coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

अलबिदा अधिकारी

ताप्लेजुङमा बुधबार भएको हवाइ दुर्घटनामा परी नेपाली राजनीतिका उदीयमान युवा नेता रविन्द्र अधिकारीसहित सातजनाको दुःखद निधनले सबैलाई गहिरो चोट लागेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अधिकारीले युवावस्थामै हासिल गरेको राजनीतिक उचाइ उनका सहयात्रीका निम्ति समेत लोभलाग्दो रहेको छ। मुलुकको विकासमा रुचि राख्ने यी युवा मन्त्रीले आफ्नो रुचिकै क्षेत्रको जिम्मेवारी पाउँदा तुफानी गतिमा कामसमेत गरिरहेका थिए।देशभरिका विमानस्थलको स्तरोन्नति, सञ्चालन र व्यवस्थित गर्ने काममा उनी सक्रिय भएको देखिन्थ्यो। पछिल्लो पटक उनी खोटाङको थामखर्क विमानस्थलको उद्घाटन निम्ति पुगेका थिए। त्यसयता पनि उनी निरन्तर आफू मातहतका योजना÷आयोजनाको निरीक्षण÷अवलोकनमा पुगेकै हुन्थे। ताप्लेजुङ पनि त्यहाँको विमानस्थलको अनुगमनकै सिलसिलामा पुगेका थिए। यसरी अहोरात्र विकास निर्माणका काममा खट्ने युवा नेताको असामयिक निधनको पीडा सिंगै मुलुकलाई भएको छ। जिम्मेवारीमा रहेका बेला व्यक्तिका कमीकमजोरीबारे प्रश्न उठ्न सक्छन्। तर, ती सबैलाई पचाएर निरन्तर आफ्नो काममा लाग्ने जिम्मेवारी बोध उनले गरेको अनुभूति हुन्छ। यसै पनि दुर्घटनाको दिनको मौसम ठीक थिएन। २०६३ असोज ७ गते तत्कालीन वन राज्यमन्त्री गोपाल राई, भूगर्भविद् हर्क गुरुङ, संरक्षणकर्मीहरूसहित २४ जनाको हेलिकोप्टर दुर्घटनामा ताप्लेजुङकै धुन्सामा निधन भएको थियो। त्यो ठूलो दुर्घटनाजस्तै यसपालिको दुर्घटनाले पनि मुलुकलाई ठूलो क्षति गराएको छ। यस दुर्घटनामा पर्यटन व्यवसायी आङछिरिङ शेर्पालगायतको निधन देशका निम्ति अपुरणीय क्षति हो।

हेलिकोप्टर हाम्रो कठिन भौगोलिक अस्थितिका निम्ति अपरिहार्य यातायात साधन हो। यति हुँदाहुँदै पनि मौसमी प्रतिकूलता आदिले बेलाबेलामा हुने दुर्घटनाले सिंगै मुलुकलाई स्तब्ध तुल्याउँछ। यस्तो बेलामा हेलिकोप्टर उडानका आधारभूत सुरक्षा व्यवस्थामा ध्यान पु¥याउनुपर्ने हुन्छ। जहिल्यै दुर्घटनापछि केही दिन संवेदनशीलताबारे चर्चा हुन्छ। पछि फेरि त्यसमा खासै ध्यान पु¥याएको देखिँदैन। यसपटक पनि मौसमी प्रतिकूलतालाई ध्यानमा राखेर उडान गर्ने÷नगर्ने निश्चित गर्नुपर्ने थियो। प्रायः हेलिकोप्टर र आन्तरिक उडानका जहाजले मौसमी प्रतिकूलताका कारण उडान रद्द गरेका थिए। त्यो अवस्थामा डाइनास्टीको हेलिकोप्टर उडान नगर्न प्रेरित गर्ने निकायको अभाव देखिएको छ। मन्त्री वा अन्य कुनै उच्च पदाधिकारीले उडान गराउन चाहेर भन्दा पनि नियामक जिम्मेवारीमा रहेका व्यक्तिको भूमिका महत्वपूर्ण हुन्छ। त्यस्तो हुँदो हो त अहिलेको यो दुर्घटनाको पीडाबाट मुलुकले गुज्रिनुपर्ने थिएन। सावधानीले दुर्घटना कम गराउँछ। यो घटनाबाट भविष्यका निम्ति पाठ सिक्नु पनि उत्तिकै आवश्यक छ। केही वर्ष अघिसम्म दुर्घटनाका घटना निकै हुने गरेकामा पछिल्ला केही वर्षयता संख्या कम भएको छ। त्यसपछाडि अपनाइन थालेको सुरक्षा सतर्कता पनि मुख्य हो। तैपनि एउटै दुर्घटना हुँदा पनि त्यसले लामो समयसम्म नकारात्मक प्रभाव पारिरहन सक्छ। यसकारण पनि मौसमी सूचनाको जानकारीलाई भरपर्दो बनाउनु आवश्यक छ। पछिल्ला वर्षहरूमा मौसमको जानकारी निकै भरपर्दो भइसकेको छ। त्यसलाई विशेष गरी पहाडी क्षेत्रको उडानका सन्दर्भमा उपयोग गर्नु उचित हुन्छ। 

