७ वैशाख २०८१ शुक्रबार
समाज

परिचयपत्र वितरण कार्यविधि अनुमोदन

काठमाडौँ - काठमाडौँ महानगरपालिकाले अपाङ्गता भएका व्यक्तिको परिचयपत्र वितरणसम्बन्धी कार्यविधि २०७५ अनुमोदन गरेको छ।  कामपाको ३० औँ कार्यपालिका बैठकले उक्त निर्णय गरेको हो। 

कार्यविधिमा अपाङ्गता भएको व्यक्ति स्वयं वा अभिभावक तथा संरक्षकमध्ये कसैले अपाङ्ता भएको पुष्टि हुने कागजातसहित सम्बन्धित वडामा निवेदन दिएपछि वडाले सामाजिक विकास विभागमा सिफारिस गर्ने र विभागले परिचय उपलब्ध गराउने व्यवस्था रहेको छ। चित्त नबुझे महानगरका उपप्रमुखको संयोजकत्वमा गठित समन्वयन समितिमा निवेदन दिन सकिने छ। अपाङ्तासम्बन्धी प्रमाणपत्र लिन स्थायी ठेगाना भएको ठाउँमा जान नसक्ने व्यक्तिको हकमा त्यसअघि नलिएको यकिन गरी लिनसक्ने व्यवस्था छ। यो परिचयपत्र सामान्य अपाङ्ता भएका व्यक्ति आफैँले लिनुपर्नेछ। 
 
महानगरको आउँदो नगरसभामा सार्वजनिक निजी साझेदारी, सार्वजनिक यातायात र शहरी योजना आयोगसम्बन्धी विधेयक प्रस्तुत गर्ने पनि बैठकले निर्णय गरेको छ। शहरी व्यवस्थापनलाई जनअपेक्षाबमोजिम बनाउन यससम्बन्धी कानूनी व्यवस्था आवश्यक बनाइएको महानगरका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिए। 

प्रवक्ता डङ्गोलका अनुसार बैठकमा रानीपोखरी पुनःनिर्माणका लागि मेयर विद्यासुन्दर शाक्यले उपभोक्ता समितिमा रहने व्यक्तिको नाम प्रस्ताव गरेकाे छ। प्रस्तावित नाम अनुमोदन गर्दै बैठकले अजयरत्न स्थापितको संयोजकमा पाँच सदस्यीय समिति गठन गरेको छ। समितिको सचिवमा रोशनकाजी तुलाधर, कोषाध्यक्षमा होमप्रसाद खड्गी तथा सदस्यमा दीपकराज तुलाधर र दीपेन्द्र खड्गी छन्।  त्यस्तै बैठकले रानीपोखरी पुनःनिर्माणको अनुगमन तथा समन्वय समिति पनि गठन गरेको छ। समितिमा वडा नं १ का अध्यक्ष भरतलाल श्रेष्ठ, वडा २७ का अध्यक्ष चिनियाँमान बज्राचार्य र वडा नं २८ का अध्यक्ष भाइराम खड्गी छन्।

प्रकाशित: १८ फाल्गुन २०७५ ०४:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App