बाबुआमा नै मोबाइल फोनमा भुल्दा...

बिहिबार, १६ फागुन २०७५, १२ : ५४ नागरिक

विष्णुमाया सिग्देल 
भदौ १५ गते बुबाको मुख हेर्ने दिन थियो। हामीले स्कुलमा अभिभावकलाई बोलाएका थियौँ। छोराछोरीले नै सम्मान गर्ने कार्यक्रम राखेका थियौँ। दुई कक्षाका विद्यार्थी र अभिभावकबीच अन्तक्र्रिया पनि थियो। कार्यक्रममा पनि खेल थियो। बालबालिकाले आफ्नो बाबाबारे तथा बाबाले आफ्ना नानीहरूबारेको बुझाइसम्बन्धी प्रश्न सोध्ने खेल थियो। त्यसमध्ये आफ्नो बाबाको मन नपर्ने बानी बताउनुपर्ने थियो। यस प्रश्नमा अधिकांश बालबालिकाले मन नपर्ने बानी के बताउनुहोला भन्ने सबैलाई जिज्ञासा थियो। तर अधिकांशले दिएको उत्तरले हामीलाई पनि सोच्नैपर्ने बनायो। उहाँहरूले बाबा अफिस तथा कामबाट घर फर्केपछि मोबाइलमा खेलेको मन परेन भन्नुभएको थियो। आफूसँग कुराकानी गर्नुको सट्टा मोबाइलमा कुरा गर्ने मन नपरेको रहेछ। 

धेरै बाबाहरूले जस्तै हामीले पनि यदाकदा छोराछोरीसँग कुरा गर्नु, उहाँहरूलाई समय दिनुको सट्टा मोबाइलमा भुलेका हुन्छौँ। फोनमा अनावश्यक गफिन्छौँ। फेसबुकमा फस्दै गएका छौँ। ट्विटरमा टहलिरहन्छौँ। मोबाइलमा खेल खेल्छौँ।  उहाँहरूले बाबाहरूले त्यस्तो बानी सुधार्नुपर्ने बताउनुभयो। अफिसबाट चाँडै घर आउने र उहाँहरूलाई समय दिँदा आफूहरूलाई रमाइलो हुने पनि बताउनुभयो। यसको सन्देश सायद हामी हाम्रा नानीबाबुहरूलाई सुत्ने बेलामा कथा पनि भन्ने गरेका छैनाैँ कि ? अथवा कथा भन्छौँ भने पनि अरु बेला उहाँहरूले चाहेजस्तो समय दिएनौँ कि ?

यो अन्तक्र्रिया हामीले रमाइलोका लागि मात्र राखेका थियौँ तर यति महत्वपूर्ण सन्देश आउला भन्ने सोचेका थिएनौँ। बाबाहरू मात्र होइन आमाहरू पनि फेसबुक र मोबाइलमा उत्तिकै भुलेका पाउँछौँ। मोबाइलमा धेरै भुल्दा छोराछोरीलाई दिनुपर्ने समय, उनीहरूसँगको कुराकानी पर्याप्त भएको छ छैन ख्याल गरेका छौँ। त्यसैले आमा (सहरिया भाषामा मम्मी) हरूले ध्यान दिनु जरुरी छ। 

हाम्रा धेरै बालबालिकाले दिएको उत्तरले हामीलाई पनि सोच्नैपर्ने बनायो। उहाँहरूले बाबा अफिस तथा कामबाट घर फर्केपछि मोबाइलमा खेलेको मन परेन भन्नुभएको थियो। आफूसँग कुराकानी गर्नुको सट्टा मोबाइलमा कुरा गर्ने बानी मन नपरेको रहेछ। 

