सपनाको सहर

‘काठमाडौं निसास्सिएको छ’

शुक्रबार, १७ फागुन २०७५, १२ : ५३ नागरिक

259


तपाईको विचारमा सहर भनेको के हो ?
सामान्य भाषामा व्यक्त गर्दा आधुनिक र सघन बस्ती नै सहर हो। औद्योगिक क्रान्तिसँगै त्यहाँ नयाँ–नयाँ सुविधाहरू थपिएका हुन्छन्। सहर अवसर र सेवामुखी ठाउँ पनि हो। त्यसकारण त्यहाँ स्वभाविक रूपमा मानिस बसाइँ सर्छन्। 

घुमेकामध्ये मनपर्ने सहर कुन हो ?
संसारका धेरै देशमा अग्ला–अग्ला भवन र टावरहरू बनाइएको हुन्छ। तिनैलाई हेरेर ठूला र विकसित सहर भन्ने गरिन्छ। तर, म त्यसले सहरलाई नै कुरूप बनाएको ठान्छु। मलाई लण्डन सहर निकै मनमोहक र सुन्दर लाग्यो। लण्डनमा राम्रो र सुन्दर सहर छ। हेर्दै रूपाकृत देखिन्छ। त्यहाँ अग्ला घर छैनन्। चिटिक्कका घरहरू बनाइएको छ। सुरक्षा र सरसफाइको हिसाबमा पनि त्यहाँका सहर अग्रपंक्तिमा छन्। 

सहरमा के–के सुविधा हुनुपर्छ ?
सहरभित्र शिक्षा, स्वास्थ्य, बिजुली, यातायात तथा मानवीय आवश्यताका हरेक सुविधा हुनुपर्छ। सुविधासहितको व्यवस्थित मानव बस्ती नै सहर हो। त्यहाँ चरणबद्ध र योजनावद्ध ढंगले विकासका काम गरिएको हुन्छ। 

नेपालभित्र कुन सहर मनपर्छ ?
पोखरा मनपर्छ। यो सहर प्राकृतिक छ। हरियालीसँगै सबैतिर स्वच्छता देखिन्छ। ताल, मन्दिर र पर्यटकीय मार्गले पोखरा आकर्षक सहर बनाएको छ। त्यहाँ मानिसको भीडभाड र होहल्ला छैन। नेपालभित्र शान्त र वातावरणीय हिसाबले पनि घुम्नलायक सहर पोखरा मानिन्छ। त्यसबाहेक उपत्यकाबाहिर अन्य साना सहर पनि थुप्रै छन्। तेह्रथुम र इलामका सहरले पनि मलाई तान्छन्। 

काठमाडौं कस्तो लाग्छ ? 
काठमाडौं सहरको अवस्था दुर्गतीतिर छ। अहिलेको परिस्थितिमा हेर्दा काठमाडौं एउटा जटिल सहर बन्दै गएकोे छ। सबैतिर अराजक मात्रै भइरहेको छ। प्राकृतिक सुन्दरता, हावापानी र मौलिकताको हिसाबले यो सहर उच्च विन्दुमा छ। मौलिक कला संस्कृतिको हिसाबमा यो एउटा ठूलो भूमि हो। त्यसलाई हेर्दा नेपाल विश्वकै उत्कृष्ट सहरभित्र पर्छ। विडम्बना! हामीले यहाँको पर्यावरण सुहाउँदो विकास गर्न सकेनौं। पर्यावरणको विनास गरेर विकास हुन्छ भन्ने किसिमको हाम्रो सोच भयो। प्राकृतिक र ऐतिहासिक कुरामा हामी संसारको धनी हौंला। तर, खराव संरचना भएको मुलुकमध्ये पहिलो नम्बरमा हाम्रो देश पर्छ होला। यति बिग्रिएका भवन भएको देशका संसारमा अरु छैनन् भन्ने लाग्छ। हामीले सहरमा संरचना बनाउँदै गर्दा साना–साना कुरामा पनि ख्याल गरेनौं। सरकारी नीति नियमले कसिकसाउ गर्न सकेन। नागरिकले पनि आफूलाई जे सजिलो लाग्छ त्यहीँ गरिदिए। जसको परिणाम– हामीले अहिले सहरमा बसेको प्रत्याभूत गर्न पाएका छैनौं। विश्वमा अरु देशका सहर हेरेर चित्त बुझाएर बस्नुपरेको अवस्था छ। 

