प्रतिनिधिलाई प्रश्न

‘परम्परागत इनारको संरक्षण गरिरहेका छौं’

शुक्रबार, १७ फागुन २०७५, १३ : ०४ नागरिक

719


जनप्रनिनिधि भएर मुख्य के–के काम गर्नुभयो ?
२०५४ सालदेखि २०५९ सालसम्म पनि म यस वडाको वडाअध्यक्ष भएर जनताको सेवामा थिएँ। त्यो बेला पनि धेरै प्रयास गरी वडाको टुरिजम मार्केट नजिकैको ढुंगेधाराको निकास खोल्ने प्रयास गरेका थियौं। तर, सकिएन। यो पटक निर्वाचित भएदेखि नै हामीले पहिलो प्राथमिकता त्यसलाई दियौं र सफल पनि भयौं। यसबाहेक सपथ ग्रहणपछि वडाका नयाँ बस्तीका विभिन्न बाटोघाटो फराकिलो पार्ने, पुरानो बाटोमा ढुंगा छाप्ने लगायतका काम गर्‍यौं। 

वडाको बाटोमा इँटाको सट्टामा ढुंगाको छपाई गर्नुभयो, किन ? 
भक्तपुर नगरपालिकाले भक्तपुर नगरको मुख्य बजार च्याम्हासिंहदेखि भार्वाचोसम्मको बाटोमा इँटाको सट्टा ढुंगा छाप्ने निर्णय गर्‍यो। त्यही निर्णय अनुसार मेरो वडामा पर्ने मुख्य सडकमा ढुंगा छपाई भएको हो। यो वडाको होइन, नगरपालिकाको योजनाको काम हो।  

वडामा के–कस्ता समस्या देख्नुहुन्छ ?
अरु वडामा जस्तै मेरो वडामा पनि खानेपानी, सरसफाइ, भूकम्पपीडित लगायतका समस्या छन्। 

भक्तपुर नगरपालिका त सफाइको नमुना नगर हो, फोहोरको के समस्या भयो र ? 
भक्तपुर सफाइमा नमुना नगर हो। तर यहाँ पनि फोहोर व्यवस्थापनको समस्या छ। फोहोर फाल्न लाने डम्पिङ साइडको समस्या भएको हो। 

कसरी मिलाइरहनुभएको छ त ? 
फोहोर कम मात्रै उत्पादन होस् भनेर हामीले घरघरबाटै कुहिने र नकुहिने फोहोर छुटाउने बन्दोवस्त मिलाएका छौं। यसको लागि घरघरमा कुहिने र नकुहिने फोहोर छुट्टाएर राख्न दुई–दुई वटा गरी चार बाल्टिन वितरण गरिराखेका छौं। ताकि कुहिने फोहोर खेतमा लगेर प्रयोग गर्न लान सकियोस् र डम्पिङ गर्नुपर्ने फोहोर धेरै नआओस्।

खानेपानी समस्या समाधानका लागि कसरी अगाडि बढिरहनुभएको छ ? 
यहाँं धेरै परम्परागत पानीका स्रोत छन्, जस्तै ः इनार, ढुंगेधारा। हामी ती परम्परागत इनारको संरक्षण गरिरहेका छौं। ताकि इनारका ती पानी खानबाहेक प्रयोग गर्न सकौं र पानीको समस्यामा समाधान होस्। हाम्रो वडामा मात्रै ४० इनार रहेको तथ्यांक छ। 

वडामा धेरै भूकम्पपीडित छन्। उहाँहरूको के–के समस्या देख्नुभएको छ ? ती समस्या समाधानका लागि केही ध्यान दिन सक्नुभएको छ कि ?
वडामा एउटै घरमा पनि भिन्नाभिन्नै खाना पकाई दाजुभाइ बसिरहेका छन्। बहुस्वामित्वको समस्या छ। त्यसकारण उहाँहरूले सरकारले दिने अनुदान पाइरहनुभएको छ। त्यसकारण यस कार्यमा सहुलियत रकम पाओस् भनेर प्राधिकरणसँग समन्वय गरी सहयोग गरिरहनुभएको छ। तर पनि कति वडावासीले राहत नपाएको गुनासो पीडितको छ। पीडित प्राधिकरणको सेवाप्रति सन्तुष्ट छैनन्। घनाबस्तीका सँधियारका कारण पनि उहाँले छिटो घर पुनर्निर्माण गर्न सकिरहनुभएको छैन। पुरानो घर भत्कायो कि सँधियारको पनि घर भत्किने भएकाले चाहेर पनि घर पुनर्निर्माण गर्न सकिरहेका छैनन्। 

