बलात्कारका धेरै घटना चिनेजानेकैबाट

शुक्रबार, १७ फागुन २०७५, ०८ : ४० मिथिलेश यादव

लहान - फागुन ७ गते सिरहाको गोलबजार नगरपालिका–१० घुर्मीघाटकी १२ वर्षीया एक बालिका गाउँकै २१ वर्षीय दीपक राईबाट बलात्कृत भइन्। गाउँलेले राईलाई पक्राउ गरी प्रहरीको जिम्मा लगाए। प्रहरीले जबर्जस्तीकरणी मुद्दामा अदालतबाट १० दिनको म्याद लिएर अनुसन्धान अघि बढाएको छ।

गाउँलेका अनुसार दीपकले त्यसैको अघिल्लो दिन पनि ती बालिकालाई बलात्कार गरेका थिए तर घटनालाई थामथुम पारियो। त्यस्तो घटना नदोहोर्‍याउने सर्तमा मिलापत्र गरिएको भोलिपल्टै उनले सोही प्रकृतिको घटना दोहोर्‍याए। पानी लिन गएका बेला राईद्वारा घुर्मी जंगलमा आफूमाथि जबर्जस्ती गरिएको बालिकाको भनाइ छ। चिच्याउँदै घर फर्केकी पीडित बालिकाबाट घटनाबारे जानकारी पाएपछि छरछिमेकले राईको खोजी गरे। सोही दिन रातको समयमा कपडा र पैसा लिन घर आएका उनलाई गाउँलेले नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरेका थिए। प्रहरीले राईलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ भने बालिकालाई मेडिकल जाँचपछि फर्काइएको छ। गाउँकै एक ज्येष्ठ नागरिकले घटनाबारे बताउँदै भने, ‘यस्ता घटना गाउँसमाजमै मिलाउनु हुँदो रहेनछ, बदमासहरूको मनोबल बढ्ने रहेछ।’

फागुन ७ मै सिरहाकै धनगढीमाई नगरपालिका–१३ भोरलेनीकी १४ वर्षीया बालिका दाउरा खोजन जंगल गएका बेला बलात्कृत भइन्। पीडित बालिकाको उपचार भइरहेको अस्पतालमै पुगेर प्रहरीले अनुसन्धान सुरु गर्‍यो। बालिकाले दिएको बयानका आधारमा प्रहरीले सोही ठाउँका आरोपित २४ वर्षीय श्रीराम यादवलाई पक्राउ गरी जबर्जस्तीकरणी मुद्दामा जिल्ला अदालतबाट १० दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ।

दीपकले अघिल्लो दिन पनि ती बालिकालाई बलात्कार गरेका थिए तर घटनालाई थामथुम पारियो। त्यस्तो घटना नदोहोर्‍याउने सर्तमा मिलापत्र गरिएको भोलिपल्टै उनले सोही प्रकृतिको घटना दोहोर्‍याए।

यी दुई घटना भएको पाँच दिनअघि फागुन १ गते धनुषाको मिथिला नगरपालिका–३ हरिहरपुरकी ११ वर्षीया रेश्मा भनिने दुतिया रसाइलीको बलात्कारपछि जलाएर हत्या गरिएको थियो। छिमेकीको घरमा आयोजित विवाहमा रमाइलो गरिरहेकी रेश्मालाई २२ वर्षीया निरन भनिने निरज जर्घा मगरले खानेकुराको प्रलोभनमा पारेर एकान्तमा लगी बलात्कार गरी जलाएर हत्या गरेको जनाइएको छ। बटेश्वर गाउँपालिका–४ स्थित मामाघरमा बस्ने आरोपित निरजलाई प्रहरीले पक्राउ गरि जबर्जस्ती करणी र कर्जव्य ज्यान मुद्दामा अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको छ।

