७ वैशाख २०८१ शुक्रबार
अन्य

हिउँदे बिदामा तीर्थयात्रा

फुर्वा गेल्जेन शेर्पा
कक्षा : ५, लुक्ला आधारभूत विद्यालय, सोलुखुम्बु

हिउँदे बिदामा के गर्ने र कता जाने भनेर मनमा कुरा खेलिरहेको थियो। घरबाट काठमाडौंमै बसेर पढ्ने दिदीसित बस्नु भन्ने सल्लाह आयो। म लुक्लाको तेन्जिङ हिलारी विमानस्थल हुँदै काठमाडौं अवतरण गरेँ।

मेरो बुबा ट्रेकिङ र ममी होटल व्यवसाय गर्नु हुन्छ। काठमाडौंमा दिदीसँग कोठामा बस्दाबस्दा ‘हैरान’ भएको थिएँ। यतिकैमा हजुरबुबा, हजुरआमा र मामाहरू तीर्थयात्रासँग रमणीय ठाउँहरू घुम्न काठमाडौं आउने खबर आयो। यो खबरले निकै खुसी भएँ।काठमाडौंमा हजुरबुबा र हजुर आमासँग भेटिसकेपछि पोखरा, मुक्तिनाथ, लुम्बिनी लगायत जाने कुरा भयो।  म पनि उहाँहरूसँग गएँ। काठमाडौंबाट रात्रिबसमा पोखरा गयौं। राति १२ बजे पोखराको बसपार्क पुगियो। पोखराको होटलमा बस्यौं।  

बुद्धले ध्यान प्राप्त गरेको ठाउँ र पुरानो भग्नावशेषमाथि ‘शिवलिंग’ बनाएको देखेँ । यो देख्दा साह्रै दुःख लाग्यो ।

भोलिपल्ट पोखरा घुमफिर गर्ने योजना थियो। पोखरा म पहिलो पटक पुगेको हुँ। नौलो भएकाले यहाँको रहनसहन, वातावरणबारे अनभिज्ञ थिएँ। बिहानै पोखरा पूरै घुमाउने सर्तमा टाटाभ्यान रिजर्भ गरियो। अनि हाम्रो यात्रा पोखराको एयरपोर्ट लाइनबाट सुरु भयो।

हामी शान्ति स्तुप पुग्यौं। त्यो स्तुप जापानीहरूले बनाएका रहेछन्। पोखरालाई हेर्न सकिने, माछापुच्छ«े हिमाललाई नजिकबाट देख्न सकिने गरी बनाएको स्तुप घुम्दा लाग्थ्यो, नेपाल त स्वर्ग नै हो। स्तुपा परिक्रमा गर्दा जुत्ताचप्पल खोलेर जानु पर्ने रहेछ। बुद्धका विभिन्न मूर्ति राखिएको स्तुपको तेस्रो तल्लासम्म गएर घुम्न मिल्ने रहेछ। त्यहाँ पुग्दा म प्रफुल्ल भएँ। त्यहाँ हामीले कहिले माछापुच्छ«े शिरतिर राखेर, कहिले फेवाताललाई पछाडि पारेर त कहिले पोखरालाई छायामा पारेर तस्वीर खिच्यौं।

हामी त्यहाँबाट फर्केर गुफा गयौं। गुफामा पस्दा सुरुमा त म निक्कै डराएँ। मामाको हात समात्दै भित्र गएँ। जति गए पनि नटुंगिने कति लामो गुफा रहेछ। गुफाभित्र विभिन्न कलाकृतिहरू देख्यौं। गुफा सकिएकै थिएन उताबाट ठूलो झरना देखेँ। त्यहाँ दह पनि देख्न पाइयो। पहाडको बीचमा खोला बगेको, तल दह हेर्दै पूरै मन आनन्दित भयो। त्यहाँ रेखदेख समितिले गुफा संरक्षणको काम गर्दैै रहेछ। गुफाभित्र पानीहरू झरेको देखेँ। त्यसलाई तीर्थयात्रीहरू पवित्र जल मानेर खाने र चोखिने गरेको देखेँ।

