coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

अन्तिम बिदाइमा भावविह्वल

सन्तोष पोखरेल/सन्देश श्रेष्ठ

पोखरा – बुधबार मध्याह्नतिर एकाएक पर्यटनमन्त्री रवीन्द्र अधिकारी सवार हेलिकोप्टर दुर्घटनामा परेको खबर फैलियो। त्यसको केही छिनपछि नै अधिकारीसहित हेलिकोप्टरमा सवार सातैजनाको निधन भएको खबर एक कान दुई कान मैदान हुन पुग्यो। सुरुमा कस्केलीहरूले सो अप्रिय खबर सत्य नहोस् अफवाह मात्र फैलिएको होस् भनेर कामना गर्न थाले। तर मनले नमाने पनि त्यो सत्यलाई आत्मसात् गर्नु उनीहरूको बाध्यता बनिदियो। कस्केलीहरूले शुक्रबार आँसु र फूलको मन्त्री अधिकारीको अन्तिम बिदाइ गरे। तर मन्त्री अधिकारीको निधनलाई स्वीकार गर्न उनीहरूलाई गाह्रो परिरहेको प्रस्टै देखिन्थ्यो।

अधिकारीको निधनको खबरले तीनदिनदेखि कास्की सुतेको थिएन। प्यारो मान्छे (रवीन्द्र अधिकारी) को निधनको शोकमा सम्पूर्ण कस्केली परे। सामाजिक सञ्जाल मात्र नभई चोकचोक र घरघरमा अधिकारीको कुरा नभएको सायदै कतै थिएन। सिंगो कस्केलीको भरोसाका केन्द्र थिए अधिकारी। पोखरा र आसपासका क्षेत्रको विकासको मियो बनेका अधिकारीको मृत्युले जिल्लावासीको भोकनिन्द्रा लुट्यो, अनि खबरले आँशुको धारा निरन्तर बगाइरह्यो, त्यसको प्रमाण थियो, शुक्रबार दिउँसो अन्तिम बिदाइका बेला पोखरामा आयोजित श्रद्धाञ्जली सभामा हजारौंको सहभागिता रहनु र चारैतिर रुवाबासी चल्नु।
पोखरा शुक्रबार बिहानैदेखि छ्याङ्ङ खुलेको थियो। चार दिनदेखिको वर्षा थामिएर शुक्रबार बिहानैदेखि उत्तरतिर माछापुच्छ«े, अन्नपूर्ण र धवलागिरी हिमाल फिस्स हाँसेका थिए। प्रकृति निकै खुसी देखिन्थ्यो तर पोखरेलीको मन प्रकृतिजस्तो खुसी थिएन। ‘आफ्नो मान्छे’को निधनले शोकमा डुबेको पोखरा हाँस्न सक्ने अवस्थामै थिएन। झन् अधिकारीलाई अन्तिम बिदाइ गर्ने समय घर्किंदै गर्दा कस्केलीमाथि पीडाको भारी झनै बोझिलो बन्दै गएको थियो।

कास्कीमा तीनपटक लगातार जितेर सांसद हुँदै मन्त्री बनेका रवीन्द्र अधिकारी पोखरेली मात्र नभई समग्र देशवासीको मनमुटुमा बस्न सफल थिए। कास्कीमा जन्मिए÷हुर्किए पनि उनको पहिचान देशभरि नै थियो। होचो कद, हँसिलो मुहार र जहिल्यै फुर्तिलो ज्यान उनका विशेषता थिए। भेटेजतिसँग हात मिलाउँदै अंकमाल गर्ने अधिकारीको बानीले उनी धेरैका मनमा बस्न सफल थिए। पछिल्लो समय पर्यटनमन्त्री बनेपछि अधिकारीमाथि जिल्लावासिको भरोसा अझै बढेको थियो। तर अब उनी कहिल्यै नफर्किने बाटोतर्फ लागेका छन्। शनिबार गृहनगरमा कास्कीमा अधिकारीको शवयात्रा भइरहँदा सिंगो जनसमुदायका आँखा रसाएका थिए। शवयात्रा र श्रद्धाञ्जली सभामा सहभागी हजारौं शुभचिन्तककोरुवाउँदै अधिकारीको पार्थिक शरीरलाई रामघाटबाट सदाका लागि बिदा गरिएको थियो।

