७ वैशाख २०८१ शुक्रबार
खेल

आहा रारा गोल्डकपकाे उपाधिका लागि आर्मी र थ्री स्टार भिड्ने

तस्बिर : गाेलनेपाल

पोखरा – पोखराकै मैदानबाट दोस्रो उपाधि उचालेर सिजनको चौथो पुरस्कार जित्ने क्यामरुनी टोली दाउफिन्स फुटबल क्लबको सपनामा त्रिभुवन आर्मी क्लबले बिहीबार तुषारापात गरेको छ। आर्मीले १७औंं संस्करणको आहा रारा गोल्डकपको फाइनल सुरक्षित गर्दा यहींबाट सिजनको पहिलो उपाधि उचाल्दै उपाधियात्रा सुरु गरेको क्यामरुनी टोलीलाई ब्रेक लगायो।

दाउफिन्सको चुनौतीलाई १–० ले पन्छाउँदै आर्मीले फाइनलयात्रा सुरक्षित गर्दा रुस्लान थ्री स्टारसँग उपाधि भिडन्त पक्का गरेको छ। दाउफिन्स पोखरामा मनकामना केवलकार पोखरा कप, धरानको बुढासुब्बा गोल्डकप र बुटवलको तिलोत्तमा गोल्डकप उचाल्दै फेरि पोखरा आइपुगेको थियो।

खेलको १३औं मिनेटमा आर्मीले अग्रता लियो। जुन अग्रता अन्त्यसम्म कायम रहँदा उपाधि निकट पुग्यो। पोखराबाटै नकआउट फुटबलमा उदाएको दाउफिन्सको यात्रा पोखरामै रोकियो। दीपक गुरुङको लङ क्रसलाई तेजबहादुर बुढाथोकीले डिफेन्डरलाई बिट गर्दै हेडिङ गर्दा बलले पोस्टको दिशा लियोे। बुढाथोकीको हेड सेकेन्ड बार च्याप्दै गोल हुँदा क्यामरुनका गोलरक्षक प्रिसोले डाइभ गरे पनि भेट्न सकेनन्।

मोफसलका प्रतियोगिताहरूमा नेपाली क्लबको फुटबल स्तर जाँच्दै आएको क्यामरुनी टोली भने  आर्मीसँग पराजित हुँदा दश खेलाडीमा सीमित थियो। अन्तिम समयमा आफ्ना भरपर्दा फरवार्ड यान्निक ओहोनालाई गुमाएपछि सुस्ताएको दाउफिन्सको खेलमा फर्किने सम्भावना कमजोर देखियो। खेल सकिन पाँच मिनेट बाँकी हुँदा यान्निकको अनुपस्थितिले आर्मीमाथि दबाब सिर्जना गर्न दाउफिन्सलाई कठिनाइ भएको थियो।

पहिलो हाफमै गोल गरेर सुखद अवस्थामा रहेको आर्मीले दाउफिन्सका गोलरक्षकलाई हरपल व्यस्त बनाइराख्यो। खेलको २०औं मिनेटमा आर्मीले मुभ बनायो। भरत खवासले दिएको माइनस पासलाई सन्तोष तामाङ बलभन्दा अघि बढेपछि अवसर गुम्न पुग्यो। त्यसो त दाउफिन्सले पनि महत्वपूर्ण अवसरलाई पहिलो हाफमै गुमायो। २६औं मिनेटमा रातो कार्ड खानुअघि यान्निक ओहोनाले वान भर्सेस वानको अवस्थामा पाएको अवसरलाई फस्ट बारनजिकैबाट बाहिर फालेपछि दाउफिन्सका खेलाडी निकै तनावसहित निराश देखिए।

खेलको ३५औं मिनेटमा आर्मीले फेरि अवसरलाई उस्तै गरी गुमाउँदा गोल दोब्बर गर्ने अवसर खेर फाल्यो। भरत खवासले पोस्टनजिकैबाट हानेको प्रहारलाई दाउफिन्सका गोलरक्षक प्रिसोले सेभ गरे। रिबाउन्ड भएको बललाई डिफेन्डर डिडर टिनाले क्लियर गरे। पहिलो हाफकै अन्त्यतिर पाएको कर्नर किकको सुनौलो अवसर पनि आर्मीले गुमाउन पुग्यो। त्यसभन्दा अघि भरत खवासले हानेको कर्नर ब्याकहिल पासलाई आर्मीका खेलाडीले हेडिङ गर्न नसकेपछि अवसर गुमेको थियो।

अग्ला कदका क्यामरुनी खेलाडीले अधिकांश बल ‘एयर’ मै खेले। तर आर्मीले डिफेन्सलाइनलाई निकै चुस्त र जबर्जस्त बनाउँदै दाउफिन्सको चुनौतीलाई पन्छाइराख्यो। दाउफिन्सले पनि ३९औं मिनेटमा फ्रिकिकको अवसर पाएको थियो। फ्रिकिकलाई डिडर टिनाले प्रहार गरे। तर उपयोग नै भएन।

पहिलो हाफमै आर्मीले आफ्नो अग्रतालाई जोगाइराख्दा दाउफिन्स भने निकै हतार र हतासमा  निर्धारित समय टुंग्यायो। दर्शकले पनि विगतमा विभागीय टोलीलाई हतास बनाउने गरी हुटिङ आउँथ्यो। तर पोखराको मैदानमा बिहीबार भने आर्मीको जुझारुपन देख्दा समर्थनमा दर्शकको उत्साह मिल्यो। उल्लेख्य दर्शकको उपस्थितिसँगै मन जित्दा आर्मीले सहारा क्लबको आयोजनामा सञ्चालित आहा रारा गोल्डकपको चौथो पटक फाइनल खेल्ने निधो गर्यो।

आर्मीले ६१औं मिनेटमा टंक बस्नेतको पासलाई नवयुग श्रेष्ठले सदुपयोग गर्न सकेनन्। बस्नेतले दिएको ब्याक पासमा नवयुगको ओपन बल प्रहार दाउफिन्सका गोलरक्षक प्रिसोले बचाए। ७१औं मिनेटमा यान्निकको ब्याक पासमा ओहान्दाले हानेको बल आर्मीका गोलरक्षक विकेश कुथुले उत्कृष्ट डाइभ गर्दै बाहिर फाले। ७३औं मिनेट भरत खवासले वान भर्सेस वानको अवसरलाई खेर फालिदिए। दीपक गुरुङले म्यान अफ दी म्याच  हुँदै नगद ५ हजार रुपैयाँ पुरस्कार थापे। सहारा क्लबको आयोजना तथा हिमश्री फुड्सको मुख्य प्रायोजनमा सञ्चालित १७औं आहा रारा गोल्डकपको उपाधिका लागि शनिबार त्रिभुवन आर्मीले रुस्लान थ्री स्टारसँग खेल्नेछ।

प्रकाशित: १६ फाल्गुन २०७५ १५:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App