सिरहामा चालू आर्थिक वर्षको साउनयता मात्र २९ वटा बलात्कारका घटना भए। घटनाका ३९ पीडकमध्ये ३० पक्राउ परे, बाँकी फरार छन्। गत आर्थिक वर्ष २०७४÷७५ मा सिरहा प्रहरीमा २९ वटा बलात्कारका मुद्दा दर्ता भएका थिए। तथ्यांकले विगतको तुलनामा यस वर्ष बलात्कार घटना ह्वात्तै बढेको देखाउँछ। प्रदेश २ का आठ जिल्लामा साउनदेखि पुससम्म मात्र बलात्कारका एक सय ३६ वटा घटना दर्ता भए। घटनाका एक सय ९३ पीडकमध्ये एक सय ६ पक्राउ परे, बाँकी फरार छन्। गत आर्थिक वर्षमा २०७४÷७५ मा प्रदेश २ का आठ जिल्लामा एक सय ७० वटा बलात्कारका मुद्दा दर्ता भएका थिए। तथ्यांकअनुसार विगतको तुलनामा यस वर्ष बलात्कार घटना ह्वात्तै बढेको देखिन्छ। गत वर्ष दुई सय २६ पीडकमध्ये एक सय ५५ पक्राउ परे, बाँकी फरार छन्।प्रहरीमा दर्ता भएको मुद्दामा १६ वर्षमुनिका (१०–१६ वर्ष) सबैभन्दा बढी ६१ जना बालिका बलात्कृत भएका छन् । बलात्कृत हुनेमा १० वर्षमुनिका १५ बालिका छन् । १६ वर्षभन्दा माथिका ६० जना बलात्कृत भएको प्रदेश प्रहरी कार्यालयको अभिलेख छ । एक सय ३६ बलात्कारका घटनामा चिनेजानेकै पीडकको संख्या एक सय ६३ रहेको तथ्यांक छ। बलात्कारका यी घटनामध्ये घरभित्र ९४ र घरबाहिर ४२ भएको तथ्यांक छ। बलात्कारका अधिकांश घटना बेइज्जत हुने डरले सार्वजनिक नै हुँदैन। भएकालाई पनि परिवार र गाउँका पञ्चभलाद्मीले मिलापत्रका नाउँमा प्रहरीसम्म पुग्न दिँदैनन्। केही प्रहरीमा पुगेर उजुरी दिन्छन्। उजुरी दिएका अभियुक्त पनि थोरै मात्र पक्राउ पर्छन्। पक्रिएका पनि प्रमाण नपुगेको भन्दै चाँडै छाडिन्छन्।

पीडितलाई न्यायको सट्टा आहत बनाउने यस्तै सामाजिक र कानुनी रबैयाले समाजमा दिनहुँ बलात्कारका घटना बढिरहेका छन्। सिरहाका एसपी जीवन श्रेष्ठका अनुसार बलात्कारका घटनाको जानकारी तत्काल नआउँदा अभियुक्त पक्राउ गर्न सकस हुन्छ। समयमै जानकारी आएजति घटनाका अभियुक्त पक्राउ परेका छन्। ‘कतिपय घटनामा प्रहरीसम्म जानकारी आइपुग्दा अभियुतm भागिसकेका हुन्छन्,’ उनले भने। गरिबी, अशिक्षा, बेरोजगारी, सामाजिक सञ्जालको दुरुपयोग, महिलाप्रतिको हेपाहा प्रवृत्ति, लागूऔषध दुव्र्यसन, पीडितलाई आर्थिक प्रलभोन, डर, धम्की र खुला सीमाले यस्ता जघन्य प्रकृतिका घटना बढिरहेको सुरक्षा अधिकारीहरू बताउँछन्।

