१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

स्वास्थ्यवर्द्धक खान्की

बजारमा पाइने खानेकुरा, जो हाम्रो स्वास्थ्यका लागि निकै हानीकारक मानिन्छ। प्राकृतिक रूपमा उपलब्ध केही खान्की स्वास्थ्यका लागि निकै लाभदायक हुन्छन्। यी खानाका फाइदाबारे हामीलाई जानकारी नहुन पनि सक्छ। खासगरी खानाका कारण लाग्ने शारीरिक रोगमध्ये, अनावश्यक मोटोपनले अधिकांशलाई सताउने गरेको पाइन्छ। उचित खानपान, कसरत, आवश्यक निद्रा, शारीरिक आरामको अभावले धेरैले यस्ता समस्या झेल्दै आउनुपरेको चिकित्सक बताउँछन्। भिटामिन, मिनिरल्स, प्रोटिनलगायत तत्व पाइने प्राकृतिक खानाले नै स्वस्थ बनाउन मद्दत गर्छ। 

पोषणविद् डा. अरूण उप्रेतीका अनुसार बजारमा पाइने खानेकुरा खानु भनेको बिष खानु बराबर हो। बालकदेखि वृद्ध उमेरसम्मका लागि खानपान नै फरक हुने भएकाले विशेष ध्यान दिनुपर्ने उनी बताउँछिन्। बजारका जंक फुडभन्दा घरमा नै बनाएका खाना हाम्रो शरीरका लागि निकै फाइदाजनक मानिन्छ। घरमा नै उत्पादन गरेका तरकारी, फलफूल लगायतले शरीर तन्दुरुस्त बनाउन मद्दत गर्छ। शरीरलाई चाहिने पोषणतत्वको मात्रा मिलाएर खानुुपर्ने उनी बताउँछिन्। 

कम चिल्लो प्रयोग
शरीरमा आवश्यक चिल्लोपनभन्दा बेसी चिल्लो पदार्थले शारीरिक समस्या उत्पन्न गर्ने भएकाले सचेत हुनुपर्ने उनी बताउँछिन्। अनावश्यक चिल्लो (फ्याट)ले विभिन्न जटिल रोग निम्त्याउन सक्ने भएकाले यसप्रति विशेष ध्यान दिनुपर्ने उनी बताउँछिन्। हामीले दैनिक रूपमा खाइने खानामा चिल्लो कम गर्न सकियो भने धेरै रोगबाट बच्न सकिने उनी बताउँछिन्। बजारमा उपलब्ध चिल्लो कम भएका तेल पनि प्रयोग गर्न सकिन्छ। चिल्लो भएका खानाको प्रयोग नगर्ने उनी भन्छिन्, ‘एउटै तेलमा बारम्बार तारेको खानेकुरा निकै हानिकारक हुन्,’ उनले भनिन्।

मौसम अनुसार फलफूल
शरीरलाई आवश्यक भिटामिन फलफूलमा पाउन सकिन्छ। त्यसकारण फलफूलको जुस खानुपर्ने चिकित्सक सुझाउँछन्। चिकित्सकका अनुसार यसले शरीरमा अनावश्यक बोसो जम्न नदिने र छालालाई चम्किलो र स्वस्थ बनाइराख्छ। मौसम अनुसारको फलफूल खानुपर्ने उनी डा. उप्रेती बताउँछिन्। फलफूल उत्पादन गर्दा विभिन्न विषादी प्रयोग गरिने भएकाले यसतर्फ ध्यान दिनुपर्ने उनको भनाइ छ। बाहिरबाट ल्याएको फलफूललाई राम्रोसँग पानीमा पखालेर, औषधी राखी पानीमा कम्तीमा आधा घन्टा भिजाएर मात्र खानुपर्ने उनी बताउँछिन्। ‘फलफूल नपकाई (डाइरेक्ट) खाइने भएकाले औषधी राखिएको पानीमा भिजाएर खानुपर्छ,’ उनी भन्छिन्, ‘फलफूलमा प्रयोग गरिएको विषादीले पनि विभिन्न रोग लाग्न सक्ने हुनाले सतर्कता अपनाउन आवश्यक हुन्छ।’

