coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्य

ग्रामीण पर्यटनका पिता

क्याप्टेन रुद्रमान गुरुङ

नेपालमा होमस्टे सुविधासहित ग्रामीण पर्यटनको अबधारणा भित्र्याएर व्यबहारमा उर्ताने अगुवा हुन् क्याप्टेन रुद्रमान गुरुङ। आज उनको गाउँ सिरुबारीको सिको गर्दै देशभर होमस्टेको लहर चलेको छ।    

हामीले पाइला चाल्दा इतिहास भुल्नु हुँदैन। विगतबाट प्रेरणा लिएर वर्तमानमा कर्म गरे मात्रै भबिश्य उज्ज्वल बन्छ। नेपालको ग्रामीण पर्यटनको इतिहास केलाउँदा क्याप्टेन रुद्रमान गुरुङको नाम अग्रपंत्तिमा आउँछ। 

उनैले हो होमस्टे सुविधासहित गाउँ पर्यटनको अबधारणा ल्याएर व्यबहारमा उतारेको। स्याङ्जाको सिरुबारी नेपालको पहिलो पर्यटन गाउँ। त्यहींबाट होमस्टे पर्यटन शुभारम्भ गरिएको थियो।  

सिरुबारीका पर्यटन नायक हुन् क्याप्टेन रुद्रमान। उनकै  सक्रियतामा सिरुबारीलाई ०५४ असोजमा ग्रामीण पर्यटन गन्तव्य घोषणा गरिएको थियो। त्यस अघि उनले आबश्यक पूर्वाधारहरू शौचालय, पर्यटक कोठा, गोरटा सरसफाई आदिमा जोड दिएका थिए।  

एउटा अनकण्टार गाउँलाई पर्यटनधाम बनाउनु चानचुने कुरा होइन। उनले सपना मात्रै देखेनन, सफलता पनि हात पारे। आज सिरुबारी गाउँ पर्यटनको पाठशालाका रुपमा स्थापित छ। त्यहाँको सिको गरेर धेरै गाउँमा पर्यटन अभ्यास भैरहेको छ।   

पर्यटकलाई होटल तथा लजमा होइन, आफ्नै भान्छामा खुवाएर घरकै कोठामा बसाउने सुविधालाई होमस्टे भनिन्छ। शिष्ट बोली, पारिवारिक माहोल र आत्मीय व्यवहार होमस्टेका बिशेषता हुन्।  

होटल/रेस्टुरेन्टबाट सीमित व्यक्तिले फाइदा पाउँछन्। सामुदायिक होमस्टेमा पाहुना बाँडेर घरघरमा राखिन्छ। यसरी सबैले कमाइको अबसर पाउँदा समाजमा शान्ति हुन्छ। 

सिरुबारीका गाउँलेका ‘आँखामा आत्मीयता, व्यवहारमा हार्दिकता र इमान्दारी’ पाइन्छ। आखिर दीगो पर्यटनको आधार यिनै चिज हुन्।  

उनले भारतीय सेनामा हुँदा ०२५ सालमै गाउँ पर्यटनको सपना देखेका थिए। जागिरबाट सेवानिवृत्त भएपछि गाउँ फर्केर सामाजिक काममा जुटे। अनि ०४८ सालदेखि पर्यटन पूर्वाधार विकासमा जोड दिए।  

जनस्तरबाट ‘गाउँ पर्यटनका नायक’ उपाधी पाएका क्याप्टेनसाप् हाम्रो माझ छैनन्। १५ फागुन ०७२ मा ८६ वर्षको उमेरमा उनले धर्ती छाडे। उनको योगदानको ज्योतिले पर्यटन क्षेत्र आलोकित भैरहेको छ। 

सिरुबारीमा उनको प्रतिमा बनाइएको छ। त्यहाँ उनको जीवनी झल्काउने संग्रहालय बनाउन परिवारले पहल गर्नु पर्छ। त्यतिले पुग्दैन स्कुल/कलेजका पाठ्यक्रममा क्याप्टेनसाप्को जीवनी समाबेश गरिनु पर्छ।

प्रकाशित: १८ फाल्गुन २०७५ ०५:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App