८ वैशाख २०८१ शनिबार
अन्य

काठमाडौंभन्दा पोखरा फेसनेबल

विगत ८ वर्षदेखि फेसन इन्डस्ट्रिमा संलग्न रहेकी रेनु श्रेष्ठ रिफेसन डिजाइनर हुन्। पुराना कपडालाई नयाँ डिजाइन दिएर  नेपालमै रिफेसन गर्ने पहिलो नेपाली डिजाइनर पनि हुन् । उनी युट्युबरसमेत हुन्। उनै श्रेष्ठसँग ‘नागरिक परिवार’का लागि  प्रजु पन्तकृष्पा श्रेष्ठले गरेको फेसन संवाद। 

फेसन डिजाइनर बन्छु भन्ने सोचाइ कसरी आयो ?
मलाई सानैदेखि नयाँ–नयाँ ड्रेसहरु लगाउन मन लाग्ने। खासै फेसनको आइडिया नभए पनि ट्रेन्डहरु फलो गर्थेँ। एसएलसी सकेपछि म ए लेभलमा भर्ना भएँ। यो पढाइ सकेपछि विदेश गएर पढ्ने भन्ने थियो। मलाई भने यहीँ केही गरौँ भन्ने सोचाइ आइरहने। पोखरामा फेसनसम्बन्धी पढाइ हुने एउटा मात्रै कलेज थियो। त्यहीँ भर्ना भएँ र पढ्न थालेँ। 

बाहिर जाने सोचाइका साथ ए लेभल पढेको मान्छे फेसनमा लाग्दा परिवारले केही भनेन ?
किन नभन्नु ? सुरुमा त मैले बुझाउनै कम त सकस परेन। हामी नेवार फेरि धेरै नै स्टिक परिवार। फेसन सोहरु राति हुने गयो भने गाली गर्ने तर मैले सम्झाइबुझाइ गरें। उहाँहरु मान्नुभयो। अहिले त मज्जाले सहयोग गर्नुहुन्छ।  

फेसनको कुन पाटो तपाईंंलाई मन पर्याे?
तेन्जिङ भुटियाले बनाउने डिजाइन मलाई एकदमै मन पर्ने। उहाँले  लेडिजहरुका लागि बोल्ड डिजाइन बनाउनु हुन्छ त्यही भएर नि मन परेको हो। उहाँले गर्ने कलरहरुको कम्बिनेसन पनि राम्रो छ त्यसकारण म उहाँबाट  प्रभावित छु। मलाई फेसनको मन पर्ने पाटो भनेकोे आफ्नो सोचाइलाई क्यारी गर्न सकिने भएर नि हो। 

डिप्लोमा कोर्स फेसनसम्बन्धी गरेँ भन्नुभयो, पढाइले काममा कत्तिको सहयोग गरेको छ ?
एकदमै सहज भएको छ। पढाइ र काम मिलेर पनि होला मलाई काम गर्न र कुराकानी गर्न सहज भएको छ। मेरो कोर रिफेसन हो। मैले कलेजमा पढ्दै गर्दा पनि रिफेसन गरेको हुन्थें। यसलाई कसैले नि राम्रो मान्दैनथे। पुरानो कपडाको नयाँ केही बनायो भने पैसा नभएर बनाएकी भन्थे साथीहरु तर मलाई पुरानो कपडालाई नयाँ डिजाइन दिन मन पर्ने अनि गर्थेँ। तर यसैमा करिअर बन्छ भन्ने भने लाग्दैनथ्यो। 

