८ वैशाख २०८१ शनिबार
राजनीति

झन् विग्रियो पूर्व उपप्रधानमन्त्री अधिकारीकाे स्वास्थ्य

काठमाडौं – पूर्व उपप्रधानमन्त्री भरत मोहन अधिकारीको स्वास्थ्य अवस्था झनै विग्रिएको छ। उनको १६ दिनदेखि भेन्टिलेटरमा राखेर उपचार हुँदै आएको छ। नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार सााँझ ३ बजे जेठी छोरी लुना भारतवाट आउँदैछन्। उनी भारतवाट आएपछि परिवारले के गर्ने भन्ने विषयमा निर्णय हुनेछ।

२०५१ सालमा जेष्ठ नागरिक भत्ता कार्यक्रम ल्याएर आमजनता माझ लोकप्रिय बनेका पूर्व उपप्रधानमन्त्री अधिकारीको २४ दिनदेखि धुम्बाराहीस्थित ह्याम्प अस्पतालमा उपचार भइरहेको छ। दुई पटक उपप्रधानसहित चार पटक अर्थमन्त्री बनेका अधिकारीले वि.सं २०६१ र २०६८ मा उपप्रधानमन्त्री तथा अर्थमन्त्रीको कार्यभार सम्हालेका थिए्। उनले २०५६ सालमा पनि अर्थमन्त्रीको कार्यभार सम्हालेका थिए। नेपाल कम्युनिष्ट पार्टीको पहिलो निर्वाचित सरकारको अर्थमन्त्री बनेका अधिकारीले पहिलो पटक अर्थमन्त्री बनेका बेलामा नै ‘आफ्नो गाउँ आफै बनाउ’ जस्ता जनता केन्द्रीत कार्यक्रम ल्याएका थिए। अधिकारीले उपप्रधानमन्त्री तथा अर्थमन्त्री भएका बेला वृद्ध/वृद्धालाई सम्मान स्वरुप भत्ताको व्यवस्था गरेका थिए। अधिकारीले सुरू गरेको सामाजिक सुरक्षाभत्ता कार्यक्रमले ७५ वर्ष पुगेका वृद्ध÷वृद्धालाई एक सय रुपैयाँ भत्ता दिने व्यवस्था गरेको थियो।

स्थानीय सडक, स्वच्छ पिउने पानी, सुलभ स्वाथ्य, सीपमूलक तालिम र रोजगारी, शिक्षा र साक्षरता, सामुदायिक वृक्षारोपण, साना जलविद्युत् विकासबाट ग्रामीण विकास, साना तथा घरेलु विकासका कार्यक्रम 'नौ स' अन्तर्गत समेटिएका थिए।

पहिलो पटक २०६१ सालमा उपप्रधानमन्त्री सहित अर्थमन्त्री बनेका बेला उनले सुत्केरी भत्ताको समेत व्यवस्था गरे। महिला सशक्तिकरणको विषय पनि उनकै पालामा मूर्त लिएको थियो। उनले नै महिला र पुरुषको नाममा या महिलाको नाममा मात्रै जग्गा दर्ता गर्दा लाग्ने शुल्कमा छुटको व्यवस्था गरेका थिए। गाउँगाउँमा सहकारी घरघरमा रोजगारी भन्ने अभियान उनकै पालामा संचालन भएको हो। त्यसबेला अर्थतन्त्रका तीन खम्बामध्ये एक खम्बाको रुपमा सहकारीलाई लिइएको थियो। जुन कार्यक्रमलाई अहिलेसम्म पनि त्यतिकै महत्वका साथ हेरिएर प्राथमिकतामा राखिएको छ।

अधिकारीले अघि सारेको अर्को महत्वपूर्ण कार्यक्रम थियो ‘नौ स’ हो। यो कार्यक्रमबाटै देशमा लोककल्याणकारीदेखि पूर्वाधार निर्माणका कार्य अघि बढको पूर्व संविधानसभा सदस्य रत्न गुरुङले बताइन्। ‘उहाँ जनवादी नेता हुनुहुन्छ ’, उनले भनिन् ‘उहाँले नै सामाजिक सुरक्षा र विकास निर्माणको पहिलो खाका कोर्नु भएको हो।’  लोककल्याणकारी राज्य र समृद्ध नेपाल निर्माणमा उहाँको ध्यान केन्द्रीत थियो।उनका अनुसार स्थानीय सडक, स्वच्छ पिउने पानी, सुलभ स्वाथ्य, सीपमूलक तालिम र रोजगारी, शिक्षा र साक्षरता, सामुदायिक वृक्षारोपण, साना जलविद्युत् विकासबाट ग्रामीण विकास, साना तथा घरेलु विकासका कार्यक्रम 'नौ स' अन्तर्गत समेटिएका थिए।