मन्त्री अधिकारीको लगनका कारण यस क्षेत्रमा अवरुद्ध केही आयोजना सुचारु हुन थालेका थिए । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने तयारी भइरहेको थियो । उनले निरन्तर आफ्नो सामाजिक सञ्जालमा समेत विकास निर्माणका यी कामलाई उल्लेख गर्दै आएका थिए ।

मन्त्री अधिकारीको लगनका कारण यस क्षेत्रमा अवरुद्ध केही आयोजना सुचारु हुन थालेका थिए। भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने तयारी भइरहेको थियो। उनले निरन्तर आफ्नो सामाजिक सञ्जालमा समेत विकास निर्माणका यी कामलाई उल्लेख गर्दै आएका थिए। उनको सबैभन्दा पछिल्ले ट्विटसमेत आउने चैत १८ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गको स्तरोन्नति हुने उल्लेख गरेका थिए। भैरहवा र जनकपुरलाई हवाइ प्रवेश विन्दु बनाउन आइकाओमा निवेदन दिएको खबर समेत पछिल्लो पटक चर्चामा थियो। अधिकारीले पर्यटन क्षेत्रलाई गति दिन कुनै न कुनै हिसाबले सक्रियता देखाएका थिए। त्यसमा पनि सन् २०२० मा नेपालमा २० लाख पर्यटक भित्र्याउने उद्देश्यले भइरहेका हरेक बैठक र योजनामा उनले आफूलाई सक्रियतासाथ संलग्न गराएको देखिन्थ्यो। पोखरा उनको जन्म र कर्मथलो छँदै थियो, तर आफूलाई एउटा राष्ट्रिय स्तरको नेता बनाउने सुझबुझ उनमा देखिन्थ्यो। वाइडबडी खरिद प्रकरणमा उनी विवादमा आए पनि आफूलाई उनले संयमित अवस्थामै प्रस्तुत गरेका थिए। पदीय जिम्मेवारीसँग आउने झन्झट र तनाव हुँदाहुँदै पनि उनले त्यसलाई सार्वजनिक रुपमा प्रकट गरेको देखिँदैनथ्यो। तैपनि पदीय हिसाबले दिनुपर्ने जवाफका निम्ति उनी तयार थिए। कतिपय प्रसंगमा प्रश्न उठ्छन् तर त्यसको जवाफ हुँदैनथ्यो। जिम्मेवारीमा भएका व्यक्तिले कहिलेकाहीँ आफूलाई प्रतिरक्षा गर्न गाह्रो पनि हुन्छ। मन्त्री अधिकारीको हकमा पनि यो अवस्था देखिएको थियो। नागरिक नेटवर्कसँगको अन्तर्वार्तापछि उनले ‘अफ द रेकर्ड’ भन्दै आफ्नो त्यो असजिलो प्रकट गरेका थिए (हेर्नुहोस् समाचार)। जिम्मेवारीबाट हटेपछि सायद उनले मन खोलेर बोल्थे होलान्। तर, अवस्था त्यो रहेन। मन्त्री अधिकारीसहित दुर्घटनामा निधन हुनेप्रति श्रद्धाञ्जली ! फेरि यस्तो दुर्घटना नदोहोरियोस् !

 

प्रकाशित: १६ फाल्गुन २०७५ ०७:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App