हामीलाई लाग्छ, हाम्रा छोराछोरीलाई केही पनि थाहा छैन। यिनीहरूले के बुझेका छन् र ? कुनै कुरामा जिज्ञासा राख्दा किन चाहियो भन्छौँ। तिमीलाई अहिले यस्तो कुरा सुन्नु जान्नु परेको छैन भन्दै पन्छाइदिन्छौँ। हाम्रो यस्ता बानीहरूबाट उहाँहरूमा झन् कौतूहल तथा जिज्ञासा पैदा गराउँछ। हामीले उहाँहरूसँग सहज कुरा गरिदिँदा उहाँहरूको मानसिक, संवेगात्मक तथा बौद्धिक विकासमा पनि मद्दत गर्छ भन्ने बुझ्नु जरुरी छ। केही दिन गफ गर्ने बानी गरेर हेरौँ यसको प्रभाव हामी आमाबाबाहरूले चाँडै नै थाहा पाउनेछौँ। कुनै कुरा बताउन नसकिने हो भने बुझाइदिनु राम्रो। कुनै कुरा सुन्दा के नै हुन्थ्यो  र ? भन्ने जस्ता अनेक थरीका कुरा बालबालिकाको मनमा आउन दिनुको सट्टा कुनै कुराबारे थोरै भए पनि बुझाउँदा बालबालिकाको आत्मबल बढ्छ। नयाँ कुरा छिटो ग्रहण गर्ने क्षमताको विकास हुँदै जान्छ। उहाँहरूलाई ठूलो हुँदासम्म आवश्यक पर्ने दिशानिर्देश गर्न सजिलो हुन्छ। यसो गर्दा कौतूहलता हट्नुको साथै पछि हुन सक्ने सम्भावित समस्याबाट पनि उहाँहरूलाई टाढै राख्न मद्दत पुग्छ। यस्तो किसिमको व्यवहार गर्दा उहाँहरूलाई दुईवटा कुराको फाइदा हुन जान्छ। अर्कोतर्फ उहाँहरू त्यहाँ प्रश्नको उत्तर खोज्दै जाँदा उहाँहरूले आफ्ना तर्कहरू राख्न पाउनुहुन्छ। यसले उहाँहरूको एकअर्का बीच कुराकानी गर्ने छलफल गर्ने बानीको विकास हुन्छ। एकले अर्काको विचार सुन्ने बानीको पनि विकास हुन जान्छ। लगातार यसो गर्दै जाँदा उहाँहरूले आफ्नो मनमा लागेका कुराहरू निर्धक्कसँग भन्न सक्ने क्षमताको विकास हुने रहेछ। मैले पाँच वर्षदेखि सानासाना बालबालिकालाई अवलोकन गर्दा बालबालिकाको विकासमा देखेको अद्भुत परिणाम हो यस्तो। 

त्यसैले हामीले पनि बालबालिकाहरूसँग कुरा गर्दा सँगै बसेर मुखामुख गरेर कुरा गर्नुपर्छ। यसले उहाँहरूमा बोलेर आफ्ना कुराहरू व्यक्त गर्ने सीप बढ्नुका साथै उहाँहरूको कुरा कसैले ध्यानपूर्वक सुनेको छ भन्ने उहाँहरूलाई पर्न जान्छ। यसले उहाँहरूमा आत्मविश्वास पनि बढ्न जान्छ। हाम्रो नेपाली समाजमा एउटा उखानै छ, बालबालिका भनेका काँचो माटो हुन्। यसलाई जे बनाउन पनि सकिन्छ। जता लग्यो उतै जान्छन् उनीहरू। यो उखान साँच्चै नै सान्दर्भिक छ। बालबालिकाहरूले राम्रो वातावरण पाएमा उहाँहरू राम्रै बन्नुहुन्छ। उचित वातावरण दिइएन भने के बन्नुहोला ? कसरी हुर्किनुहोला भन्न सकिँदैन। बालबालिकालाई आफ्ना कामप्रति सचेत तथा जिम्मेवार बनाउने, ज्ञानगुनका कुरा उहाँहरूले बुझ्ने भाषामा भन्नुपर्छ। अनुशासित बन्न सिकाउने पहिलो पाठशाला घर नै हो। हामी नै गुरु वा गुरुआमा भनेका पनि हामी नै बाबा, आमा, हजुरआमा, हजुरबुबा, काका काकी हौँ। हामीले शिक्षकको भूमिका छैन भनेको होइन हामी परिपूरक हुन सकौँला पूर्ण नहुन पनि सकिन्छ।

अहिलेका हाम्रा छोराछोरीहरू प्रायःजसो एकल परिवारमा जन्मे हुर्केका हुनुहुन्छ। उहाँहरूमा यसै पनि अन्तक्र्रियात्मक स्वभाव, सामाजिकीकरण हुने अवसर कम हुँदै गएको छ। यस कारण पनि बाबुआमाहरू छोराछोरीहरूप्रति साथी बनिदिनुपर्ने आजको आवश्यकता हो। हामीले यसो गर्न नजानेर उल्टो उहाँहरूलाई नै मोबाइल, ल्यापटप, टिभी, ट्याब्लेटजस्ता ग्याजेट हेर्न दिएर भुलाउँदै छौँ। हामीलाई यसो गर्न सजिलो लाग्छ। समयमै विचार गरौँ हैँ। बालबालिकालाई यी सामग्री यति आवश्यक नै भइसक्यो कि कयौँ छोराछोरीले त मोबाइल नहेरी माम खानुहुन्न। बाबाआमालाई यसको असरबारे जानकारी भए तापनि छोराछारीको यस्तो बानीले गर्दा दिनैपर्छ ‘नदिए बच्चाले खाना नै खाँदैन भन्ने’सम्म पुगिसकेका छौँ। आँगनमा, कौसीमा डुलाएर खाना खाने बानी हराइसकेको छ। यस्तो बानी परिसकेपछि उहाँहरूलाई ती ग्याजेटबाट टाढा राख्न गाह्रो पर्दैछ। बाबाआमाले भनेका कुराहरू सहजै मान्न पनि उहाँहरू तयार हुनुहुँदैन बिस्तारै। 

