coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

जीवन, डर र मृत्यु

डा. कपिल देव उपाध्याय, मनोचिकित्सक

४० वर्षका एकजना बुद्धिजीवी पुरुषको ज्यादै मिल्ने साथीको अल्पायुमै हृदयाघात (हर्ट अट्याक) भएर मृत्यु हुनपुग्यो। ती साथीको उमेर मुस्किलले ३६–३७ थियो। साथीको निधनपछि उनलाई आफू पनि हृदयाघातको शिकार भइएला कि, अचानक नै मरिएला कि भन्ने डरले सताउन थाल्यो। यसका लागि उनले हृदय रोग विशेषज्ञलाई जँचाउने र विभिन्न खाले रगतको परीक्षण गर्ने गर्न थाले। चिकित्सकहरुले सबै कुराको परीक्षण गर्दा पनि स्वास्थ्यमा त्यस्तो कुनै नराम्रो पक्ष नदेखिएकाले आश्वस्त तुल्याउन निकै प्रयास गरे तर पनि अझै उनको डर भने यथावत छ।

यसैगरी मैले आफैँले एकजना यस्ता व्यक्तिलाई भेटेँ, जसको पिताको मृत्यु हृदयाघातबाट भएको थियो। पिताको मृत्युपछि त्यसै पनि मान्छे विक्षिप्त हुन्छ तर उनलाई सँगैमा अर्को समस्या पनि थपियो। उनलाई पनि पिताझैँ हृदयाघातको शिकार भइएला भनेर चिन्तित हुन थाले। पछि उनी चिकित्सककहाँ गएपछि मात्र आफ्नो डरलाई जित्न सके।

हिजोआज यस्ता घटना चिकित्सककहाँ दिनहुँ आउने गर्छन्। यस्तो डर पहिला नहुने र अहिले मात्र बढेको भने होइन। पहिला यस्तो डर लाग्दा कहाँ जाने, कोसँग परामर्श गर्ने भन्ने ठाउँ थिएन। औषधोपचार वा परीक्षणको सहज उपलब्धता पनि थिएन। त्यसैले पहिला यस्ता घटना चर्चामा आउँदैन थे। हिजोआज भने औषधोपचार, परीक्षण तथा परामर्श पहिलेको तुलनामा सहज हुन पुगेकाले यस्ता मनोरोगीका बारेमा जानकारी बढ्न थालेको छ।

घरका कुनै परिवारका सदस्यलाई मानसिक रोग छ भने त्यो रोग आफूलाई पनि सर्छ कि ? परिवारमा कसैलाई क्यान्सर छ भने आफू पनि क्यान्सरको शिकार भइएला कि ? वा अन्य कुनै सर्ने खालको रोग छ भने त्यो सर्ला कि भनेर डराउने व्यक्तिहरु हुन्छन्। 

हामी मृत्युबारे कुरा गर्न वा छलफल गर्न प्रायः चाहँदैनौँ किनभने त्यसले तनाव दिन्छ, चिन्ता लाग्छ, आफूलाई केही हुने हो कि वा छोराछोरी, श्रीमान्–श्रीमतीलाई केही भइहाल्छ कि भन्ने डर लाग्न थाल्छ। केहीलाई निद्रा नलाग्ने, डर लाग्ने वा नराम्रो सपना देख्नेसमेत हुन्छ।

हालै मकहाँ एकजना युवक आउनु भयो। उहाँलाई कसैको मृत्यु भयो भन्ने समाचार पढ्यो वा सुन्यो भने धेरै नै अत्यास लाग्ने रहेछ। मृत्यु भन्ने शब्द नै सुन्न नहुने, खलखल पसिना आउने र आत्तिने हुने रहेछ। कसैले बर्खी बारेको लुगा लगाएको देख्दा पनि झसङ्ग हुने, मुटुको ढुकढुकी बढ्ने हुँदोरहेछ।

ग्रीक फिलोसोफर एपिक्युरसले भनेका छन्, ‘मृत्युको डर त हामी सबैलाई नै छ। धेरैले यो डरलाई दबाएर राखेका छन्।’ 

आफू यति व्यस्त हुने कि यो सोच मनमा आउनै नपाओस् भनेर होला, एकै छिन पनि एक्लै बस्न नसक्ने, आफ्नो मन भुलाउन टेलिभिजन, मोबाइल, गफगाफ, पत्र–पत्रिका, अखबार आदिमा भुलाउने। भन्न त धेरै मानिसहरु, एकपटक मर्नै पर्छ के को डर प्रायः भन्छन्, तर त्यो सतही कुरा मात्र हो। मृत्युको डर र बाँच्ने इच्छा प्रायः सबैमा हुन्छ।

आखिर यो डर किन होला ? आफ्नालाई हेर्न, सुन्न र छुन नपाउने डर, आफ्नो परिवार र आफूलाई माया गर्नेहरुसँग छुट्टिनु पर्ने डर, आफ्नो मृत्युपछि परिवारलाई के हुन्छ होला भन्ने डर आदि अनेक कारणहरु नै होलान्।

मृत्यु शै्ययामा पुगेका एक व्यक्तिलाई “आफन्तजनलाई के सुझाव दिन चाहनु हुन्छ भन्दा “बाँच्दा खुसी हुने कुराहरु धेरै छन्, प्रकृतिको सुन्दरता, साथीभाइसँग समय बिताउनुको आनन्द, परिवारसँगको प्रेम, सबैलाई प्रेम बाँड्न सकिने सम्भावना र संसारलाई राम्रो देख्ने सपना” भन्नु भएछ।

