८ वैशाख २०८१ शनिबार
खेल

फुटबल विकासमा चीनले सहयोग गर्ने

सम्झौंतापत्रमा हस्ताक्षरपछि एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा (बाँया) र सिएफएका कार्यवाहक अध्यक्ष एवं चिनिया खेलकुद उपमन्त्री जु चाओचाई। तस्बिर सौजन्यः एन्फा

काठमाडौं – चिनियाँ फुटबल संघ (सिएफए) ले नेपाली फुटबल विकासमा सहयोग गर्ने भएको छ। बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पा र सिएफएका कार्यवाहक अध्यक्ष तथा खेलकुद उपमन्त्री जु चाओचाईले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

४ वर्षका लागि भएको सम्झौताअनुसार सिएफए र एन्फाबीच पुरुष तथा महिला टोलीको मैत्रीपूर्ण खेल, पूर्वाधार निर्माण र प्राविधिक सहयोगका लागि नीतिगत सम्झौता भएको हो।

‘चीन विश्व फुटबलको एक बलियो राष्ट्र हो। सिएफए र एन्फाबीचको सम्झौता नेपाली फुटबलका लागि कोसेढुंगा साबित हुनेमा हामी विश्वस्त छाैं,’ शेर्पाले भने, ‘मैले कतारमा सम्पन्न फिफा कंग्रेसमा चाओचाईलाई नेपाल भ्रमणको निमन्त्रणा दिएको थिएँ। उहाँले निकट भविष्यमा नेपाल भ्रमण गर्ने आश्वासन दिनुभएको थियो। त्यो भ्रमणको साइत अहिले जुर्यो।’

‘हामीले विशेषतः मुख्य तीन विधामा नीतिगत सम्झौता गरेका छौं,’ शेर्पाले थपे, ‘जसअनुरूप नेपाल र चीनबीच टोली आदानप्रदान हुनेछ। नेपालमा धेरैभन्दा धेरै अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता आयोजना हुने गरेको छ।  सिएफएले यस्तो प्रतियोगितामा त्यहाँको तेस्रो श्रेणीको टोली अथवा स्थानीय टोलीलाई सहभागी गराउन पहल गर्नेछ। त्यस्तै राष्ट्रिय टोलीहरूबीच पनि विभिन्न समयमा मैत्रीपूर्ण खेलको आयोजना हुनेछ। हामी पूर्वाधारमा धेरै पछि परिसकेका छाैं। त्यसमा पनि सिएफएले सहयोग गर्नेछ भने उनीहरूले हामीलाई प्राविधिक सहयोग पनि उपलब्ध गराउनेछन्।’

शेर्पाले दुई पक्षबीको सम्झौता फुटबल विकासका लागि मात्र नभई समग्र नेपाली खेलकुदमा चीनको सहयोगको  आधार बन्न सक्ने बताए। उनले छिट्टै दुई पक्ष बसेर कसरी अघि बढ्ने र दीर्घकालीन योजना केकस्तो हुने भन्नेमो थप छलफल हुने बताए।

‘अब नेपाली फुटबल विकासका लागि चीनले सहयोग गर्नेछ,’शेर्पाले भने। सम्झौता कार्यक्रमा बोल्दै चाओचाईले एन्फासँगको सम्झौताले उत्साही भएको बताए।

‘हामीले मुख्यतया दुई देशबीचको पुरुष र महिला टोलीका साथै युवा टोली आदानप्रदानका लागि नीतिगत सम्झौता गरेका छाैं,’ चाओचाईले भने, ‘नेपाल र चीनबीच खेलकुदको सहकार्य भएको लामो समय भइसकेको छ। हामीले विभिन्न समयमा पूर्वाधार विकासमा पनि सहयोग गर्दै आएका छाैं। यो त्यसैको निरन्तरता हो।’‘हामी यस विषयमा थप छलफल गर्नेछाैं,’ चाओचाईले थपे, ‘हामीबीच टोली आदानप्रदानबाट सम्झौताको औपचारिक सुरुआत हुनेछ।’

प्रकाशित: १७ फाल्गुन २०७५ ०४:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App