७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

भारत–पाक तनाव थामिने संकेत

भारत - केही दिनयता भारत र पाकिस्तानबीच चलिरहेको द्वन्द्व थामिने हुने संकेत देखिएको छ। पाकिस्तानले बुधबार नियन्त्रणमा लिएका भारतीय लडाकु विमानका पाइलट अभिनन्दनलाई शुक्रबार रिहा गर्ने निर्णय बिहीबार गरेसँगै दुई मुलुकबीचको तनाव थामिने संकेत देखिएको हो। फरवरी १४ मा भारत प्रशासित जम्मुकस्मिरको पुलवामा भारतीय सुरक्षाबलमाथि भएको आत्मघाती हमलामा ४० भन्दा बढी सुरक्षाकर्मीको मृत्यु भएपछि दुई मुलुकबीच विवाद चर्किएको हो। हमलामा पाकिस्तानको हात रहेको दाबी भारतको छ।

घटनामा पाकिस्तानको हात रहेको भन्दै भारतले मंगलबार पाकिस्तानको बालाकोट क्षेत्रमा हवाई हमला गरेको थियो। त्यसको जवाफमा बुधबार बिहान पाकिस्तानले भारतीय वायु सेवाका दुई विमानलाई खसालिदिएको दाबी गरेको थियो। पाकिस्तानले हमलामा प्रयोग गरिएका भारतका दुइटा विमान खसालेको दाबी गरे पनि भारतले भने मिग–२१ लडाकु विमान पाकिस्तानी हमलामा दुर्घटना भएको र पाइलट हराइरहेको जनाएको थियो। भारतले पनि उडानमा रहेको एउटा पाकिस्तानी लडाकु विमान खसालिदिएको दाबी गर्दै आएको छ। पाकिस्तानले भारतीय पाइलट अभिनन्दनलाई नियन्त्रणमा लिएको पुष्टि गर्दै उनलाई सम्मानका साथ राखेको भिडियो सार्वजनिक गरेको थियो।

पाकिस्तानले भारतीय लडाकु विमान खसालेर चालकलाई नियन्त्रणमा लिएपछि दुई मुलुककाबीचको तनाव थप चर्किने अनुमान गरिएको थियो।

तनाव कम गर्ने प्रयासमा छौं : पाक प्रधानमन्त्री
पाकिस्तानी प्रधानमन्त्री इमरान खानले बिहीबार संसद्को संयुक्त सत्रलाई सम्बोधन गर्दै भारतीय विमानका पाइलटलाई शान्तिको सन्देश दिँदै छोड्न लागेको बताए। खानले पाकिस्तान तनाव कम गर्ने दिशामा केन्द्रित रहेको उल्लेख गर्दै भारतीय चालकलाई सुरक्षित छोडिदिने बताएका हुन््। प्रधानमन्त्री खानले भारत सरकारलाई पत्र लेखेर विदेश मन्त्रीबीच भेटको प्रस्ताव गरे पनि कुनै जवाफ नपाएको बताए। उनले भारतमा चुनावी सरगर्मी बढेकाले कुनै जवाफ नआएको हुनसक्ने बताए। खानले पुलवा घटनायता भारत र पाकिस्तानबीच बढेको तनावमा भारतीय मिडियाले गैरजिम्मेवारी देखाएको आरोप पनि लगाए। उनले भने, ‘उनीहरु (भारतीय मिडिया) लाई युद्धको परिणाम के हुन्छ भन्ने थाहा छैन, हाम्रा मिडियाले ७० हजार मानिसको मृत्यु आतंकका कारण भएको देखेका छन्।’ खानले भारतीय पाइलटलाई पाकिस्तानी सेनाले नियन्त्रणमा लिएपछि आफूले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग सम्पर्क गर्न खोजेको तर उनले कुरा गर्न नचाहेको पनि बताए। ‘जसरी भए पनि तनाव कम होस् भन्ने हाम्रो प्रयास छ,’ संसद्लाई सम्बोधन गर्दै खानले भने। खानले मोदीलाई पनि सम्बोधन गर्दै भने, ‘कसैलाई पनि युद्धको बाटोमा नधकेलियोस्, भारतलाई भन्न चाहन्छु, यसलाई अघि बढ्न नदेऊ नत्र जवाफ दिन हामी बाध्य हुनेछौं।’

