coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

प्रजातन्त्रमाथि आक्रमण भइरहेको छ : देउवा

सहिद टिकाराज आरणको अर्ध कदको सालिकमा माला चढाउँदै देउवा। तस्बिर : नागरिक

रामेछाप - नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको प्रजातन्त्रमाथि अझै पनि प्रत्यक्ष र अप्रत्यक्षमा निरन्तर आक्रमण भइरहेको बताएका छन्। बिहीबार जिल्लाको मन्थली नगरपालिका ९ पुरानागाँउमा सहिद टिकाराज आरण स्मृति प्रतिष्ठानको आयोजनामा द्वन्द्वको समयमा विद्रोही पक्षबाट हत्या गरिएका टिकाराज आरणको स्मृतिमा निर्माण गरिएको शालिक अनावरण गर्दै उनले मुलुकको प्रजातन्त्र अझै खतरामा रहेको बताएका हुन्। सभापति देउवाले विधयेकको नाममा जनताको प्रजातान्त्रिक अधिकार खोस्ने काम भइरहेको बताए। सहिदको रगत र आफूहरूको लामो योगदानले जन्मिएको प्रजातन्त्र खतरामा रहेकोले उक्त कुरा कांग्रेसलाई सह्य नहुने उनको धारणा थियो।

कार्यक्रममा बोल्दै कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकले टिकाराज आरण कांग्रेसका इतिहास भएकाले उनको स्मृतिमा बनेको शालिक इतिहासको प्रतिबिम्ब रहेको बताए। लोकतान्त्रिक पार्टीहरूको इतिहासमा अब्बल पार्टीका रूपमा रहेको कांग्रेसले राणा, पञ्चायत र राजासँग लड्दै अनुदार प्रवृत्तिका माओवादीसँग पनि लडेर मुलुकमा शान्ति स्थापना कायम गर्न ठूलो योगदान पु¥याएको बताए। सरकार दुईतिहाइको दम्भ बोकेर हिँडे पनि जनता यतिबेला निराश रहेको बताए। जनताको निराशालाई आशामा परिवर्तन गर्न मुलुकमा कांग्रेस नै अपरिहार्य रहेकोले त्यसतर्फ पार्टी लागिपर्ने उल्लेख गरे।

तत्कालीन विद्रोही पक्षले कांग्रेसका नामा टिकाराज आरणलाई २०५७ साल फागुण १६ गते आफ्नै घरबाट अपहरण गरी यातना दिएर गोली हानी हत्या गरेका थिए। हत्या गरिएको दिनको स्मृतिमा बिहीबार आयोजित सो कार्यक्रममा जिल्लास्तरीय नेताहरूले समेत कांग्रेसको राजनीतिमा आरणले पु-याएको योगदानको चर्चा गरेका थिए। न्यायको आशा गर्दा गर्दै पनि पीडितहरू उपेक्षित बन्नु परिरहेको अवस्थामा मनमा पीडा भरेर भए पनि बाहिर हाँसो देखाउनु परेको कांग्रस नेता तथा सहिद टिकाराजका छोरा ज्ञानेन्द्र आरणले बताए।

प्रकाशित: १७ फाल्गुन २०७५ ०२:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App