अधिकारीलाई बिदाइ गर्न पोखराबाट मात्र नभई आसपासका जिल्ला र गाउँगाउँबाट हजारौं शुभचिन्तक उपस्थित थिए। बिदाइका लागि तयार पारिएको नयाँबजारस्थित प्रदर्शनी केन्द्रको श्रद्धाञ्जली सभास्थलमा शुभचिन्तकको खचाखच भीड लागेको थियो। ‘अझै पनि रवीन्द्र अधिकारी हाँस्दै अगाडि आउलान जस्तो लाग्छ। उनको मृत्युलाई स्विकार्न सकेको छैन,’ पर्यटन व्यावसायी पोमनारायण श्रेष्ठ भन्छन्, ‘कहिल्यै आँखामा नबिझाउने नेताका रूपमा कहलिएका उनलाई बिर्सन गाह्रो पर्नेछ।’ श्रेष्ठको अनुभवमा अधिकारी जोकोही कार्यकर्ता वा सर्वसाधारणसँग चाँडै नै घुलमिल हुन सक्थे। सधैं हाँसिरहने भएकाले अधिकारीलाई जो–कोहीले आदर पनि गर्थे। ‘प्रायजसो नीलो रङको कोट–पाइन्टमा ठाँटिएर हिँड्ने अधिकारी कतैबाट मलाई बोलाउँदै आइपुग्छन् जस्तो लाग्छ,’ श्रेष्ठ भन्छन्, ‘सबैको मन जित्न सफल नेताको पहिचान बनाएकाले नै अधिकारीको उचाइको कद पनि निकै नै बढेको थियो।’

कास्कीमा पार्टीभित्रैका कार्यकर्ताले मात्र नभई विपक्षी दलका नेता तथा कार्यकर्ताले मन्त्री अधिकारीबाट थुप्रै अपेक्षा राखेका थिए। यतिका नेताले केही गर्छन् भन्ने आशा उनीहरूमा थियो। सबैको हाइहाइ पाएका त्यही नेताले सबैलाई रुवाएर बिदा लिएका छन्। ‘अब हाम्रो भरोसाको दियो निभेको छ। अधिकारीको निधनपछि त भएभरको काम चटक्क छाडेर हिँडौंझै लागेको छ,’ श्रद्धाञ्जली दिन पुगेका लेकसाइडका अर्का पर्यटन व्यावसायी नरेश भट्टराईले भने, ‘हाम्रो आशाको दियो निभेको छ। पर्यटनको जग ढलेको छ। सायद यत्तिको पर्यटन बुझेको मान्छे भविष्यमा पाउन सकिन्न होला।’ पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनिरहेको छ।
सन् २०२१ को जुलाईमा विमानस्थल निर्माण सम्पन्न गरी उडान सञ्चालन गर्ने योजना अधिकारीले बुनेका थिए। पोखराको अन्तर्राष्ट्रिय विमानस्थनबाट सिधै विदेशका लागि जहाज उडेको हेर्ने इच्छा अधिकारीमा थियो। तर बिडम्बना ! उनको त्यो चाहना अधुरो बन्न पुगेको छ। पर्यटनबारे जहिल्यै सकारात्मक कुरा गर्ने व्यक्तिका रूपमा परिचित अधिकारीको निधनले पोखराको पर्यटन क्षेत्रका लागि अपूरणीय क्षति पुगेको उल्लेख गर्दै भट्टराईले भने, ‘अब अरूमा भरोसा गर्न सक्दैनौं।’ उनका अनुसार पोखराको पर्यटन क्षेत्रले अधिकारीबाट सबैभन्दा बढी अपेक्षा राखेको थियो। त्यो अपेक्षा पूरा गर्न सक्ने नेता अब कास्कीले तत्काल पाउने संकेत नदेखिएको भट्टराइको प्रतिक्रिया थियो। ‘यतिको भरपर्दाे नेता अब तत्कालै पोखराले पाउँदैन होला,’ उनले भने।

सहपाठी धनराज आचार्यले अर्काका लागि केही गरौं भन्ने भावना अधिकारीमा रहेको बताए। ‘अधिकारीको निधनले कास्कीलाई मात्र नभई मुलुकलाई नै क्षति पुगेको छ,’ आचार्यले भने, ‘बच्चादेखि बुढासम्मसँग मिल्न सक्ने खुबी उनीसँग थियो। समाज र परिवर्तनका लागि केही गरौ भन्ने भावना उनीसँग थियो।’ उनका अनुसार मित्र वा विरोधी सबैसँग मिल्ने बानी भएकाले नै अधिकारी सबैको मनमा अट्न सकेको थिए।

प्रकाशित: १८ फाल्गुन २०७५ ०३:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App