भक्तपुरको पुरानो माटोको भाडो बनाउने धेरै व्यवसायी तपाईँको वडामा छन्। ती व्यवसायी पलायन हुने क्रम प्रत्येक वर्ष बढ्दो छ। उहाँहरूको पेशा व्यवसायलाई जोगाउन यहाँले ध्यान दिन सक्नुभएको हो ?
यहाँको माटोको व्यवसाय जसोतसो मात्रै चलिरहेको छ। पहिलो त माटोको समस्या छ। अरु माटोको भाडालाई प्लास्टिकका सामानले विस्थापित गरिदिए। यसकारण यहाँको भाडाको भाडा बनाउने व्यवसायी तपाईँले भनेजस्तै वर्षेनी घट्दो छ। नाममात्रैको पोटरी स्क्वायर, कुमाले टोल, माटोको भाडा बनाउने ठाउँ होला भने चिन्ता भइसक्यो। यसकारण यो विषयमा वडाले मात्रै होइन, नगरपालिकाले मात्रै पनि होइन केन्द्र सरकारले नै ध्यान दिनुपर्ने देखिन्छ। 

तपार्इँको वडामा पर्ने पोटरी स्क्वायर क्षेत्रलाई पर्यटकीय आकर्षण बनाउन केही सोच्न भ्याउनुभएको छ ? 
पहिला–पहिला भाडाका भाडा बनाउने काम प्राकृतिक रूपमै हुन्थ्यो। सबै काम हातले नै हुन्थ्यो। भाडा बनाउने कुमालको चक्कर हातले नै घुमाइन्थ्यो। तर, अहिले ‘मेसिन मेड’ भएको छ। कुमालेको चक्कर पनि मेसिन नै घुमाइन्छ। यसो हुँदा पर्यटक लोभिन छाडेका छन्। यसकारण यस विषयमा सोच्नुपर्ने देख्छु। 

वडामा धेरै ऐतिहासिक मठमन्दिर छन्। तिनको संरक्षण सम्वद्र्धनका लागि के–के गरिरहनुभएको छ ?
वडाका पाटीपौवा, ढुंगेधारा, मठमन्दिर, सत्तलको मर्मत सुधार, जीर्णाेद्धारका काम गरिराखेका छौं। यस क्रममा लाकुलाछें आगन्जे भवन निर्माण क्रममा नक्सा पास गरी दुई तला बनाइसकेका छौं। टुरिजम मार्केट अगाडिको ढुंगेधारा सफाइ गरेका छौं। भैरवनाथको मन्दिर जीर्ण छ। त्यो बनाउन २० लाख रूपैयाँ छुट्याएका छौं। उपभोक्ता समिति बन्ने क्रममा छ। भद्रकाली अजिमा भत्कने अवस्थामा छ। त्यसलाई अर्काे पटक बजेटमा राख्ने योजनामा छु। हाडाछें पनि एक तला बनाउने योजना छ। साथसाथै विभिन्न मठमन्दिरका छाना मर्मत पनि गरिराखेका छौं। 

वडामा धेरै जात्रापर्वहरू पनि चल्छन्,  तिनको अवस्था कस्तो छ। ती जात्रा पर्वहरूलाई जोगाउन केही गरिरहनुभएको छ ?
वडामा धेरै जात्रा पर्व चल्छन् यहाँले भनेजस्तै। जस्तो कि लिंगो उभ्याउने, ढाल्ने, भैरवनाथको रथ गहिटीमा राख्ने काम हुन्छ। पुलुकिसी जात्रा यहीँबाट सुरु हुन्छ। गाईजात्राको अन्तिम पटक निस्कने ताहामचा पनि यही बनाएर लान सुरु हुन्छ।बाराही अजिमाको टिप्वा जात्रा यहीँबाट चल्छ। यी जात्रापर्वलाई निरन्तरता दिन वडावासीसँग सहकार्य गरी काम गरिराखेको छु।  

वडामा धेरै किसान परिवारको बसोबास छ। उहाँहरूको जीवनस्तर उकास्ने केही योजना बनाउन सकिन्छ ? 
सहरीकरणसँगै धेरै किसानका खेत सकिने अवस्थामा छन्। खेत सकेपछि उहाँहरूको जीविकोपार्जन गर्ने अरु उपाय हुनुपर्‍यो। त्यसकारण हामीले किसान परिवारका छोराछोरीलाई अरू पेशा व्यवसायमा संलग्न गराउन राम्रो शिक्षा दिने योजनाका साथ कलेज खोलेका छौं। भक्तपुर नगरपालिकाले सञ्चालन गरेका सात कलेजहरूमा यहाँका किसानका छोराछोरीले कम शुल्कमा गुणस्तरीय शिक्षा पाइरहेका छन्। यस हिसावले उनीहरूले अरु राम्रा पेशा व्यवसाय गर्न पाइरहेका छन्। 
यी दिर्घकालीन योजनाबाहेक हामीले किसानलाई मौसम अनुसार प्रतिपरिवार पाँच–पाँच किलोग्राम आलु, धान, गहुँको बीउ वितरण गरेका छौं।  प्रस्तुति : रेणु त्वानाबासु






यसमा तपाईको मत


अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

Ncell Footer Ad