७ वैशाख २०८१ शुक्रबार
खेल

झापा गोल्डकप आजदेखि, उद्घाटन खेलमा आयोजक र सहारा क्लब भिड्दै

डोमालाल राजवंशी रंगशाला । तस्बिर साैजन्य : गाेलनेपाल डटकम

दमक – चौंथो झापा गोल्डकप फुटबल प्रतियोगिता शनिबार (आज) देखि झापामा सुरु हुँदै छ।  बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुने खेल दिउँसो २ बजेपछि सुरु हुनेछ। प्रतियोगिताको उद्घाटन खेलमा आयोजक झापा ११ र सहारा फुटबल क्लबले प्रतिस्पर्धा गर्नेछ।

प्रतियोगितामा आयोजक झापा–११ फुटबल क्लबसहित नेपालका ९ र हङकङको एक गरी १० वटा टोली सहभागि रहने छन्। तीन विभागीय टोली त्रिभुवन आर्मी, सशस्त्र प्रहरी बल र नेपाल पुलिसका साथै मनाङ मस्र्याङ्दी, थ्री स्टार, मोरङ–११, रुपन्देही फुटबल क्लब, सहारा क्लब पोखरा र हङकङ नेप्लिज एकेडेमीले सहभागिता जनाउनेछन्।

फागुन २७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले विजेताले १२ लाख ५५ हजार र उपविजेताले ६ लाख ५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन्। त्यस्तै विधागत उत्कृष्टअन्तर्गत गोलकिपर, डिफेन्डर, मिडफिल्डर र प्रशिक्षकले २१ हजार तथा सर्वाधिक गोलकर्ताले नगद २५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। म्यान अफ दी म्याचले नगद १५ हजार रुपैयाँ पाउने झापा गोल्डकप आयोजक समितिका अध्यक्ष महेन्द्रकुमार गिरीले जानकारी दिए।

सर्वोत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल प्रदान गरिने आयोजकले जनाएको छ। अघिल्लो वर्षजस्तै उद्घाटन समारोहमा झापाका दुई जना पुराना फुटबलरलाई नगद २५ हजारसहित सम्मान गरिने भएको छ। यस वर्षदेखि खेल सञ्चालन हुने रंगशालाको जग्गादाता डोमालाल राजवंशीको परिवारलाई नगद २५ हजार रुपैयाँ सहयोग प्रदान गरिनेछ। यो रकम प्रत्येक वर्ष खेलको पहिलो दिन प्रदान गरिनेछ।

आयोजक समितिले अनलाइन टिकटका लागि इ–सेवासँगको सहकार्यमार्पmत एक सय, दुई सय र तीन सय दरका टिकटको व्यवस्था गरेको हो । गोल्डकप सम्पन्न गर्न आयोजकले कम्तिमा १ करोड ५ लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ । यसपटक २५ लाख रुपैयाँ बचत गर्ने आयोजकको लक्ष्य छ। प्रतियोगिताको सबै तयारी सकिएको छ। गोल्डकपका अध्यक्ष महेन्द्रकुमार गिरीले झापालाई राजधानी पछि धेरै प्रतियोगिता हुने जिल्लाका रूपमा विकास गर्ने बताए।

‘हामीले जिल्लाका विभिन्न स्थानमा खेल खेलाएर फाइनल बिर्तामोडमा गर्ने तयारी गरेका थियौं,’ आयोजक समितिका अध्यक्ष गिरीले भने, ‘तर यसपटक भने सकेनौं। खेलाडीको वृत्ति विकासका लागि प्रतियोगिता अब्बल गर्नेछौं।’ चौथो संस्करणको पुरस्कारमा मात्र २५ लाखभन्दा बढी खर्च हुनेछ। यसपटक मुख्य प्रायोजक मनषा थाइ फुडको उत्पादन मगमग तयारी चाउचाउ रहेको छ।

मनषा थाइ फुडका बुद्धि घिमिरे, झापा गोल्डकपका अध्यक्ष गिरी र झापा–११ एफसीका अध्यक्ष जलकुमार गुरुङले सम्झौतामा हस्ताक्षर गरे। मगमगले गोल्डकपलाई नगद ८ लाख र झापा–११ लाई नगद ५ लाखसहित एक लाख बराबरको खेल सामग्री प्रदान गर्नेछ। 

 

प्रकाशित: १८ फाल्गुन २०७५ ०५:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App