८ वैशाख २०८१ शनिबार
अन्य

ढकमक्क लालीगुराँस

दक्षिण ललितपुरका वनमा फुलेका लालीगुराँस।

‘म त लालीगुराँस भएछु
वनैभरि फुलिदिन्छु, 
मनैभरि फुलिदिन्छु...’

साहित्यकार क्षेत्रप्रताप अधिकारीले लालीगुराँसलाई यसरी व्याख्या गरेका थिए। स्वरसम्राट नारायण गोपालले गाएको यो गीतमा लागिगुराँसलाई मानिसको मनसँग दाजिएको छ। 

ितनै लालीगुराँसले अहिले दक्षिणी ललितपुरका वनपाखा राताम्मे भएका छन्। काठमाडौंबाट केही घण्टामै पुग्न सकिने यस क्षेत्रमा विभिन्न प्रजातिका रंगीविरंगी लालीगुराँसले वनपाखासँगै गाउँबस्ती नै झिलिमिली बनाएको छ। ललितपुरको दक्षिणी भेगमा पर्ने गोटीखेल, मानिखेल, प्युटार, ठूलादुर्लुङल, बुखेल लगायतका लालीगुराँसले रंगिएका छन्।  हरियो जंगलमा फुलेका लालीगुराँसले वन राताम्मे बनाएकाले पर्यटक आर्कषण गर्न थालेकोे मानिखेलका स्थानीय प्रकाश लामाले जानकारी दिए। ‘गाउँमा पर्यटक आउने भनेकै प्राकृतिक सौन्दर्यको अवलोकन गर्न हो, लालीगुराँस  फुलेसँगै विदेशी र नेपाली पर्यटक यहाँ आउने थालेका छन्,’ उनले भने। 

राता रङका लागिगुराँस र गुलावी, सेता र पहेंला लगायत प्रजातिका गुराँस यहाँ पाइन्छ। जिल्लाकै दुर्गम र दक्षिणी भेगमा पर्ने यस क्षेत्रमा लालीगुराँस  र हरियाली पहाडले पर्यटक तान्नुका साथै यस क्षेत्रलाई शोभनीय पनि बनाएको छ।  वनस्पतिविद्हरूका अनुसार लालीगुराँस समुद्री सतहबाट १ हजार ३ सयदेखि ४ हजार ६ सय मिटर उचाइमा पाइन्छ। यद्यपि चैत पहिलो सातादेखि फुल्ने यो फूल जलवायु परिवर्तनको असरले अचेल माघ–फागुन महिनामै फुल्न थालेको छ। लालीगुराँसको रूख १० सेन्टीमिटरदेखि ३० मिटरसम्म अग्लो हुन्छ। संसारभरि १ हजारभन्दा बढी प्रजातिमा पाइने यो फूललाई अंग्रेजीमा रोडोडेनड्रन भनिन्छ। यो फूलको चीनमा मात्र ५ सय ७१ प्रजाति छन्।

चाँडै फुले लालीगुराँस 
जलवायु परिवर्तनका कारण लालीगुराँस दुई महिनाअघि नै फुल्न थालेको वनस्पतिविद् तीर्थबहादुर श्रेष्ठले बताए। उनका अनुसार अहिले लालीगुराँस फुल्नुलाई प्राकृतिक अपवादको रूपमा लिन सकिन्छ। जलवायु परिवर्तन र गर्मीका कारण फुल चाँडै फुल्न थालेको उनको भनाइ छ। ‘लालीगुराँस सबैभन्दा होचो र सबैभन्दा अग्लो स्थानमा पाइने फूलमध्ये पर्छ। २० वर्ष अघिसम्म फागुनपछि मात्र फुल्थ्यो,’ वनस्पतिविद् श्रेष्ठले भने, ‘तर, अहिले चाँडै फुल्नुमा जलवायु परिवर्तन र प्राकृतिक अपवाद हो।’

श्रेष्ठका अनुसार यो फूल सबैभन्दा लामो समयसम्म पनि फुल्ने गरेको छ। फागुनबाट फुल्न सुरु गरेको फुल जेठसम्म फुल्छ। शिशिर ऋतुमा फुल्ने गुराँसलाई ग्रामीण सुन्दरताको रूपमा समेत लिने गरिन्छ। त्यसो त लालीगुराँस  चाँडै फुलेको विषयमा अहिलेसम्म अध्ययन अनुसन्धान नगरेको भए तापनि जलवायु परिवर्तनकै कारण वनस्पति  र पुष्प चाडै फुल्ने गरेको वनस्पविद् श्रेष्ठको भनाइ छ। नेपालका अधिकांश क्षेत्रमा पाइने गुराँस रातो रङको हुन्छ। रातो भएकैले यसलाई नेपालको संविधान–२०७२ ले पनि राष्ट्रिय फूलको रूपमा निरन्तरता घोषणा गरेको छ। 

प्रकाशित: १७ फाल्गुन २०७५ ०७:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App