छिट्टै शुभ समाचार सुन्न पाइने छ : ट्रम्प
भारत र पाकिस्तानबीच तनाव बढ्दै गइरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले छिट्टै शुभ समाचार सुन्न पाइने विश्वास व्यक्त गरेका छन्। उत्तर कोरियाली नेता किम जोङ उनसँग भियतनाममा शिखर वार्तापछि ट्रम्पले भने, ‘भारत र पाकिस्तानकाबीच जारी संघर्षबारे राम्रो समाचार मिलेको छ, आशा गरौं तनाव अन्त्य हुने छ।’ उनले दुई देशबीच दशकौेंखि चलिआएको विवाद समाधान गर्न सफल हुने विश्वास व्यक्त गर्दै यस्तो बताएका हुन्।

भारत–पाक तनाव बढेपछि अमेरिकी विदेशमन्त्री माइक पम्पियोले पनि दुवै मुलुकलाई संयमता अपनाउन आग्रह गरेका छन्। पम्पियोले बिहीबार दुवै मुलुकका नेतालाई चुनौती बढ्ने किसिमका कुनै पनि सैन्य प्रतिक्रिया नजनाउन आग्रह गरेको रोयटर्सले जनाएको छ।
यसैगरी चीन, बेलायत, जर्मनीलगायत मुलुकले पनि भारत र पाकिस्तानलाई संयमता अपनाउन आग्रह गरेका छन्। नेपालले पनि बुधबार एक विज्ञप्ति जारी गर्दै दुवै मुलुकलाई वार्ताको माध्यमबाट समस्याको समाधान खोज्न आग्रह गरिसकेको छ।

मध्यस्थता गर्न रुस तयार
रुसका विदेशमन्त्री सेरगई लभरोपले बिहीबार तास समाचार एजेन्सीसँग कुरा गर्दै मस्को भारत र पाकिस्तानकाबीच मध्यस्थताको भूमिका निर्वाह गर्न तयार रहेको बताएको रोयटर्सले जनाएको छ। यस विषयमा सोधिएको प्रश्नको जवाफ दिँदै सेरगईले भनेका छन्, ‘उनीहरु (भारत–पाकले चाहन्छन् भने अवश्य हामी मध्यस्थताका लागि हामी तयार छौं।’ रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखरोभाले पनि भारत—पाक तनाव साम्य पार्न मस्को जस्तोसुकै सहयोग गर्न तयार रहेको जनाएका छन्। ‘भारत र पाकिस्तानबीच लाइन अफ कन्ट्रोलमा बढिरहेको तनावबाट हामी चिन्तित छौं, यसले सीधा सैन्य द्वन्Þद्वको खतरा बढिरहेको छ,’ उनले भने।

पाइलट रिहा गर्ने निर्णय सद्भाव प्रयास
भारतको पन्जाब राज्यका मुख्यमन्त्री क्याप्टेन अमरेन्द्रर सिंहले पाकिस्तानले नियन्त्रणमा लिएका भारतीय पाइलटलाई छोड्न लागेको विषयमा खुसी व्यक्त गर्दै ट्विट गरेका छन्। सिंहले आफूले पहिले नै पाइलटलाई छाड्न माग गरेको उल्लेख गर्दै पाकिस्तानले गरेको निर्णय सद्भावनातर्फको एउटा प्रयास भएको र यो स्थायी हुने विश्वास व्यक्त गरेका छन्।

भारतका पूर्वक्रिकेटर एवं पन्जाब राज्यका मन्त्री नवजोतसिंह सिद्धुले पनि पाकिस्तानी प्रधानमन्त्रीको सद्भावको संकेतले करोडौं मानिसमा खुसी छाएको बताए। भारतीय सेना, नेभी र वायु सेनाको संयुक्त पत्रकार सम्मेलनमा वायु एयर भाइस मार्सल आरजिके कपुरले पनि भारतीय पाइलटलाई छोड्ने पाकिस्तानी निर्णयको स्वागत गरेका छन्। ‘इन्डियन एयर फोर्स पाइलट अभिनन्दनलाई रिहा गर्ने पाकिस्तानको निर्णयप्रति खुसी व्यक्त गर्छ,’ उनले भने। भारतीय सेनाका प्रवक्ता मेजर जनरल सुरिन्दर महलले शान्ति र स्थायित्व लागि भारत प्रतिबद्ध रहेको जनाएका छन्।

प्रकाशित: १७ फाल्गुन २०७५ ००:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App