त्यसपछि हामी डेभिड फल्स गयौं।  त्यहाँ जान पनि शुल्क तिर्नु पर्ने रहेछ। हामी भित्र गयौं। त्यहाँभित्र पुगेपछि हरियाली पार्क र ससाना छाँगाहरू देख्न पाएँ। सबै मजाले घुम्यौं। त्यहीँ पार्कभित्र विभिन्न भेषभूषामा तयार पारेको ‘डमी’हरू राखेको रहेछन्। मेरा लागि त्यहाँ टाउको राखेर तस्वीर खिच्दाको क्षण अविस्मरणीय बनेको छ।
त्यसपछि हामी सिधै फेवाताल गयौं। लाइफ ज्याकेट लगायौं र तैरिँदै ताल बाराही मन्दिर गयौं। त्यहाँ पूरा ग-यौं। डुंगामा त्यहाँ पुग्दा मलाई अर्कै दुनियाँमा पुगे जस्तै भयो। हामी ताल वराहीमा पूजा गरेर डुंगाको सहारामा फक्रयौ। फर्किंदा डुंगा खियाउने मौका मिल्यो। डुंगा खियाउन सजिलो हुने रहेछ अनि रमाइलो पनि उस्तै।

हामीलाई एकै दिनमा पोखराका सबै ठाउँ घुम्नु थियो। लगतै हामी चमेरे गुफा गयौं। त्यहाँ पनि निक्कै डरलाग्दो रहेछ। भित्र बत्तीको व्यवस्था गरेको रहेछ। गुफाको भित्रपट्टि मन्दिर पनि रहेछ। पूजारीले सबैको टाउकोमा हात राख्दै आशिष्  दिने रहेछ। मैले पनि केही रुपैयाँ राखेर ढोगेँ। पूजारीले आशिष् दिए। धन्य सम्झें। त्यहीँ गुफाको द्वारमा भर्खरै खुलेको विज्ञान र सौर्यमण्डलबारे जानकारी दिने पर्चा पाइयो। त्यसपछि हामी सौर्यमण्डल र विज्ञानको बारेमा जान्न त्यहाँ गयौं। त्यहाँ वैज्ञानिक अविष्कारका विभिन्न कुराहरू प्रदर्शनमा राखिएका थिए। त्यस्तै त्यहाँ पौडिने, दौडिने र पिङ खेल्ने ठाउँ पनि थियो।

त्यस्तै खगोल, भूगोल, वायुमण्डल र सौर्यमण्डलबारे अध्ययन गर्ने ठाउँ पनि रहेछ। त्यहाँ हामीले ‘स्याटलाइट’बाट विभिन्न कुराहरू थाहा पायौं। त्यसपछि हामी अन्तर्राष्ट्रिय पर्यटन संग्रहालयतिर गयौं। संग्रहालय पनि बन्द भैसकेको थियो। हामीले मन हुँदाहुँदै पनि साराङकोटमा प्याराग्लाइडिङ गर्न भियाएनौं। राति हिँड्न मलाई रमाइलो लाग्छ। त्यसैले हामी राति नै पोखराबाट पाल्पातिर लाग्यौं। स्याङजा हुँदै पाल्पाको सदरमुकाम पुग्यौं। त्यही राति बुटवल बजार पनि पुग्यौं। पहाडबाट एकै पटक तराई झर्दा गर्मी  महसुस भयो। यतिबेला रातिको १० बज्न लागेको थियो। बुटवलबाट भैरहवामा हुँदै हामी बुद्ध जन्मभूमि लुम्बिनीतिर गयौं।

लुम्बिनी पुग्दा रातको १ बज्न लागेको थियो। लुम्बिनी पुग्नै लाग्दा सडकहरू मर्मत भइरहेको देख्यौं। लोकमार्ग भएकाले राति सडक मर्मतको काम हुने गरेको गुरुजीले बतायो। हामी गाडीमै कोही निदाउँदै त कोही रमाइलो गर्दै लुम्बिनी पुग्यौं। त्यहाँ एउटा होटलमा सुत्यौं। बिहानै उठेर नुहाइधुहाइ गरी खाजा खायौं। त्यसपछि हामी मायादेवी मन्दिर घुम्न गयौं। भाडाको कारले हामीलाई लुम्बिनीको सबै मन्दिर, बौद्ध, गुम्बाहरू घुमाउने र बेलुका चितवनको सौराहा पु¥याइदिने सम्झौता भयो।

