्यमा पनि थोरै वृद्धि भएको पशुपति किराना पसलका सञ्चालक जितेन्द्रकुमार गुप्ता बताउँछन्। कुखुराको मासुको मूल्य भने गएको वर्षको जस्तै रहेको छ। अहिले ३२० रुपैयाँ किलोमा कारोबार भैराखेको छ। गएको वर्षको मध्यतिर ३५० रुपैयाँसम्म पुगेको मासुको मूल्य केही महिना अघि दुई सय ८० रुपैयाँमा झरेको थियो। अण्डा भने उपभोक्ताले १२–१३ रुपैयाँमा खरिद गर्नुपरेको छ। 

प्रकाशित: १८ फाल्गुन २०७५ ०७:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App