यसमा करियर बन्छ भन्ने कहिलेबाट लाग्यो ?
जब मैले रिफेसनसम्बन्धी बाहिरका डिजाइनरबारे पढ्न थालेँ त्यसपछि हाम्रोमा यो सम्भव छ भन्ने लाग्यो। मलाई अरुभन्दा फरक गरौँ भन्ने लागेर नै मैले रिफेसनबारे संसारमा भएका काम नबुझ्दै सुरु गरेकी हुँ। त्यसमाथि बाहिर भएका काम र प्रगति थाहा पाउँदा हाम्रोमा सम्भव देखेँ। हाम्रो नेपाली समाजमा परिवारको सदस्यको इमोसनल अट्याचमेन्ट जोडिएको हुन्छ। त्यो कपडालाई हामीले डिजाइन दिएर लगाउन सक्छौँ। अनि मैले गरेको यो कामलाई पोखरामा सबैले राम्रो मान्नुभयो। त्यसपछि आँट आयो मैले यो क्षेत्रमा काम गर्न सक्छु भन्ने। 

पोखरामा बसेर काम गर्नुभएको तपाईं स्पेश बढाउन काठमाडौं आउनुभएको हो ?
पोखरा सानो सहर थोरै मान्छे। नयाँ कन्सेप्ट थियो यो। यसलाई एक्स्पो गर्न पनि मलाई काठमाडौंको आवश्यकता प¥यो। जब काठमाडौँ आएँ मेरो सोचाइले बृहत् रुप लिएको छ। धेरैले यो कन्सेप्टलाई मन पराउनुभएको छ। मैले काम पनि सुरु गरिसकेकी छु। यहाँको प्रतिस्पर्धा देखेर एकदमै डर लाग्थ्यो। जसै यहाँ आएँ म भिज्न सकेँ।  

काठमाडौं र पोखरा कुन सहर बढी फेसनेबल लाग्यो ?
पोखरा सानो सहर भए पनि एकदमै धेरै फेसनेबल भएको लाग्छ मलाई। किनभने पोखरामा धेरै लाहुरेहरु बस्ने सहर आयको हिसाबले पनि होला त्यहाँको मान्छेको फेसन कन्सियस एकदमै राम्रो छ। काठमाडौँमा भने मिक्स छ। यहाँ सेलीब्रटी र अरु कारणले पनि यहाँ फेसनेबल नै छ। 

काम पनि त्यही, पढाइ पनि त्यही तपाईंको परिभाषामा फेसन भनेको के हो ?
फेसनलाई यही हो भनेर म भन्न सक्दिनँ। मान्छेअनुसार यसको परिभाषा फरक हुन्छ। मलाई के लाग्छ भने फेसन र स्टाइल सँगसँगै आउँछ। स्टाइल आफ्नो हुनसक्छ। फेसन जे चलेको छ त्यो हुन सक्छ। 

यो त भयोे विश्वव्यापी धारणा तपाईंकोको आफ्नै विचारमा फेसन के हो ?
मेरो विचारमा फेसन भनेको लुक्स हो । लुगाको मात्रै फेसन हुँदैन।  हेयर स्टाइल, जुत्ता कपडाको कलरको कम्बिनेसन पनि हुन्छ। मेरो अर्थमा फेसन भनेको ओभरल लुक्स नै हो। 

अरु भन्दा एक्स्ट्रा गरेको छु भन्नुभयो बुटिक नगर्नुको कारण ?
मलाई एकदमै एक्स्पो गर्न मन थियो। बुझेर र नबुझी खोल्नु एकदमै धेरै फरक हुन्छ। मेरा साथीहरुले पढाइ नसक्दै बुटिक खोल्नुभएको थियो तर मैले झ्याप्पै हात हालिनँ किनभने मलाई एकदमै रिफेसन गर्न मन थियो। यसैलाई  ब्रान्डको हिसाबले खोेल्ने मेरो योजना हो।

