coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

शोक धुनसँगै अविरल बगेका आँसुहरु...

'यही माटोका सबै हामी यही माटो मुनी मिल्नु छ
मृत भष्म नहुँदैमा झिल्को भइकन बल्नु छ'

बालकृष्ण समले यी हरफ लेख्दा रवीन्द्र अधिकारी जन्मिएकै थिएनन्। तर, समले लेखेका यी हरफ रवीन्द्रको जीवनमा ठ्क्याक्कै मिल्यो। नियतिले उनलाई लामो आयू दिएन त के भयो ? उनी साँच्चीकै झिल्को बने। आशा र भरोसाको केन्द्र बन्नु सजिलो थिएन। रवीन्द्रको जीवनलाई नजिकबाट नियाल्नेहरुले त्यो बुझेकै थिए।

‘उहाँ असहजतालाई सहजतामा बदल्नु हुन्थ्यो, अनि आलोचकलाई शुभेच्छुक बनाउने खुवी राख्नुहुन्थ्यो’, विद्यार्थी राजनीतिमा रवीन्द्रलाई नजिकबाट बुझेका गण्डकी प्रदेश सांसद राजीव पहारीले भने, ‘उहाँको निधनले यस क्षेत्रको नक्षत्र अस्तायो।’

शुक्रबार नेपाली सेनाको विमानमार्फत करिब साढे १२ बजे अधिकारीको शव पोखरा विमानस्थल ओराल्दादेखि शुभेच्छुकको भीड पोखरा प्रदर्शनी केन्द्रसम्मै थियो। जब उनकी जीवन संगिनी विद्या भट्टराईलाई हातमा समाएर भूमिसुधार मन्त्री पद्यमा अर्यालले गाडीमा चढाइन् यो दृष्यसँगै  पोखरेलीका आँसु थामिएनन्।

एउटा उमेर समूह भन्दा अन्याय होला। के बृद्ध के तन्नेरी के बालक फूलको गुच्छा लिएर आफ्ना प्रिय नेताको अन्तिम बिदाई गर्न सर्वसाधारण लामबद्ध थिए पोखरा प्रदर्शनी केन्द्रमा। ‘एक जना असल मित्र मात्र नभएर विकास र समृद्धिको योजनाकार पनि हामीले गुमायौं,’ नेकपाका केन्द्रीय सदस्य तथा पूर्व सभासद राजकाजी गुरुङले भने, ‘हामी पहिलो संविधान सभामा सँगै थियौ। विकास प्रति उहाँको स्पष्ट भिजन थियो । वषौं सम्मको लागि क्षति भएको छ ।’

सँधै मेला महोत्सव हुने यो स्थान आज एउटा शोकमा थियो। मानिसहरुका आँखामा आँसु थिए। मनमा पीडा थियो। शोक धुन बजिरहेको थियो। शोक धुनसँगै झरेका आँशुहरु थामिएका छैनन्। लाग्छ केही दिन यी आँशुहरु बगिरहने छन्, अविरल बगेको सेती जस्तै। अधिकारीले कास्कीबाट तीन पटक संसदीय निर्वाचन जितेर ह्याट्रिक गरेका थिए। पहिलो र दोस्रो संविधान सभा र गत वर्ष सम्पन्न सघीय निर्वाचन। विकास समितिको सभापतिको रुपमा उनले गरेका काम अविश्मरणीय छन्। पोखराको विकासमा अर्थ राख्ने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको रोकिएको कामलाई गती दिलाउँदा पोखरेली माझ उनी थप लोकप्रिय र विकासवादी नेताको छविमा देखिए।

रवीन्द्र अधिकारीले पोखराबाटै राजनीति सुरु गरेर चर्चामा पुगेका थिए। विद्यार्थी राजनीतिबाट उदाएका यी सालिन नेता आफ्नो मृत्यू पर्यन्त चर्चामा रहे। सबै भन्दा धेरै चर्चा त उनको महाकाली मार्च र शाहज्यादा पारस शाहलाई कारबाहीको माग गर्दै हस्ताक्षर उठाएर दरवारलाई बुझाउँदा भएको थियो। यति मात्र कहाँ हो र, गायक प्रवीण गुरुङको हत्यालाई कारबाही माग गर्दै हस्ताक्षर बुझाउन दरबार पुगेका अधिकारीलाई राजा वीरेन्द्रले नै पत्र लेखेर आफ् गम्भीर भएको बताए। राजतन्त्रको समयमा यो सानो कुरा थिएन।

४९ वर्षकै उमेरमा उनलाई गुमाउँदाको पीडा परिवारमा मात्र होइन आम नागरिकमा पनि छ भन्ने काठमाडौंको टुँडिखेल र पोखरामा अन्तिम विदाई गर्न उपस्थित सर्वसाधारणको भिडले देखाउँथ्यो। प्रदर्शनी केन्द्रमा राखिएको शवमा पार्टीका नेता वामदेव गौतम र नारायणकाजी श्रेष्ठले हसिया हथौडा अंकित पार्टीको झण्डा ओढाएर अन्तिम पटक लालसलाम गरे, जो कम्युनिष्टहरुको आर्दश हो। उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले राष्ट्रिय झण्डा ओढाएर उनको विदाई गरे। प्रदर्शनी केन्द्रमा उपस्थीत आम सर्वसाधारणले पुष्पगुच्छा अर्पण गर्दै अन्तिम श्रद्धाञ्जली दिए। 

 

प्रकाशित: १७ फाल्गुन २०७५ ११:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App