अधिवतmा ओमकुमारी साहका अनुसार युवा पुस्तामा बढ्दो मदिरा सेवन तथा अश्लील फिल्मलगायत सामग्री हेर्ने लत पनि बलात्कारका घटना बढ्नुको एउटा कारण हो। बलात्कार घटनाका अधिकांश पीडित बालिका भएको पाइन्छ। यसमा अभिभावकहरूको सचेत निगरानी आवश्यक देखिन्छ। बलात्कारजस्तो जघन्य अपराधका मुद्दामा न्यायपीडितलाई सहज अनुभूति हुनेगरी न्यायिक प्रक्रिया परिमार्जन हुनुपर्छ। दोषी उम्काउन राजनीतिक र अन्य चलखेल निरुत्साहित गरिनुपर्ने साहको भनाइ छ। बलात्कारका घटनामा पीडितले न्यायमा पहुँच बढाउन सक्नुपर्छ। ‘बलात्कार मुद्दामा न्यायसम्पादन प्रक्रियामा अझ बढी गम्भीरता अपनाउनुपर्छ, जसले दोषीलाई उम्कने छिद्रसमेत नहोस्,’ उनी भन्छिन्, ‘दोषी उम्कने छिद्र बन्द भए बलात्कारका घटना ह्वातै घटेर आउँछ।’ प्रहरीमा पुग्दा महिला प्रहरी अधिकारीबाट बयान नलिइनु, भाषा नबुझ्नुजस्ता समस्याले पीडितहरू झन्झटको अनुभूति गर्न थाल्छन्।

अर्का अधिवक्ता सुनिलकुमार साहका अनुसार प्रहरी अधिकारीहरू दबाब र प्रभावमा नपरी पीडितमैत्री हुनपर्ने बताउँछन्। बलात्कार घटनामा साक्षीको सुरक्षाका लागि सुरक्षा र संरक्षण ऐनको प्रभावकारी कार्यान्वयन हुनुपर्ने उनको भनाइ छ। बलात्कार घटना पीडितलाई मनोसामाजिक विमर्श र सुरक्षित अनुभूति गराउन स्थानीय प्रशासनको भूमिकालाई समेत प्रभावकारी बनाउनुपर्ने चुनौती रहेको उनले बताए। जबर्जस्तीकरणी मुद्दामा निरन्तर सुनुवाइको व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गरी विपक्षीबाट कानुनी व्यवस्थाबाहेक पेसी झार्नेमा कडाइ गरिनुपर्ने उनको भनाइ छ।

मेडिकल रिपोर्टमै ‘चलखेल’
बलात्कार घटनामा मेडिकल रिपोर्टलाई अदालतले बलियो प्रमाणका रूपमा लिन्छ। तर डाक्टरहरू यसलाई पूर्ण प्रमाण मान्न नहुने बताउँछन्। ‘पीडित समयमै अस्पताल नआउँदा र अनुभवी चिकित्सक नभएपछि कहिलेकाहीँ मेडिकल रिपोर्टमा त्रुटि हुन सक्छ।’ जिल्ला अस्पताल सिरहाका प्रमुख डा. नागेन्द्र यादव भन्छन्। बलात्कारपछि तत्काल पीडितलाई अस्पताल नपुर्‍याउँदा प्रमाण नष्ट भइसकेको हुन्छ, जसका कारण रिपोर्ट ‘नेगेटिभ’ आउँछ।