क्याजुअल्ली डिजाइनरहरु बजारमा कम छन् भनिन्छ, तर माग उच्च छ मूल्य निर्धारण कसरी गर्नुहुन्छ ?
तपाईंले एकदमै राम्रो कुरा सोध्नुभयो । डिजाइनर भनेपछि यो अलि महँगो हुन्छ भन्ने मान्यता छ। पहिलो कुरा त चिनियाँ सामान यति सस्तो छ कि हामीलाई मूल्य निर्धारण गर्न एकदमै गाह्रो छ। लागेको खर्च कटाएर केही मूल्य मात्रै राख्दा पनि महँगो पर्न जान्छ। यदि हामीले मास प्रोडक्सन गर्न सक्यौँ भने सस्तो गर्न सक्छौँ। त्यसका लागि त काम गर्न बाँकी नै छ। 

भनेपछि काम गर्न गाह्रो छ है ? 
हामीले बजार पाउन गाह्रो छ। मैले अहिले मेटाफोर कम्पनीसँग सम्झौता गरेको छु। अब भने सहज हुन्छ होला। कामको सिलसिलामा चुनौती त आइहाल्छन्। यसलाई फेस गर्दै जाने हो। हाम्रोमा मार्केटिङ गर्न गाह्रो छैन। गाह्रो भनेकै स्रोतको हो।  

फेसन उद्योगमा जम्न सकिन्छ जस्तो लाग्छ त  ?
सकिन्छ। कच्चापदार्थको कमी भए पनि भएको कच्चा पदार्थलाई व्यवस्थित गर्न सक्ने हो भने यही उद्योगमा जम्न गाह्रो छैन। मैले पढेर अध्ययन अनुसन्धान गरेर आएको छु। परिवारको साथ छ, क्लाइन्टले मन पराउनुभएको छ, यति भएपछि त नजम्ने कुरै छैन नि। 

काम गर्दा आउने चुनौती सामना गर्नका निम्ति उच्च आत्मविश्वासको आवश्यकता पर्छ परिवारको साथको पनि उत्तिकै भूमिका रहन्छ तपाईंको कस्तो छ ?
अनुभवले आत्मविश्वास दिने रहेछ। प्रश्न आउँदा ज्ञान छ। हरेक दिन हाम्रा लागि नयाँ हुन्छ। परिवारको पनि साथ छ।

तपाईंको नियमित ग्राहकहरु कस्तो हुनुहुन्छ ?
मेरा ग्राहकहरु २५  वर्षभित्रको हुनुहुन्छ। अनि म्यारिज बुमनहरु पनि हुनुहुन्छ। उहाँहरुसँग धेरै पुराना कपडाहरु हुन्छ नि त त्यही भएर संख्याकै हिसाबमा म्यारिज बुमन धेरै हुनुहोला। 

तपाईंलाई मेल फिमेल को बढी फेसनेबल लाग्छ ?
हाँस्दै ... फिमेल नै हो फेसनेबल त। मेलको तुलनामा फिमेलको धेरै अप्सन छ । फिमेलहरु बढी क्याटागोराइज गर्नुहुन्छ भने मेलहरु ब्रान्ड कन्सियस हुनुहुन्छ।  

पुरुष डिजाइनरले महिलाको कपडाको डिजाइन गरिरहनुभएको हुन्छ महिलाले पुरुषको डिजाइन अलि कम छ है ?
हो। मैले पनि धेरै पुरुषको गरेकी छैन। हाम्रोमा मात्र हैन वल्र्डवाइड नै त्यस्तो छ। 

सेलीब्रेटी कसका लागि डिजाइन गर्नुभएको छ ?
त्यस्तो खासै छैन। रेश्मा घिमिरेको गरेकी थिएँ।  

फेसन सोमा कत्तिको भाग लिनुहुन्छ ?
धेरै नै पाटीसिपेट भएकी हुन्छु। अस्ति डिसेम्बरमा पनि सोमा सहभागी भएकी थिएँ। मैले त्यसमा आफ्टरविफोर गरेकी थिएँ। कस्तो कपडालाई कस्तो बनाएको भनेर कतिपय मान्छेलाई त पत्याउनै मुस्किल पर्याे। त्यसपछि झन् बढी माग आइरहेको छ। यो फेसन सोमा मैले पुरुषको पुरानो सर्टलाई महिलाको ड्रेस बनाएको थिएँ। 

