८ वैशाख २०८१ शनिबार
राजनीति

वाइडबडीमा रवीन्द्र निर्दोषः प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले वाइडबडी खरिद प्रक्रियामा रवीन्द्र अधिकारी निर्दोष रहेको बताएका छन्। हेलिकप्टर दुर्घटनामा निधन भएका संसदीय दलका सदस्य रवीन्द्र अधिकारीको शोक प्रस्ताव पारित गर्न बसेको  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को शुक्रवार बसेको संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले अधिकारीसँग सरोकार नै नभएको वाइडबडीको बिषय जोडेर केही तत्वले उनको बद्नाम गर्न खोजको बताए।

‘यतिबेला अरु धेरै कुरा त केही भन्न चाहन्न, अत्यन्तै अनुचित ढंगले उहाँको कुनै सरोकार नभएको बिषय वाइडबडीको सन्दर्भमा जोडेर केही तत्वहरुले उहाँलाई बद्नाम गर्न खोजे, जो सम्पूर्ण रुपमा निराधार कुरा हो’, ओलीले भने, ‘उहाँले कुनै लोभलालचका लागि होइन। वाइडबडीमा उहाँ आफैले केही गरेको पनि छैन। त्यो वाइडबडी वहाँ मन्त्री हुनभन्दा पहिलेको कुरा हो। तर पनि नेपाल यस्तो देश भएको छ, जहाँ सत्य उजागर हुन नदिन वा सत्य ढाकछोप गर्न वा असत्यको हल्ला चलाएर सत्यलाई ढाकछोप गर्ने त्यस्तो प्रवृति र रुची भएका मान्छेहरु छन्। त्यो धन्दा पनि चलिरहेको छ।’

वाइडबडीका बारेमा रवीन्द्र अधिकारीलाई आरोप लगाउनु दुःखद भएको भन्दै उनले अगाडि भने, ‘मलाई दुःख लाग्छ कि वहाँ जस्तो कर्मठ, क्रियाशील मानिसलाई अनुचित ढंगले, त्यस प्रकारले आरोप लाञ्छनाहरु लगाउने र अपमान गर्ने कामहरु पनि भयो।’

मन्त्री अधिकारीले  नागरिक उडड्यनको क्षेत्रमा देखिने गरी असाधरण काम गरेको ओलीको भनाइ छ। ६ वटा विमास्थलमा रात्री उडान सञ्चालन गर्ने, धनगढी, विराटनगर र चन्द्रगढी विमानस्थलको काम अघि बढाउने कुरा अधिकारीकै सक्रियतामा भएको उनले स्पष्ट पारे।

तेह्रथुमको चुहानडाँडामा विमानस्थल बनाउन उपयुक्त हुने प्राविधिक प्रतिवेदन आएपछि आफैंले हेरेर आउने भनेर उनी त्यसतर्फ गएको भन्दै ओलीले थपे, ‘तेह्रथुमको चुहानडाँडामा इन्जिनियरिङ सर्भे आदिबाट उपयुक्त ठाउँ छ, निर्माण गर्न सकिन्छ भन्ने रिर्पोट आइसकेपछि आफैं गएर हेर्ने र आफैंले हेरेपछि उपयुक्तता, अनुपयुक्तता छुट्याउने भनेर वहाँ जानुभएको थियो।’ ढिलोमा ३ बर्षभित्र सो ठाउँमा विमानस्थल निर्माण गरिसक्ने मन्त्री अधिकारीको लक्ष्य रहेको प्रधानमन्त्री ओलीले जानकारी गराए।

मन्त्री अधिकारी विमानस्थलहरुको अध्ययन भ्रमणकै क्रममा  हिजो बिहिबार जमर्नीको म्युनिखमा जाने कार्यक्रम रहेको जानकारी गराउँदै उनले भने, ‘हिजो वहाँ बर्लिन जर्मनीतर्फ उड्दै हुनुहुन्थ्यो। त्यहाँ जानुको अर्थ पनि थियो कि म्युनिख एयरपोर्टसँग सिस्टर सम्बन्ध बनाउने, व्यवस्थित ढंगको एयरर्पोट ह्याण्डिलिङ बनाउने, उहाँहरुसँग सहकार्य गर्ने योजना बनाउनु भएको थियो।’ अधिकारीको निधनले पार्टी, सरकार र देशले एक कुशल नेता, मन्त्री र नागरिक गुमाएको ओलीको भनाई छ।

दुर्घटनामा निधन भएका आङछिरिङ शेर्पा नेपालको पर्यटन क्षेत्रका एकजना हस्ती भएको ओलीले बताए। यसैगरी उपसचिब युवराज दाहाल विकासलाई बिभिन्न कोणबाट बिश्लेषण गरेर योजना बनाउन सक्ने व्यक्ति भएको र निधन भएका अन्य व्यक्तिहरु पनि आआफ्नो क्षेत्रका दिग्गज भएको प्रधानमन्त्री ओलीको भनाइ छ।

बैठकले दुर्घटनामा निधन भएकाहरुप्रति शोक प्रस्तव पारित गरेको छ। यसैगरी बैठकले मृततका परिवारको लालनपालनका लागि सरकारको ध्यानाकर्षण गराउने निर्णय समेत गरेको छ।

प्रकाशित: १७ फाल्गुन २०७५ ०९:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App