६ वैशाख २०८१ बिहीबार
राजनीति

अधिकारीको अन्तिम सम्बोधन

ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा नेकपा नेता रवीन्द्र अधिकारीले तेह्रथुमको आठराई गाउँपालिकास्थित चुहानडाँडामा गरेको सम्बोधन नै उनको अन्तिम औपचारिक काार्यक्रम बन्न पुगेको छ। उनले कार्यक्रममा हवाई मैदान बनाउनेदेखि देशको समृद्धिबारे बोलेका थिए। उनको सम्बोधनको सम्पादित अंश –

पाँचथरमा अहिले हामी एअरर्पोटको सन्दर्भ चलाउन हैन बनाउन आएका छौं। मेरो साथमा चुहाननडाँडा एयरपोर्टको नक्सा, स्टिमेट सबै छ। पहिला एअरपोर्ट बनाउन २९ करोड भने पनि अहिले हाम्रो ८७ करोड खर्च हुने स्टिमेट छ। म यति बेला दुईवटा सन्र्दभमात्र बताउन चाहन्छु। एउटा वर्तमान सरकार बनिसकेपछि मुलुकको आर्थिक विकास र समृद्धिको यात्रालाई सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरिरहनु भएको छ। हामी त्यो मन्त्रिमण्डलमा उहाँको नेतृत्वमा काम गरिरहेका छौं। यो ठाउँ उहाँको जन्मस्थल भएका कारणले मात्र होइन, यो ठाउँ यस क्षेत्रका लागि उपयुक्त भएकाले पनि हामीले यहाँ एअरपोर्ट बनाउने सन्दर्भमा छलफल ग-यौं।

सम्माननीय प्रधानमन्त्रीज्यूले हामीलाइ भन्नु भो– त्यसको सन्दर्भमा के कस्तो लाग्छ ? त्यसको सबै डिटेल अध्ययन गर्नुस्। अघिल्लो अध्ययनका अधारमा हामीले फेरि अध्ययन ग-यौं। अध्ययनगर्दा खेरी आज हामी नक्सा र सबैसहित एउटा अध्ययन पूरा गरिसकेपछि सम्माननीय प्रधानमन्त्रीज्यूले अरु होइन पर्यटनमन्त्री आफैं गएर चुहानडाँडा हेरेर आउनुहोस् भन्नुभयो। त्यसपछि आज हामी यो ठाउँको स्थलगत अध्ययनको लागी आएका छौं। यहाँ एअरपोर्ट बनाउन उपयुक्त छ। किनभने यहाँ केहीले छेक्दैन।सबै हिसाबले यो उपयुक्त हुन्छ भन्ने हामीले ठानेका छौं। यस अर्थमा म तपाईंहरुलाई भन्न चाहन्छु, सम्माननीय प्रधानमन्त्रीज्यूको सन्देश पनि भन्न चाहन्छु। र सरकार यो ठाउँमा एअरपोर्ट बनाउन प्रतिबद्ध छ। त्यस कारण हामी यसलाई अगाडि बढाउन तपाईंहरु माझ आएका छौं। तपाईंहरुको साथ छ, सबै मिलेर हामी यो कामलाई अघि बढाउने छौं।

दोसो कुरा पानी परेको छ। मौसम खराब भएको छ। हामी काठमाडौं फर्कनुपर्ने छ। सरकार अहिले आफ्ना काम अगाडि बढाइरहेको छ। तर सधैं अस्थिरताले फाइदा लिएकाहरु, मुलुकको अव्यवस्थाबाट फाइदा लिएकाहरु, मुलुकलाई विकास र समृद्धिको यात्रामा अगाडि जान नदिनेहरु आत्तिएका छन्। केही भएन, केही भएन भन्दै कराइरहेका छन्। तर म भन्न चाहन्छु, वर्तमान सरकार निर्माण भएपछाडि मुलुकको आर्थिक विकास र समृद्धिको यात्रामा उल्लेख्य कामहरु भएका छन्। स्थानीय सरकार, प्रदेश सरकार, संघीय सरकारको समन्वय, तीनवटै सरकारको सञ्चालन, तीनवटै सरकारको संगठनात्मक व्यवस्थापन, तीनवटै सरकारको कानुनी व्यवस्थाहरु सबै हामीले बनाएका छौं। तीनवटै सरकारले राष्ट्र र जनताको काम गरिरहेका छन्। परिणमहरु देखिइरहेका छन्। अझै हामी प्रभावकारी ढंगले काम गर्नुपर्ने छ। सरकारले काम गरिरहेको छ। काम भएको छैन, केही भएको छैन भनेर अफवाह मात्र फैलाउने खोजिएको छ। म भन्न चाहन्छु, यो ठाउँमा मध्यपहाडी लोकमार्गको काम प्रभावकारी ढंगले अघि बढिरहेको छ। हामी यहाँ एअरपोर्ट बनाउँदै छौं। देशभरिका एअरपोर्टलाइ सुधार गर्दैछौं। अन्तर्राष्ट्रियस्तरका विमानस्थल निर्माण गरिरहेका छौं। पूर्वाधार निर्माण, जल विद्युत् विकास, रोजगारी, आर्थिक विकास, आर्थिक वृद्धिदर, उत्पादन बढाउने जस्ता सबै क्षेत्रमा काम बढेकोे छ। शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि काम बढेको छ। यस हिसाबले स्थानीय सरकारले पनि प्रभावकारी ढंगले काम गरिरहेको छ। प्रदेश सरकारले गरेको छ, संघीय सरकारले गरेको छ। अब मुलुकको आर्थिक विकास र समृद्धिलाई कसैले रोक्न सक्दैन। कसैको गफले रोक्न सक्दैन। कसैको अवरोधले रोक्न सक्दैन। यो दिशामा हामी अगाढि बढ्छौं। यो सरकारको सन्देश हो, यो सरकारको प्रतिवद्धताहो।

