८ वैशाख २०८१ शनिबार
अन्य

सीमा वारपारमा मूल्यमा भारी अन्तर

वीरगञ्ज सहरसँगै जोडिएको नेपाल–भारतबीचको दशगजा पारि विहार प्रान्तको सीमावर्ती सहर रक्सौल छ। पारि गुड्ने भारतीय रेलको आवाज वीरगञ्जमा मज्जाले सुनिन्छ। दुवैतिर बसोबास गर्ने मानिसहरुको संस्कृति र खानाको शैली उस्तैउस्तै छ। सीमापारिका मानिसको थालमा पस्किने खाना र वारिका मानिसको थालमा पस्किने खानाको लागत (मूल्य) मा भने भारी अन्तर छ। उनीहरुले सस्तोमा उपभोग गर्ने खाना नेपालीले महँगोमा पाउँछन्। 

वीरगञ्जमा बस्ने कतिपय परिवारले भने महँगीबाट जोगिन भान्छामा लाग्ने दैनिक उपभोग्य सामानको किनमेल गर्न सीमापारि रक्सोल पुगिरहेका हुन्छन्। ‘चामल यहीँबाट लिन्छुँ। दाल, खाने तेल, मसला, चिनीजस्ता केही सामान लिन मौका पाएको बेला रक्सोल जान्छु,’ पेसाले शिक्षक रहेका राजेश तिवारीले भने, ‘महँगीले ढाड सेकिरहेको छ, पारिबाट केही सामान ल्याउन पाउदा अलिक राहत लाग्छ। तर यो सबैका लागि र सधैँका लागि सम्भव छैन।’

पर्साको पोखरिया नगरपालिका वडा नम्बर ९ बैरियाबिर्ताका अनिलकुमार वीरगञ्जको सट्टा रक्सोलमा डेरा लिएर बसेका छन्। ‘आम्दानीभन्दा खर्च धेरै, यता बाँच्न गाह्रो भइरहेको थियो, डेरा सारेँ, छोराछोरी उतै पढ्छन्, म दैनिक रुपमा वीरगञ्जमा ओहोरदोहोर गर्छु, काम परेको बेला घर पनि जान्छु,’ उनले भने, ‘जे होस् जीवन धानिएको छ।’ जुन आम्दानीमा नेपालतिर घरपरिवार धान्न मुस्किल थियो, त्यसबाट सीमापारि गुजारा हुन पाएको उनी बताउँछन्। नेपालसँग मोह भएको कारण सीमापारि बस्दा पनि नेपालका एफएम रेडियोको समाचार सुन्न उनी छुटाउँदैनन्। वारि स्वदेशमा बस्न भने महँगीले छेकेको छ। 

सरकारले खाद्यान्नको उत्पादन तथा प्रशोधन लागत घटाउन सके मात्र खानामा सीमा वारपार रहेको अन्तरलाई हटाउन सक्ने ‘नेपाल चामल तेल दाल उद्योग संघ’ का अध्यक्ष सुबोध गुप्ता बताउँछन्। ‘तेल निकाल्ने तेलहन र दाल बन्ने दलहनको गेडा हामीसँग अपुग छ। अपुग रहेकोले त्यसको उत्पादकत्व वृद्धि गराउने कुरा यहाँ महŒवपूर्ण हुन आउँछ,’ गुप्ताले भने, ‘चामलमा पनि यही कुरा छ। यस्ता खाद्यान्नका कच्चा पदार्थमा भन्सार महसुल सून्य हुनुपर्छ। यसको तयारी वस्तुमा मात्र कृषि सुधार शुल्क लगाएका स्वदेशी उद्योगमा तयार दाल, चामल र तेलको मूल्य आम उपभोक्तालाई सस्तो पर्छ।’ 

त्यस्तै हामीकहाँ उखु खेती राम्रो हुन्छ, चिनीको घरेलु बजार राम्रो तर चिनीको उत्पादन स्वदेशमा अपुग छ। यस कारणले आयातित चिनी महँगो मूल्यमा खान उपभोक्ता बाध्य रहेको चिनी उत्पादनका लागि अध्ययन गरेका विज्ञ शम्भु चौरसिया बताउँछन्। ‘त्यस्तै भारतको देहरादुनमा हुने दुनियाँभरमा प्रसिद्ध रहेको बासमती चामल उस्तै हावापानी तथा समान उचाइको भुगोल भएको हाम्रो सुदूरपश्चिमका जिल्लामा उत्पादन गर्न सक्ने प्रचुर सम्भावना छ,’ गुप्ताले भने, ‘अलिकति पहल गर्ने हो भने सुदूरपश्चिममा बासमती उत्पादन गरेर निर्यात गर्न सक्ने सम्भावना पर्याप्त छ। हाम्रो मसुर दाल आफैँमा मसहुर छ, बंगलादेशमा त उच्च माग नै छ। तेल उत्पादन तराई मधेसमा धेरैको पुस्तौनी पेशा नै हो।’ 

गर्मी ठाउँमा हुने र चिसो हावापानीमा हुने दुवै खाले मसला उत्पादनको समेत यहाँ विविधतापूर्ण भुगोल रहे पनि नेपालले उपभोग गर्ने मसला करिब ८० प्रतिशत आयात भएर आउँछ। यसरी नेपाली भान्छामा पस्किने थाली नजिकैको सीमापारिको बजारभन्दा महँगो पर्न गएको देखिन्छ। आवश्यक योजना, समुचित व्यवस्थापन र चाहिएजस्तो नीति नियम नभएर नेपाली उपभोक्ता महँगोमा पर्न बाध्य भएको गुप्ताको भनाइ छ। 

‘हामीकहाँ आउने ग्राहकमध्ये अधिकांश नेपाली हुन्छन्,’ रक्सोलमा डिपार्टमेन्टल स्टोर सञ्चालन गर्ने महेशकुमार अग्रवालले भने, ‘मुख्य कारण हो मूल्यमा अन्तर, अर्को कारण हो यहाँ धेरै थरीका सामानहरु उपलब्ध हुनु।’ नेपाली आयातकर्ताले सुपारी, मरिच, केराउ नेपालको घरेलु आवश्यकताभन्दा बढी आयात गरेर भारततिर चोरी निकासी गर्ने प्रवृत्ति पछिल्लो समयमा देखिएको छ। यसै प्रकारले निकासी गर्ने उद्देश्यले तेस्रो मुलुकबाट आयात भएको रहर र मासको दाल निकासी हुन नसक्दा घरेलु बजारमा यसको मूल्य भारतीय बजारको भन्दा कम देखिन्छ। अरु सबै थोक भने सामान्य रूपमा नै भारतीय बजारको तुलनामा नेपालतिर महँगो छ। 

प्रकाशित: १८ फाल्गुन २०७५ ०७:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App