७ वैशाख २०८१ शुक्रबार
अर्थ

विमानस्थलमा केन्द्रित थिए मन्त्री अधिकारी

काठमाडौं – फागुन १३ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले ट्विट गरेका थिए, ‘चैत्र १८ देखि त्रिभुवन विमानस्थलको स्तरोन्नति थालिँदै’ भनेर। 

यो ट्विट मन्त्री अधिकारी आफैंले भने लेखेका थिएनन्। सोही दिन उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अवलोकन गरेका थिए। धावनमार्गको स्तरोन्नति गर्न ठेक्का लागिसकेको विमानस्थलको काम चैत १८ बाट सुरु गर्ने भनेर उनले बोलेका थिए। त्यही बोलीलाई लिएर एक अनलाइनले बनाइएको समाचार नै उनको अन्तिम ट्विट बन्यो।

अन्तर्राष्ट्रिय विमानस्थल अवलोकनको एक दिनपछि उनी तेह्रथुमस्थित आठराई गाँउपालिकाको चुहानडाँडामा प्रस्तावित विमानस्थलको स्थलगत अवलोकनका लागि पुगेका थिए। बिडम्बना ! सोही अवलोकनबाट फर्किने क्रममा हेलिकोप्टर दुर्घटनामा परी उनको ज्यान गयो।

दुर्घटना भएको ठ्याक्कै १५ दिनअघि स्तरोन्नति भएको खोटाङकोे थामखर्क विमानस्थल मन्त्री अधिकारीले नै उद्घाटन गरेका थिए। विमानस्थलको रनवे, जहाज पार्किङस्थल, पक्की संरचना, रङरोगन पूरा गरेर नियमित उडानको लागि उद्घाटन गरिएको थियो। उनले थामखर्क पुगेर भनेका थिए, ‘मन्त्रालय सम्हाल्नुअघि १२–१३ वटा विमानस्थलमा मात्रै नियमित सेवा चलिरहेको थियो। आवश्यक पूर्वाधारको व्यवस्था गरेर अहिले २८ वटा आन्तरिक विमानस्थलमा नियमित सेवा पुनः सुरु भएको छ।’ 

उनले दुई महिनापछि खोटाङकै अर्को विमानस्थल लामिडाडाको पनि स्तरोन्नति सुरु गरेर नियमित उडान गराउने प्रतिबद्धता जनाएका थिए। उडान गर्न सक्ने अवस्थामा देशभर ३२ वटा विमानस्थल रहेकामा आवश्यक पूर्वाधार तयार गरेर निकट भविष्यमा ती सबै विमानस्थलमा नियमित सेवा सुरु गर्ने लक्ष्य रहेको मन्त्री अधिकारीले सुनाएका थिए।

प्रत्येक हप्ता जसो कुनै न कुनै विमानस्थलको काममा संलग्न हुन्थे मन्त्री अधिकारी। संयोग मान्नुपर्छ, उनको ज्यान विमानस्थलकै कार्यको सिलसिलामा गयो। 

उनी पर्यटनमन्त्री बनेको आउने चैत ३ गते एक वर्ष पुग्छ। यो अवधिमा उनको अधिकांश ध्यान बन्द रहेका विमानस्थल सञ्चालन गर्ने, भइरहेका विमानस्थलको स्तरोन्नति गर्ने, निर्माणाधीनलाई तीव्र गतिमा अगाडि बढाउने तथा नयाँ विमानस्थल निर्माणलाई जोड दिनमा थियो। 

मन्त्री अधिकारीको ध्यान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुधारमा पनि थियो। उनले नै विमानस्थललाई २१ घन्टा सञ्चालनमा ल्याएका थिए भने निकट भविष्यमै विमानस्थललाई चौबीसै घन्टा सञ्चालन गर्ने तयारी गर्दै थिए।

वर्षौंदेखि रोकिएको विमानस्थलको रनवे तथा पार्किङस्थल निर्माणको ठेक्का लगाउनदेखि विमानस्थललाई बुटिक एअरपोर्ट बनाउन मन्त्री अधिकारी लागेका थिए। ‘वर्षौंदेखि विमानस्थलको काम अड्केर बसेको थियो,’ केही साताअघि राजधानीमा भएको एक कार्यक्रममा उनले भनेका थिए, ‘त्यस्ता रोकिएका धेरै काम मैले अघि बढाएको छु।’

हुन पनि हो, अधिकारी चैत ३ गते पर्यटनमन्त्री बनेपछि विमानस्थलको क्षेत्रमा प्रगतिका धेरै काम भएका छन्। जस्तो कि राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल।