म यति कुरा तपाईंहरुसँग राख्न चाहन्छु। यहाँ आउँदा तपाईंहरुले स्वागत गर्नुभयो। यसका लागि म धन्यावाद दिन चाहन्छु। तपाईंहरुले चासो व्यक्त गर्नुभएको छ। त्यसमा म एकदमै धन्यवाद दिन चाहन्छु। र, अन्तिममा अब हामी के गर्छौं भने आजको अध्ययन पछाडिको प्रक्रिया बताउँछु। तपाईंहरुले फलोअप गर्नु होला। अब वातावरणीय प्रभाव मूल्यांकन गर्नुपर्दछ। जुन रिपोर्ट बनेको छ। अब वातावरणीय प्रभाव मूल्यांकन प्रक्रिया अगाडि बढाउनु पर्छ। एक साताभित्र हामी यो प्रक्रिया अगाडि बढाउँछौं। त्यसपछि ठाउँ कति लिने हो त्यसको सबै मूल्यांकन गरेर जग्गा अधिग्रहण गर्ने प्रक्रियामा हामी जान्छौं। जग्गा अधिग्रण गर्ने प्रक्रियामा चाहिँ यहाँको जिल्ला प्रशासनले त सहयोग गर्ने नै छ, गाउँपालिका र तपाईंहरु सबै साथीले सहयोग गर्नु हुनेछ। हामीले यहाँको जग्गा अधिग्रहण गर्दा जति मूल्य पर्ने हो त्योभन्दा कम दिँदैनौं। जति मूल्य पर्ने हो त्यति दिन्छौं। बढी पनि दिँदैनौं। कति मूल्य पर्ने हो त्यो भन्दा कम दिँदैनौं र बढी पनि दिँदैनौं। जग्गा सरकारले किन्छ र त्यो पैसाले तपाईंहरुलाई अन्य व्यवस्थापन गर्नुपर्छ। अनि हामी यहाँ एअरपोर्ट बनाउने सुरु गर्छाैं। जब वातावरणीय प्रभाव मूल्यांकन अनि जग्गा अधिग्रहण गर्ने काम सुरु भइसकेपछि डिटेल डिपिआरको आधारमा कन्ट्याक प्रक्रियामा जान्छौं होइन त धु्रवजी (मञ्चमा रहेका इन्जिनियरलाई सोध्दै)। मैले त भाषण गर्ने हो काम गर्ने साथीहरु यहाँ छन्। उहाँहरुलाई साक्षी राखेर अगाडि बढ्ने हो।

त्यसपछाडि ठेक्का पक्रियामा जान्छौं। प्राविधिकले तीन वर्ष लाग्छ भन्नु भाको छ। म दुई वर्षमा काम सक्नुपर्छ भन्ने पक्षमा छु। जे होस् दुईदेखि तीन वर्षका बीचमा यहाँको काम सम्पन्न गर्छाै।  म  तपाईहरुलाई बताउन चाहन्छु। अहिले हामीले देशभरमा ३४ वटा विमानस्थला सञ्चालनमा ल्यायौं। एअरपोर्टहरु बन्द भएका थिए। पूर्वतिरका पनि बन्द थिए। चाहे भोजपुरको भन्नुस्। अहिले हामी देशभरका एअरपोर्ट सञ्चालमा ल्याएका छौं। यो एअरपोर्ट पनि निर्माणपछि सञ्चालनमा आउने छ। यहाँबाट विराटनगर, काठमाडौंको बाटो हुनेगरी सञ्चालन गर्नेछौं। सरकारको तर्फबाट यही प्रतिबद्धता व्यक्त गदर्छु। ढुक्क हुनुहोस्। तपाईंहरु यहाँको व्यवस्थापनमा सहयोग गर्नुस् भन्दै म बिदा हुन चाहन्छु। (प्रस्तुति गिरिराज बाँस्कोटा/ताप्लेजुङ)

प्रकाशित: १७ फाल्गुन २०७५ ०२:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App