मोबाइल, ग्याजेटका कुरा लिएर कक्षा नर्सरीदेखि माथिल्ला कक्षाका बाबाआमाहरूको पनि गुनासो उस्तै छ। हामीलाई भेट्न आउने करिब ७०÷७५ प्रतिशत अभिभावकको कुरा यही नै पाएका छौँ। “मिस मेरो बच्चाले मैले भनेको मान्दैन बिहान उठ्नासाथ टिभी हेर्छ, के गर्ने ? भनिदिनुप¥यो।” यो गुनासो धेरै अभिभावकले गरिरहनुभएको कुरा विभिन्न स्कुल तथा कक्षामा  पढाउने मेरा शिक्षक साथीहरू सुनाउनुहुन्छ।

उहाँहरूको गुनासोलाई हामीले पनि सहज किसिमबाट सुझाउन सक्ने जादुको छडी पनि हामीसँग कहाँ छ र ? हामीले भनेपछि एक दुई दिन त मान्नुहोला तर धेरै दिन उहाँहरू मान्नुहोला जस्तो लाग्दैन हामीलाई पनि। फेरि उस्तै गुनासो बारम्बार आएको पनि पाइन्छ। घरमा बाबाआमाले उहाँहरूलाई समय निकालेर हेर्नैपर्ने हुन्छ। दिनको एक दुई घण्टा समय निकालेर उहाँहरूको कुरा सुनिदिने, आज स्कुलमा केके भयो भनेर कुराकानी गर्ने। कुनै राम्रो कुरा भन्नुभयो भने स्याबासी दिने गर्नुपर्छ। उहाँहरूले गरेको कुनै राम्रो काम रहेछ भने घरमा कोही पाहुना आएका बेलामा शेयर गर्नुपर्छ। यसले उहाँहरूको आत्मबल बढ्छ। बालबालिकाले पाउने सामजिक इज्जतको ठूलो महत्व हुन्छ। 

उहाँहरूले स्कुलमा पढेका कुरालाई भन्न लगाउने, हरेक विषयमा पढेका कुराहरूबारे छलफल गर्ने गर्दा उहाँहरूको पढाइमा पनि सहयोग पुग्छ भने अर्कातिर उहाँहरूसँगको समय पनि राम्रैसँग बित्छ। यसैगरी उहाँहरूको स्तर अनुसारका कथाहरू पढ्न लगाउने, आफू सुन्ने गर्दा पढ्न प्रोत्साहन मिल्छ। एकदेखि चार कक्षासम्मका छोराछोरीलाई सँगै बसेर आफैँले पढिदिने गर्नुपर्छ। उहाँहरूलाई अक्षर हेर्न तथा औँलाले देखाउन लगाउनुपर्छ। यसो गर्न सकेमा बालबालिकामा पठन संस्कृतिको विकास हुन्छ। 

यहाँनेर, मैले पाएको एउटा समस्या यो पनि छ। बाबाआमाले छोराछोरीलाई किताब त ल्याइदिनुहुन्छ तर त्यो किताब उहाँहरूको स्तर सुहाउँदो छ कि छैन ? अक्षर संरचना कस्तो छ ? त्यस किताबमा कतिवटा शीर्षक छन् ? त्यहाँ दिइएका शब्द तथा वाक्य उहाँहरूले बुझ्ने खालको छ छैन ? साना बालबालिकाको पुस्तकमा हुनुपर्ने धेरै चित्रहरू तथा थोरै तर ठूला अक्षरका वाक्य छ कि छैन ख्याल गरेको छौँ त ?