मृत्युपछि आफ्ना लागि त सबै हराएरै जाने हुन् तै पनि सबैलाई  गर्न सकिने गहिरो प्रेम (वार्म हर्टटेड् नेस) र त्यसको अनुभवले जीवन आनन्दित त हुन्छ। मृत्युपछि त हाम्रा सबै सम्झनाहरु र अनुभवहरु हराउने नै छन्।

डा. इरभिन डि. यालुम, अमेरिकन साइक्याट्रिस्टले आफ्नो किताब (बिकमिङ माइसेल्फ) मा एकजना क्यान्सर रोगबाट पीडित महिला पौलाका बारेमा उदाहरण दिएका छन्। क्यान्सर रोग लागेका र उपचार गराई राखेकाहरुको समूह (गु्रप) को अन्तक्र्रिया हुँदा ती महिलाले भन्छिन् (ह्वाट अ पिटी आई ह्याड टु वेट अन्टिल नाओ, अन्टिल माई बोडी वाज रिड्लेड विथ क्यान्सर टु लर्न हाउ टु लिभ)। अर्थात् क्यान्सर रोग लागेपछि मात्र जीवन कसरी जिउने भन्ने सिकिन्। क्यान्सर भएपछिका विगतका ३ वर्षलाई उनले सुनौलो समय (गोल्डेन पिरियड) भनेकी छन् जुन अवधिमा उनले क्यान्सर रोगबारे जान्ने र मृत्युको भय र मृत्युसँग कसरी लड्ने भन्ने कुराहरु सिकिन् रे।

मृत्युलाई कसरी सहजरूपमा उच्च तहमा पुगेका गुरुले लिन सक्नु हुन्छ भन्ने कुरा योङगे मिन्गुर रिन्पोछेका पिता तथा गुरु टुल्कु उर्गेन रिन्पोछेको मृत्युबारे आफ्नो पुस्तक (टर्निङ कन्फ्युजन इन टु क्लारिटी) को पेज १०७ मा यसरी लेख्नु भएको छ ‘एकदिन टुल्कु उर्गेन रिन्पोछे कुनै खास कारणविना नै, वहाँको स्याहारसुसार गरेका थिए, सबैलाई धन्यवाद दिन थाल्नुभयो। उपचार गर्ने चिकित्सक, नर्सको तालिम प्राप्त, आँनी खाना पकाउने भान्छे सबैलाई। योङगे मिन्गुर रिन्पोछे र वहाँको दाजुले एक अर्कालाई हेरेर यो के हुँदैछ ? किन सबैलाई धन्यवाद दिँदै हुनुहुन्छ ? भन्ने लाग्यो। अर्को दिन बिहान टुल्कु उर्गेन रिन्पोछेलाई उठेर पिसाब फेर्न जान केही असजिलो भयो, फर्केपछि वहाँ ध्यान गर्ने आसनमा बस्नु भयो। दुवै छोराले तपार्इं थाक्नु भएको छ, विस्तरामा आराम लिनु ठिक होला कि ? भन्दा ‘हैन’ भन्नु भएछ। त्यसबेला वहाँको अनुहार हँसिलो र आसन सुविधाजनक नै देखिन्थ्यो। त्यसपछि वहाँको श्वास ढिलो ढिलो चल्न लाग्यो, अक्सिजन पुगेन कि भनेर आँनीले औषधि दिनु भयो तर श्वास फेर्ने क्रम अरु घट्दै गयो, श्वास लिने क्रम छोटो र श्वास फाल्ने क्रम लामो हुन लाग्यो र श्वास पुरै नरोकिँदासम्म यही क्रम चल्यो। स्वास रोकिएपछि पनि वहाँको अनुहार शान्त थियो र केही रातोपना पनि। ३ दिनसम्म वहाँको शरीर ध्यान गरेको अवस्थामै रह्यो, त्यसपछि बिस्तारै दाहिनेतिर ढल्किँदै त्यसतर्फ भुईँमा पुग्यो।

(मैले यो नेपालीमा अनुवाद अंगे्रजीबाट गरेको हो र यसमा त्रुटि हुन सक्छन्, इच्छुक पाठकले उक्त पुस्तक नै पढ्नु हुन अनुरोध छ।)

टुल्कु उर्गेन रिन्पोछे, बज्रयानको ठूलो गुरु हुनुहुन्थ्यो र वहाँका धेरै शिष्यहरु हुनुहुन्छ भन्ने महायान बज्रयानमा लागेका सबैलाई जानकारी छ। वहाँले भन्नु हुन्थ्यो रे सन्तहरुका लागि बिरामी पर्नु खुसीको कुरा हो र मृत्यु राम्रो समाचार हो। मृत्युको समय ज्ञान प्राप्त गर्ने ठूलो अवसर हो’। सन्तहरुले मृत्युलाई यति सहजरुपमा लिएको हेर्दा, सुन्दा वा पढ्दा मृत्युलाई सहज रुपमा वरण गर्न सक्ने र अझ मृत्युलाई ज्ञान प्राप्त गर्ने ठूलो अवसरमा लिन सक्ने हो भने मरिन्छ कि भन्ने डर त पुरै हराएर जाने रहेछ। (प्राइमरी सोर्स अफ ह्युमन मेजरी) अर्थात् दुःख र चिन्ताको मूल कारण नै नष्ट हुने रहेछ। (आवर ओम्निप्रिजेन्ट फेयर अफ डेथ ) अर्थात् हामी सबैमा रहेको मृत्युको भय स्वतः हराउने रहेछ।

प्रकाशित: १८ फाल्गुन २०७५ ०७:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App