बुद्धको जन्म भएको मायादेवी मन्दिरमा गयौं। त्यहाँ मायादेवी मन्दिर, अशोक स्तम्भ, वरपीपलको रूख र हरियाली बगैंचा देखेँ। मन साह्रै आनन्दित भयो। त्यस्तै समूहसमूहमा भजनकिर्तन र ध्यानसाधना गरिरहेको देखेँ। उनीहरूको ध्यान भंग नहोस् भन्दै हामीले बिस्तारै हिँडेर मन्दिर परिक्रमा ग¥यौं। मन्दिरभित्र भेटी र खादा चढाउने ठाउँ रहेछ। मैले पनि केही भेटी चढाएँ।

त्यसपछि हामी अर्को मन्दिर घुम्न गयौं। त्यस्तै शान्ति दीप , बालक बुद्धको सालिक आदिआदि हे¥यौं। कृत्रिम पोखरी पनि बनाएर डुंगा संचालन गरेको देखेँ। त्यस्तै कोरिया, चीन, जापान, बंगलादेश, भुटान, भारत, अमेरिका, ताइवन, श्रीलंका आदि देशका आआफ्नै शैलीमा निर्माण गरेका गुम्बा दर्शन गरेँ। यसबाट बुद्ध जन्मभूमि लुम्बिनीमा बौद्ध धर्मको नमुना रहेछ भन्ने लाग्यो।

लुम्बिनी दर्शनपछि कपिलवस्तुतर्फ गयौं। त्यहाँ बुद्धले आफ्नो ३ सय जना शिष्य लिएर बसेको स्थान रहेछ। त्यहाँ भग्नावशेषहरू मात्रै रहेछन्। त्यहीँ पुरानो ठाउँको उनीहरूले नै पहरा दिइरहेको थियो। उनीहरूले बुद्धको छोरा राहुललाई भिक्षु बनाएको ठाउँ, जहाँ राहुलको कपाल काटेको थियो। त्यस्तै बुद्धको ध्यान केन्द्र, बुद्धको कान्छी आमाले आफ्नो हात काटेर बुद्धलाई दिएको तस्वीरहरू हामीलाई पालेले देखाउनु भयो। बौद्ध धर्मका प्रवर्तक गौतम बुद्धले ध्यान प्राप्त गरेको ठाउँ र पुरानो भग्नावशेषमाथि ‘शिवलिङ्ग’ बनाएको देखेँ। यो देख्दा साह्रै दुःख लाग्यो। २ हजार ६ सय अघिको पुरातात्विक वस्तुमाथि ४ सय वर्षअघि हिन्दू अधिग्रहण भएको रहेछ। त्यसपछि हामी बुद्धको पिताको दरबार हेर्न तिलौराकोट गयौं। तिलौराकोटमा संग्रहालय पनि रहेछ। तिरौलाकोटमा यतिबेला राजा शुद्धोदनको दरबार खोज्ने कुरा भइरहेको रहेछ। पुरातत्व विभागका भास्कर पन्तले हामीलाई त्यहाँ भइरहेको उत्खननबारे बताउनु भयो। सैनामैना मन्दिर पनि तिलौराकोटमै रहेछ। जहाँ हात्तीको मूर्ति चढाइने रहेछ।

त्यसपछि हामी नवलपरासी आयौं। रामग्राम पुग्यौं। रामग्राम बुद्धको अस्तु राखिएको ठाउँ रहेछ। त्यहाँ पनि उत्खननको काम भइरहेको थियो।  त्यसपछि हामी चितवनतिर आयौं। सौराहा आइपुग्दा रात परिसकेकाले हामी भरतपुरमै बसी बिहान मात्रै सौराहा गयौं। हवस् ‘सौरहाको कथापछि सुनाउँछु।’

प्रकाशित: १८ फाल्गुन २०७५ ०५:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App