यति धेरै कला–संस्कृति र मौलिकता हुँदाहुँदै पनि सहर कसरी बिग्रियो ?
सोच खराब भयो। दीर्घकालीन योजना अबलम्बन गरिएन। सहरका योजनामा नेतृत्वले सधैं खेलाँची मात्रै गर्‍यो। योजना तितरवितर बनाउँदा–बनाउँदै सहरको विकास पछि पर्‍यो। अहिले काठमाडौंको विकासलाई हेर्दा पूरै गञ्जागोल भएको छ। यसलाई सुधार्न निकै नै कठिन छ। यही कारण सहरका हरेक पक्षमा अस्तव्यस्त भएको छ। 

यसलाई सुधार्न के गर्नुपर्ला ?
नीति–नियम र काम गर्ने तौरतरिका बदल्नुपर्‍यो। सहरी संस्कृतिको मापदण्ड निर्माण गर्ने र नागरिकलाई पनि सभ्य आचरण भएको बनाउनुुपर्‍यो। हामीले चाहने हो भने धेरै गर्न सक्छौं। यहाँमा सबै ठाउँहरू पर्यटकीय छन्। जता गए पनि पर्यटकलाई लोभ्याउने खालका दृश्य छन्। काठमाडौं उपत्यका एक हिसाबले पर्यटन क्षेत्र नै हो। तर, यहाँको पछिल्लो वातावरणीय पक्षको कुरा गर्दा दिक्क लाग्छ। 

नेपालबाहिर कहाँ–कहाँ पुग्नुभएको छ ?
भारत, बेलायत, अमेरिका, बंगलादेश, इजिप्ट, श्रीलंका, कतारलगायत धेरै देशका सहर घुमेको छु। 

कस्तो लाग्यो त्यहाँका सहर ? 
छिमेकी देश भारतकै कुरा गर्दा विकासमा हामीभन्दा धेरै अघि पुगेको छ। त्यहाँ पनि नेपालजस्तै सभ्यता पाइन्छ। बेलायत पनि विकासको उत्कर्षमा पुगेको छ। त्यहाँ १८ औं शताब्दीदेखि नै विकासको अवधारणा अघि बढेको थियो। युरोपीयन मुलुकको त के कुरा गर्नु ! उनीहरूलाई भेटाउन हामीले सयौं वर्ष कसरत गर्नुपर्छ भन्ने लाग्छ। 

हामी कहाँनिर चुक्यौं ?
हाम्रोमा त्यो किसिमबाट विकास गर्ने सोचाइको विकास भएन। सरोकारवाला निकायबीच सहर विकासको सन्दर्भमा कुनै ऐक्यबद्धता नै भएन। काम गर्दैगर्दा समन्वय पनि भएन। जसका कारण आज हामीले परिकल्पना गरेको सहर बनाउन सकेनौं। 

हामी के पक्षमा अगाडि रहेछौं ?
नेपालका सबै ठाउँहरूमा अद्वितीय सौन्दर्यता छ। यहाँका पुरातात्विक पक्षहरू स्मरणीय र दर्शनीय छन्। यहाँका सहरैपिच्छे फरक विषेशता छन्। हिमाल, पहाड र तराईका ठाउँहरूमा फरकपन भेटिन्छ। यहाँका सहरमा अनुपम कला र संस्कृति लुकेका छन्। संसारमा कहीँ नभएको मौलिकता लुकेको छ नेपालका सहरभित्र।

अरु मुलुकहरूमा भइरहेको सहरीकरणलाई हेर्दा हामी कुन ‘फेज’मा छौं होला ?
हामीकहाँ मिश्रित किसिमको छ। एकैनासे र एकरूपता दिएर विकास गर्नुपर्छ भन्ने सोच छैन। ‘वेस्टर्न मोडल’बाट पूर्वाधार विकास भइरहेका छन् त्यससँगै अरु मुलुकको विकास ‘मोडल’ पनि हामीले ‘कपी’ गरेका छौं। विकासमा नक्कल गर्दा हामीले आफ्नो पहिचान गुमाएको पत्तो पाएका छैनौं। आधुनिकता तथा विकास निर्माणलाई दाजेर हेर्दा हामी लाजमर्दो ‘फेज’मा छौं। 