विभिन्न अध्ययनका अनुसार कुनै बालबालिकाले एउटा किताब पढिसक्दा त्यस किताबबाट कम्तीमा ७० देखि ८० प्रतिशत शब्दहरू बुझेको किताब मात्र त्यस बालबालिकाको स्तर सुहाउँदो मानिन्छ। हामीले उहाँहरूलाई पढ पढ भन्ने मात्र होइन। उहाँहरूले बुझ्ने स्तरको सुहाउँदो किताब हुनैपर्छ। पक्कै पनि उहाँहरूको स्तरको किताब उहाँहरूले पढ्न मन पराउनुहुन्छ।  हामी (आमाबाबु) को पढ्ने बानी छ कि छैन ? हामी आफैँ नियमित पढ्छौँ भने त्यसले बालबालिकामा स्वतः प्रभाव पर्छ। खालि पढ पढ भनेर मात्रै छोराछोरीले तपाईंले भनेको मान्छन् नै भन्न सकिँदैन। तपाईंको व्यवहार महत्वपूर्ण हुन्छ।

हामी शिक्षक पनि अभिभावकको गुनासो सम्बोधन गर्न हरप्रयास गर्छौं। जाऊ मोबाइल हेर, जाऊ टिभी हेर भन्नुको सट्टा बालबालिकाको समय बिताउने अरु राम्रा तरिका के हुन सक्ला ? आजैबाट छलफल सुरु गरौँ। उहाँहरू ती ग्याजेटमा व्यस्त भएका बेलामा आफ्ना काम सिध्याउने वा आफू पनि त्यसरी नै ग्याजेटमा भुल्छौँ भने हामीले ठूलो गल्ती गर्दैछाँै। परिणाम तत्कालै नदेखिएला तर केही वर्षमै देखिनेछ। 

बालबालिका खासगरी सहरमा एक्लिँदै जानुभएको छ। उहाँहरूसँगै बसेर उहाँहरूको कुरामा सहमति जनाउने, उहाँहरूको कुरा सुनिदिने, उहाँहरूसँगै खेलिदिने मान्छेको उहाँहरूलाई आवश्यकता छ। 

बाबुआमाको व्यस्त जीवन। एकल परिवार। त्यसमा पनि एक जनामात्र बच्चा जन्माएर बस्ने बाबा आमाको परिवेशले गर्दा अहिलेका छोरा वा छोरी मर्कामा परिरहेका छन्। घरबाट पर जान उहाँहरूलाई डरैडरको वातावरण छ। घरमै कोही छैन बोलिदिने। कसरी समय बिताउने ? उहाँहरूको कुरा कसले सुनिदिने ? धेरै बच्चा भएको परिवारमा उहाँहरू खेल्ने साथी पाउनुहुन्छ। उहाँहरूलाई अलि सहज पक्कै भएको हुनुपर्छ। यस्ता यस्ता कारणले गर्दा आजका बालबालिकाहरूले ग्याजेटलाई साथी बनाउनुपर्ने बाध्यता छ। 

 








यसमा तपाईको मत

अन्य समाचार

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङले हालै नयाँ डिजाइनको साथ ग्यालेक्सी 'एथर्टी एस' प्रस्तुत गरेको छ । ...

सिन्धुका थप दुई शाखा विस्तार

सिन्धुका थप दुई शाखा विस्तार

पछिल्लो समय आक्रमक ढंगले बैंकिङ एकाइ विस्तार गरिरहेको सिन्धु विकास बैंकले एकैदिन थप दुई शाखा विस्तार गरेको छ । ...

इन्टरनेट लिज लाइनको महसुल घट्यो

इन्टरनेट लिज लाइनको महसुल घट्यो

नेपाल टेलिकमले कात्तिक १ देखि लागू हुने गरी इन्टरनेट लिज लाइनको महसुल घटाएको छ । ...

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुस्थित अत्याधुनिक सुविधायुक्त सिनेमा हल आइएनआइले प्रदर्शन सुरु गरेको छ । ...

सिजीको लक्की–ड्र सम्पन्न

सिजीको लक्की–ड्र सम्पन्न

चाडपर्वका बेला सिजीले ल्याएको ‘सिजीसँग उत्साह उमंग थाइल्यान्ड जाउँ परिवारसँग’ नामक स्किमको पहिलो चरणको लक्की–ड्र समपन्न भएको छ । ...

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड नेपालका आधिकारिक बिक्रेता हिमालयन मोटराडले ‘बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ’ सम्पन्न गरेको जनाएको छ । ...

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपोले नेपालमा आफ्नो बहुप्रतिक्षित मोडल ओपो रेनोटू एफको अक्टोबर १८देखि पाको, न्यूरोड स्थित आफ्नो आधिकारिक शोरुममा आयोजित फर्स्टसेल कार्यक्रम मार्फत...

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

नेपालका लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गरेकोे छ । ...

Ncell Footer Ad