प्रहरीले पठाएको फाराम हो÷होइन भन्ने प्रश्नमा अधिकतर उत्तर पीडितको विपक्षमै जान्छ। ‘कतिपय अवस्थामा संघर्षका चिह्न, पीडितले लगाएको लुगाको अवस्था, घाउ वा चोटका आधारमा रिपोर्ट दिनुपर्छ,’ उनी भन्छन्। बलात्कार भएको पाँच÷छ घन्टाभित्र अस्पताल पुर्‍याउँदा पीडितको पक्षमा शतप्रतिशत मेडिकल रिपोर्ट आउँछ भने त्यसपछि बिस्तारै प्रमाणमा ह्रास आउँदै जान्छ। ‘बलात्कार भएको परीक्षणका लागि विज्ञ डाक्टर आवश्यक हुन्छ, जुन यस अस्पतालमा छैन,’ डा. यादव भन्छन्, ‘हामीसँग त्यो विज्ञता त छैन तर भएको ज्ञान र अनुभवको अधिकतम प्रयोग गरेर रिपोर्ट तयार गर्छाैं।’ कहिलेकाहीँ कुनै साथीबाट त्रुटि भए कारबाही भोग्नुपर्ने चुनौती पनि उत्तिकै रहने उनको भनाइ छ। उनका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बलात्कारको घटनामा गलत प्रतिवेदन (मेडिकल रिपोर्ट) दिएको आरोपमा जनकपुर अञ्चल अस्पतालका डा. विजयकुमार सिंह र डा. रम्भा गोइतविरुद्ध मुद्दा दायर गरी कारबाही चलाएको छ।







यसमा तपाईको मत

अन्य समाचार

दमौलीमा खुल्यो जेसीबीको नयाँ आउटलेट

दमौलीमा खुल्यो जेसीबीको नयाँ आउटलेट

नेपालको लागि जेसीबी ब्रान्डका अर्थमुभिङ तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले तनहुँको दमौलीमा आफ्नो ‘अथराइज्ड रिटेल आउटलेट’ (एआरओ)...

अब सुजुकीको ‘एस–प्रेसो’ नेपालमा (भिडियो )

अब सुजुकीको ‘एस–प्रेसो’ नेपालमा (भिडियो )

नेपालका लागि सुजुकी ‘फोर–ह्विलर’ तथा सिजी होल्डिंग्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले नेपाली बजारमा बहुप्रतिक्षित मिनी एसयुभी ‘एस–प्रेसो’, ‘माई फस्र्ट एसयुभी’...

रोकिएन टिकटकको क्रेज - प्रयोगकर्ता झन् बढ्ने क्रममा

रोकिएन टिकटकको क्रेज - प्रयोगकर्ता झन् बढ्ने क्रममा

टिकटकको डाउनलोड संख्या १ अर्ब ५० करोड पुगेको छ! ...

“शिवम् कृति समारोह २०७६” सम्पन्न

“शिवम् कृति समारोह २०७६” सम्पन्न

शिवम् सिमेन्टस लि.ले “शिवम् कृति समारोह २०७६” भव्यरुपमा सम्पन्न गरेको छ । ...

अर्घाखाँची सिमेन्टद्धारा टिभीसी प्रतियोगिता सार्वजनिक

अर्घाखाँची सिमेन्टद्धारा टिभीसी प्रतियोगिता सार्वजनिक

अर्घाखाँची सिमेन्टले आइतबार टेलिभिजनको लागि कमर्सियल (विज्ञापन) को अवधारणाको प्रतियोगिता सार्वजनिक गरेको छ । ...

कलरओएस सिक्सका ६ बेजोड फाइदा

कलरओएस सिक्सका ६ बेजोड फाइदा

कलरओएस सिक्सका साथमा रेनोटू एफ नेपालमा सार्वजनिक भएसंगै उपभोक्तामा यो ओएसको क्षमता र यसबाट कसरी सर्वाधिक फाइदा लिन सकिन्छ भन्ने...

घोराही सिमेन्ट उद्योग सम्मानित

घोराही सिमेन्ट उद्योग सम्मानित

नेपालभरका विभिन्न उद्योगमध्ये सबैभन्दा धेरै मूल्य अभिबृद्धिकर बुझाएबापत घोराही सिमेन्ट उद्योग लगातार दोस्रोपल्ट सम्मानित भएको छ । ...

ओरिजिनल विन्डोज र क्रयाक गरेको विन्डोज - फरक के ?

ओरिजिनल विन्डोज र क्रयाक गरेको विन्डोज - फरक के ?

क्रयाक गरेको विन्डोज प्रयोग गर्नुको बेफाइदा के त ? ...

Ncell Footer Ad