तपाई कस्तो सहरको परिकल्पना गर्नुहुन्छ ?
सहर बाक्लो हुन्छ, त्यहाँ हरेक मान्छे एक्ला हुन्छन्। घरको माथिल्लो तलाले भुइँतलालाई चिन्दैन। वल्लो घरले पल्लो घरलाई चिन्दैन। छिमेकीले छिमेकी चिन्दैन। म यस्तो सहरको परिकल्पना गर्दिनँ। म बसेको सहरमा भावना, आत्मियता, मानवता, करुणा, दया–माया, सहयोग भेटियोस्। एकले अर्कालाई सम्मान गरोस्। सहरको संरचना पनि अलि भिन्न होस्। त्यहाँ स–साना एकनासे घर हौंन। ति घरमा बस्नेहरूको मन ठूलो होस्। नजिक बगैंचा हौन। आराम गरेर बस्ने खाली ठाउँ प्रशस्त हौन्। पर्यावणीय दृष्टिले पनि त्यो सहर उत्कृष्ट मानियोस्। सहरले हरेक मानवका आवश्यकता बुझोस्। यति भयो भने सहर साच्चिकै सहर लाग्छ होला। 

काठमाडौं कहिले छिर्नुभयो ?
पहिलोपटक २०२३ सालमा काठमाडौं छिरेको थिएँ। त्यतिबेला काठमाडौंको अनुहार निकै बेग्लै थियो। त्यो अनुहार अहिले पनि चित्रित छ। त्यतिबेला काठमाडौं सबैतिर खाली थियो। यातायातका साधन पनि निकै कम थिए। हिउँदमा हुस्सु लाग्थ्यो। पानी जमेको हुन्थ्यो। उपत्यकाभित्र भीड हुने ठाउँ दुइटा थिए– असन र इन्द्रचोक। यी दुई ठाउँ अलि व्यापारिक पनि थिए। त्यहाँ नयाँ ताजा चिजबिच किन्नेहरू पुग्थे। बुद्धिजीवीहरू पनि त्यही गफिरहेका भेटिन्थे। अहिले काठमाडौं निसास्सिएको छ। बितेका २०÷३० वर्षलाई हेर्दा काठमाडौंको मौलिक केही बाँकी रहेन। केन्द्रीकृत भएको सुविधा विकेन्द्रीकृत भयो त भनियो। तर, अझै पनि राज्यका सेवा सुविधा सिंहदरबारको मुठीमै छन्। कलम, पैसा र बन्दुक पनि त्यहीभित्र छन्। 

यहाँको मनपर्ने पक्ष ?
काठमाडौंको कल्चर कहीँसँग मिल्दो छैन। यति धेरै सांस्कृतिक विविधता भएको सहर संसारमा सायदै होलान्। यहाँको हावापानी र सबै किसिमको सेवा–सुविधा पाइन्छ। 

सहरवासीको बानी कस्तो लाग्छ ?
काठमाडौं असभ्यको भीड हो जस्तो लाग्छ। सहरवासीको बानी दिक्दारलाग्दो छ। चेतना शिक्षा भएर पनि अशिक्षित अचेत जस्तो बानी÷व्यवहार देखिन्छ। घरको फोहर गेटमै थुपारिदिने, नियम नमान्ने र आफूलाई जहाँ फाइदा हुन्छ त्यहाँ कुद्ने सहरवासीको बानी छ। अरु त परकै कुरा घर अगाडि सडकमा बलेको सोलार र बिजुलीबत्ती समेत निभाउनुपर्छ भन्ने चेत छैन सहरवासीमा। 

सहरको मिठो लाग्ने खानेकुरा ?
बाल्यकालमा जे बढी खाइन्छ त्यो नै जिन्दगीभर मिठो लाग्छ। मलाई अलि गुलियो मनपर्छ। प्रायः दुध, भात मह मिठो लाग्छ। खसीको मासु, थकाली शैलीमा बनेको गोलभेडाको अचार पनि मनपर्छ। 

मन भएर पनि पुग्न नपाएको ठाउँ ?
मलाई चीन घुम्न मन छ। चीन एउटा रहस्यमय देश पनि हो। त्यहाँको रहस्य हेर्ने रहर पहिलेदेखिकै हो। कुनाकाप्चा घुमेर चीनलाई नजिकबाट बुझ्न मन छ।  प्रस्तुति : शिवहरि घिमिरे






यसमा तपाईको मत


अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

Ncell Footer Ad