मोडलहरुले डिजाइनरले बनाएको डिजाइन लगाउन अप्ठ्यारो मानेको अवस्था छ तपाईंकोमा के छ ?
मेरोमा त्यस्तो त छैन। मलाई के लाग्छ भने हरेक क्लाइन्टसँग डिजाइनको ज्ञान हुन्छ। उहाँहरुको इन्ट्रेस्टलाई हामीले मूर्त रुप दिने हो। हामीले बनाएको ड्रेस क्लाइन्टले नै लगाउन सहज मान्नुभएन भने त्यो डिजाइन राम्रो भएन भनेर बुझ्नुपर्ने हुन्छ। हामीले पढ्दा नै क्लाइन्ट मेक डिजाइन भनेर पढेका हुन्छौँ र त्यसकारण पनि मेरोमा समस्या आइपरेको छैन। बरु फिडब्याक भने लिएको हुन्छु। 

काम गर्दै जाँदा सधैँ वाहवाही हुन्छ भन्ने हुँदैन आलोचना कत्तिको सुन्नुभएको छ अनि त्यसलाई कसरी लिनुहुन्छ ?
हुन त मैले त्यति धेरै आलोचना सुनेकी छैन। आएका आलोचनालाई मैले सहजताको साथ लिएकी छु किनभने हामीमा कुनै काम गर्दा त्यसमा आउने राम्रा तथा नराम्रा कमेन्टहरु ग्रहण गर्ने क्षमता पनि हुनुपर्छ। राम्रोलाई उत्साहको रुपमा लिन्छु भने आलोचनालाई मैले सिक्न अझै बाँकी छ भनेर लिने गरेकी छु। 

कल्पना गर्नुस १० वर्षपछिको नेपालको फेसन इन्डस्ट्रि कतातर्फ जान्छ भन्ने लाग्छ ?
यही रफ्तार हो भने १० वर्षपछि हामी हामै्र ब्राण्डको पछाडि दौडिरहेका हुन्छौँ। 

तपाईंको योजना के–के छ ?
मेरो योजना भनेको आफ्नै ब्रान्ड बनाउने हो। विश्व्यापी रुपमा यसलाई एक्स्पो गर्ने मेरो उद्देश्य हो। यो कुरा सम्भव पनि छ किनभने हाम्रो देश कच्चा पदार्थ धेरै भएको देश हो। जे गर्दा पनि अवसरै अवसर छ। 

अब तपाईंको पर्सनल कुरा गरौँ, तपाईं आफूलाई कस्तो देखिन मन पर्छ ?
मलाई अलि बोल्ड देखिन मन पर्छ। स्कटभन्दा जिन्स पेन्टहरु नै बढी लगाएकी हुन्छु। मलाई क्लासिक बोल्ड हुन मन पर्छ।

हाम्रो जस्तो कम आय भएको मुलुकमा फेसनेबल हुन सकिन्छ ?
जत्ति पनि सकिन्छ। हाम्रो बजार चाइनिज सामानले खाइसकेको छ। धेरै कम मूल्यमा राम्रो–राम्रो सामान पाउन सकिन्छ।

तपाईं आफू कता सपिङ गर्नुहुन्छ ?
म प्रायः बजार गइरहेकी हुन्छु। यही ठाउँ भन्ने छैन। सेलमा राखेकोमा पनि गएकी हुन्छु। सेलमा जानुको कारण नयाँ–नयाँ डिजाइन हेर्न पनि हो। जसले गर्दा मलाई काममा पनि सहयोग गरोस् भन्ने हो।

नेपालका कलाकारहरुमा को बढी फेसनेबल लाग्छ ?
प्रियंका कार्की। उहाँको कामप्रतिको लगाव अनि उहाँको ड्रेसअपले मलाई आकर्षण गर्छ। 

प्रकाशित: १८ फाल्गुन २०७५ ०७:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App