देशैभरि कृषिको विकास गर्ने, आमजनताको आत्मबल बढाउनुका साथै विकास निर्माणका काम पनि सँगै लैजान ‘नौ स’ ल्याइएको पूर्वसभासद् गुरुङले बताइन्। ‘त्यतिबेला साना नानीहरुलाई स्कूल पठाउन राज्यले लगानी गर्ने, जेष्ठ नागरिकलाई भत्ता दिएर सम्मान गर्ने लोककल्याणकारी राज्य स्थापनाको पहिलो प्रयास थियो’,उनले भनिन्,‘लोककल्याणकारी राज्यमा हरेक नागरिकलाई लोकतन्त्रको अनुभूति हुनुपर्छ भन्ने सरकारको मूल अभिप्राय थियो।  पहिलो पटक अर्थमन्त्री हुँदा २०५२/५३ सालको बजेट ल्याएका अधिकारीले स्वच्छ खानेपानी, शिक्षा र साक्षरता तथा स्वास्थ्य क्षेत्रका कार्यक्रमका लागि प्रत्येक निर्वाचन क्षेत्रमा न्युनतम २० लाख बराबरका आयोजनाहरू कार्यान्वयन गर्ने लक्ष्य राखेका थिए।

सडक तथा साना सिंचाइ स्थानीय विकासका मुख्य आधारहरू भएकाले प्रत्येक निर्वाचन क्षेत्रमा प्रत्येक कार्यक्रमका लागि कम्तीमा  १५ लाख बराबरका कार्यक्रम पनि उनकै पालामा आएको थियो। त्यतिबेला नै नेपालका पखा पखेरामा डोजर पुगेका थिए। विकासको पहिलो पूर्वाधारको रुपमा मानिने सडक बाटो विस्तारमा उनको महत्वपूर्ण योगदान रहेको छ। उनले नै देशमा भएका राजमार्गको नामाकरण राजनेताका नामबाट राखिनु पर्ने अवधारणाको विकास गरेका हुन्। अहिले दर्जनौ राजमार्ग विशिष्ट नेताहरुको नाममा नामाकरण भएको छ।

कालीगण्डकी जलविद्युत परियोजना पनि भरतमोहन अधिकारीकै पालामा सुरु भएको हो। कम्युनिस्ट सरकारले लोककल्याणकारी राज्यको अनुभूति आमजनतालाई दिलाउनु पर्ने उनको धारणा थियो। शिक्षा र स्वास्थ्यमा राज्यको लगानी सोचका साथ सहिद गंगालाल अस्पताल स्थापना र काठमाडौं विश्वविद्यालयलाई जग्गा दिने काम समेत भएको थियो। जमिन ओगटेर बस्ने प्रवृत्तिलाई कम्युनिस्ट सरकारले संरक्षण गर्न जग्गाको हदबन्दीको कुरा पनि उठेको थियो। तर, त्यो नीति भने कार्यान्वयनमा आउन सकेन। जमिन जोत्नको हुनुपर्छ भनेर उनकै पालामा केशब बडाल आयोग नै गठन भएको थियो।  उनकै पालामा मुक्त कमैया र सुकुम्बासीलाई जग्गा वितरणको कार्य भएको थियो। त्यसबेला ६० हजार सुकुम्बासीलाई जग्गाधनी पुर्जा दिइएको थियो।  

भरतमोहन अधिकारीका तीन छोरी  र श्रीमति छन्। जेठी छोरी लुना अधिकारी सिक्किममा बस्छिन् भने माहिली छोरी लिमा नेपालमै छिन्। कान्छी छोरी लिजा दुबईबाट शुक्रबार काठमाडौ आइपुगेकी छिन् भने जेठी छोरी शनिबार काठमाडौं आइ पुग्दैछिन्।

प्रकाशित: १८ फाल्गुन २०७५ ०७:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App