यो विमानस्थल सन् २०१५ जनवरीमा सन् २०१७ मा सक्ने गरी ठेक्का लगाइएको थियो। तर, सम्पन्न गर्नुपर्ने मितिसम्ममा त्यसको भौतिक प्रगति २६ प्रतिशत मात्रै भयो। मन्त्री अधिकारीले पदभार सम्हालेपछि यसको निर्माणमा ध्यान दिए। उनी मन्त्री भएको एक वर्ष नपुग्दै प्रगति २६ बाट बढेर ७० प्रतिशत पुग्यो। अबको केही महिनामै विमानस्थल सञ्चालनमा ल्याउने योजनामा थिए मन्त्री अधिकारी।

यो मात्रै होइन, पोखरा विमानस्थलको स्तारोन्नति गरेर क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउने काममा पनि आशालाग्दो प्रगति भएको छ। उक्त विमानस्थलको पनि स्तरोन्नतिको काम झण्डै ३० प्रतिशत वर्ष दिनभित्रमा भइसकेको छ। मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायका अनुसार मन्त्री अधिकारीको रातदिनको लगावको कारण कामले गति लिएको हो। मन्त्री अधिकारी प्रत्येक दिन विमानस्थल निर्माणको प्रगति बुझ्ने गर्थे।

त्यस्तै, प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय निजगढ विमानस्थल पनि दशकअघिदेखि चर्चामा मात्रै सीमित थियो। उनले नै त्यसलाई अगाडि बढाए। धेरै रुख काटिने भयो भनेर केही विवाद पनि आयो। वातावरणको कम क्षतिमा विमानस्थल बनाउने भन्दै मन्त्री अधिकारीले इआइए समेत स्वीकृत गराइसकेका थिए। 

दुर्घटनामा नपरेको भए बिहीबार मन्त्री अधिकारी जर्मन जाने कार्यक्रम तय भएको थियो। जर्मनको म्युनिख विमानस्थलसँग निजगढ विमानस्थल निर्माणको विषय टुंग्याएर निर्माण कार्य अगाडि बढाउने योजनामा थिए। म्युनिखलाई विमानस्थल निर्माण गर्न दिने विषयमा यसअघि छलफल भएको थियो। त्यसैले त उनले एक महिनाअघि राजधानीमा भएको एक कार्यक्रममा भनेका थिए, ‘बढीमा तीन महिनाभित्रमै विमानस्थलको टुंगो लाग्छ।’

अधिकारी मन्त्री भएपछि चन्द्रगढी, सिमरा लगायत विमानस्थलमा रात्रिकालीन उडान समेत थालियो। अन्तर्राष्ट्रिय विमानस्थलमा पनि यात्रुको हितमा हुने गरी सुधारका काम भए। विमानस्थलमा भएका सुधार कार्यले सामाजिक सञ्जालमा समेत उनले वाहवाही पाए। 

नेपाल नागरिक उड्डयन प्राधिकरणमा उपमहानिर्देशक राजन पोखरेलका अनुसार विमानस्थलको काममा मन्त्री अधिकारी निकै सक्रिय थिए। ‘विकासमा आवश्यक भनेको पूर्वाधार हो, त्यसको तयारको लागि हामी जुट्नुपर्छ,’ मन्त्री अधिकारीलाई स्मरण गर्दै पोखरेलले भने, ‘त्यसैले त उहाँ आएपछि विमानस्थल क्षेत्रमा यति धेरै काम हुन सक्यो।’ 

मन्त्री अधिकारीले विमानस्थलबाहेक अन्य क्षेत्रमा पनि आसलाग्दो काम गरेका थिए। कतिपय कामको भने नतिजाको पर्खाइमा थिए उनी। सन् २०२० मा नेपालमा २० लाख पर्यटक भित्र्याउन पनि उनी उत्तिकै सक्रिय थिए। त्यसैले त कार्यक्रममा भन्ने गर्थे, ‘पूर्वाधार बनाएर सुविधा दिन सके २० होइन, २५ लाख पर्यटक भित्र्याउन सक्छौं।’ 

उनको यो आत्मविश्वासले त वाइड बडी घोटला काण्डमा उनको नाम मुछिँदा समेत डगमगाएनन्। उनले भनिरहे, ‘वाइड बडीमा मेरो संलग्नता छैन, मलाई लागेको आरोप छानबिनबाट आरोपमै सीमित हुनेछ।’ उनीमाथि लागेको आरोपको नतिजा आउन बाँकी छ। त्यो नतिजाअघि नै उनी सधैंका लागि बिदा भएका छन्।

 

प्रकाशित: १७ फाल्गुन २०७५ ०१:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App