गाउँघरका अन्न
गाउँघरमा कुअन्न भनी हेपिएका खाद्यान्नबाट शरीरलाई चाहिने पोषणतत्व प्रशस्त मात्रामा पाउन सकिन्छ। सामान्यतया गाउँघरमा उपलब्ध हुने मकै, कोदो, फापरलाई दैनिक भान्छामा खानाको परिकारको रुपमा प्रयोग गर्न सकिए स्वस्थ हुन सकिने उनी बताउँछिन्। नेपालीले विदेशी खानालाई प्राथमिकता दिए जसरी स्वदेशी खानालाई महŒव दिए धेरै रोग नलाग्ने उनी बताउँछिन्। ‘खाजा तथा खानाको रूपमा गाउँघरमा उत्पादन हुने अन्न निकै महŒवपूर्ण हुन्छन्, यसको भरपुर प्रयोग गर्न सके शरीरलाई निकै फाइदा हुन्छ,’ उनले भनिन्। 

दुधजन्य वस्तु 
दुध, दही, घिउ, मोइ, पनिरलगायत दुधजन्य वस्तुबाट पनि शरीरलाई क्याल्सियम र पोटासियम पाउन सकिन्छ। क्याल्सियम र पोटासियम हड्डीको लागि फाइदाजनक हुने भएकाले खास हड्डीको लागि निकै लाभदायिक मानिने उनी बताउँछिन्। बलियो हड्डी र तन्दुरुस्त शरीरको लागि दुधजन्य वस्तु नियमित रूपमा प्रयोग गर्न फाइदाजनक हुन्छ। ‘हरेक खानाको अधिक प्रयोगले शरीरमा नकारात्मक असर त गर्छ नै, जसको लागि नियमित र मात्रा मिलाएर खान आवश्यक हुन्छ,’ उनले भनिन्। 

हरियो तरकारी
मौसम अनुसारको तरकारीबाट पनि शरीरलाई आवश्यक भिटामिन, मिनिरल्स पाइने हुँदा हरियो तरकारी खानुपर्ने उनी सुझाउँछिन्। शरीरमा आवश्यक फलाम, भिटामिन, फाइबर पाइने हुनाले हरियो सागसब्जी प्रयोग गर्नु फाइदाजनक मानिन्छ। शरीरलाई आवश्यक पोषण तŒव तरकारीबाट पाइने हुनाले अधिक मात्रामा तरकारी खान उनी सुझाउँछन्। सलादको रूपमा तरकारीलाई खानामा प्रयोग गर्न सके बढी भएको तौल नियन्त्रण गर्न सकिने उनी बताउँछिन्। शरीर तन्दुरुस्तीका लागि तरकारीको निकै महत्व रहेको उनी बताउँछिन्। 

माछा–मासुका परिकार
शरीरलाई आवश्यक प्रोटिन, भिटामिन, मिनिरल्स र कार्बोहाइड्रेट हामीले खाने खानाबाट नै पाउन सकिन्छ। माछामा प्रोटिन पाइन्छ। यस्ता भिटामिन मासुमा मात्र पाउन सकिन्छ। मासुले मांशपेसी, हड्डीको लागि निकै लाभदायक गर्ने उनी बताउँछिन्। माछा, मासु र अन्डाको मात्रा मिलाएर खान सकियो भने शरीर स्वस्थ हुन सकिने चिकित्सक बताउँछन्। मासुमा पाइने प्राकृतिक फ्याटलाई कम गरेर आफूलाई उपयुक्त हुने तरिकाले खानुपर्ने उनी बताउँछिन्। 

प्रशस्त मात्रामा पानी
शरीरलाई आवश्यक पोषणतत्व, मिनिरल्स, भिटामिन, प्रोटिन अन्य खान्कीबाट प्राप्त गर्न सके पनि शरीरलाई पानीको मात्रा अन्यले पूरा गर्न सक्दैन। शरीरमा ८० प्रतिशत पानीको मात्रा हुने भएकाले प्रशस्त मात्रामा पानी आवश्यक हुने उनी बताउँछिन्। बिहान खाली पेटदेखि समय मिलाएर पानी पिउनुपर्ने उनी सुझाउँछिन्। ‘शरीरमा खानाको मात्राभन्दा पानीको मात्रा बढी हुनुपर्छ,’ उनले भनिन्।  

 

प्रकाशित: १७ फाल्गुन २०७५ ०६:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App