४ वैशाख २०८१ मंगलबार
राजनीति

गगन र विश्वप्रकाशको नजरमा रवीन्द्र अधिकारी

काठमाडौं - ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटनमन्त्री रवीन्द्र अधिकारी विद्यार्थी राजनीतिबाट उदायका हुन्। विद्यार्थी अन्दोलनलाई उचाईमा पुर्‍याउने र विद्यार्थीको हितमा काम गर्ने नेताको रूपमा उनलाई चिनिन्छ।

पोखराबाट सुरु भएको उनको राजनीतिक यात्रा अनेरास्ववियुको नेतृत्व हुँदै पार्टी केन्द्रीय समितिसम्म पुग्यो। विद्यार्थी राजनीतिबाटै स्पष्ट दृष्टिकोण र हक्की स्वभाव भएको नेताको छवि बनाएका थिए रवीन्द्रले। विद्यार्थी आन्दोलनमा उनले यातायात लगायत सार्वजनिक क्षेत्रमा ३३ प्रतिशत विद्यार्थी सहुलियतको अगुवाई पनि गरे। यसकारण पनि उनी  विद्यार्थी माझ लोकप्रिय थिए। विद्यार्थी राजनीतिमा उनका समकालीनहरू पनि अधिकारीको हरेक कदमको प्रशंसा गर्छन्।

कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघको अध्यक्ष विश्वप्रकाश शर्मा हुँदा अधिकारी अखिलको अध्यक्ष थिए। सँगै विद्यार्थी आन्दोलनको नेतृत्व गरेका कांग्रेस नेता शर्मा देशले स्पष्ट दृष्टि भएको नेता गुमाएको बताउँछन्।

‘विद्यार्थी राजनीति गर्दै गर्दा कुनै पनि मुद्दामा उहाँमा प्रष्ट दृष्टिकोण र प्रभावकारी भूमिका रहन्थ्यो’, नेता शर्माले भने, ‘खास गरी दरबार हत्याकाण्ड लगत्तै मुलुक गणतन्त्रको दिशामा जाने पहलकदमी सुरुभयो। त्यो बेला राजनीतिक दल एक ठाउँमा आउँदा २०५९ को बैशाख भएको थियो। तर हामीले २०५८ चैत १९ गते काठमाडौंमा विद्यार्थीहरूले साझा प्रदर्शन गरेका थियौँ। हामीले राजनीतिक दलभन्दा अघि गणतन्त्रका लागि सँगै लड्ने दृष्टिकोण बनाएका थियौँ।’

विद्यार्थी संगठनलाई संगठित गरेर गणतन्त्रको आन्दोलन गर्न मुख्य भूमिका रवीन्द्रले खेलेको शर्मा बताउँछन्। देशका लागि केही गर्नका लागि अधिकारीसँग स्पष्ट दृष्टिकोण रहेको उनी स्मरण गर्छन्। ‘देशका लागि केही गर्नुपर्छ भन्ने त सबैमा हुन्छ तर यसो गर्नुपर्छ भन्ने दृष्टिकोण हुँदैन’, कांग्रेस प्रवक्ता शर्मा भन्छन्, ‘उहाँसँग केही गर्नुपर्छ भन्ने भावनासँगै यसो गर्नुपर्छ भन्ने दृष्टिकोण पनि थियो।’

आफ्ना समकालीन अधिकारी व्यक्तिगत रूपमा जहिल्यै फरासिलो रहेको प्रवक्ता शर्मा बताउँछन्। ‘व्यक्तिगत रूपमा उहाँ जहिल्यै फरासिलो। पार्टीगत रूपमा भिन्नता आफ्नो ठाउँमा छ तर कुनै मुद्दामा कहिल्यै हामीबीचमा तिक्तता भएन’, उनी स्मरण गर्छन्, ‘हामीले विद्यार्थी संगठनको नेतृत्व गर्दै २०५७ को स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गराएका थियौँ। आफूहरुले शान्तिपूर्ण ढंगबाट त्यो निर्वाचन गरेको म स्मरण गर्छु।’

कांग्रेसका युवा नेता गगन थापा पनि अधिकारीलाई विद्यार्थी राजनीतिबाटै चिन्दै आएका छन्। उनीहरूबीच व्यक्तिगत सम्बन्ध भएको ३० वर्ष भयो। यो अवधिमा अधिकारीलाई नेपालको विद्यार्थी आन्दोलनको साख जोगाउने विद्यार्थी नेताको रूपमा चिन्छन्, थापा।

‘उहाँसँग विद्यार्थी आन्दोलनदेखि नै चिनजान भएको हो। नेपालको विद्यार्थी आन्दोलनको एकपटक सबै साख गुमिसकेको अवस्थामा रवीन्द्र दाईले साख फर्काउन भूमिका खेल्नुभएको हो’, थापाले नागरिकसँग भने,‘उहाँसँगै २०६०/०६२ को आन्दोलनमा पनि सहभागी भइयो। गणतन्त्र प्राप्तका लागि उहाँको भूमिका उल्लेखीय छ।’

२०६४  र २०७० को निर्वाचनपछि  संविधान निर्माणमा अधिकारीले खेलेको भूमिका पनि प्रसंशनीय रहेको थापाको तर्क छ। ‘संविधानसभामा उहाँको निरन्तरको भूमिका संविधानसभाको सफलता होस् भन्ने थियो’, नेता थापा भन्छन्, ‘त्यसको निम्ति मुद्दाहरूमा उहाँको अतिरित्त अडानभन्दा पनि संविधानसभामा दहरूमा एकता नभई हुँदैन। नेपालमा दलहरूको एकता भनेको नेताहरूबीचको हार्दिकता हो। त्यसका लागि हामीले काम गर्नुपर्छ र दबाब पनि दिनुपर्छ त्यसपछि सबै मिल्दै जान्छ भन्ने थियो।’

नेता अधिकारी राजनीतिलाई विकासँग जोडेर हेर्ने नेताको रूपमा थापा स्मरण गर्छन्। ‘राजनीतिक विषयको कार्यसूचीमा विकासको एजेन्डा जोड्नुपर्छ भन्ने उहाँको धारणा थियो। उहाँले विकासलाई प्राथमिकता दिनुपर्छ भन्ने गर्नुहुन्थ्यो’, थापाले भने, ‘संसदीय समितिको सभापतिको रूपमा, लेख लेखेर भए पनि उहाँको भूमिका सात/आठ वर्षदेखि लगातार विकासको राजनीतिमा देखिन्छ।’

प्रकाशित: १६ फाल्गुन २०७५ ११:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App