८ वैशाख २०८१ शनिबार
विचार

आलोचकलाई अचानो

काठमाडाैँ -  आलेखको शीर्षक आफैँ बोल्छ कि आलोचकलाई अचानोमा राख्ने प्रवृत्तिले नेपालमा जुगौँदेखि निरन्तरता पाइरहेकै छ र त मुलुक अपेक्षित गतिमा अगाडि बढ्न न विगतमा सक्यो न आजभोलि नै सकिरहेछ। आफू आबद्ध पेसा वा पार्टी नेतृत्वको शुभचिन्तकले नै हो आलोचना गर्ने, समय नघर्र्कंदै सच्चिनका लागि। भड्खालोमा गए जाओस् वा बिग्रे–भत्केको हेरेर खुच्चिङ्ग गर्न रुचाउनेले साखिल्लो पल्टेर ‘बटम–अप’ नभई ‘एस म्यान’ र ‘टप–टु–बटम’लाई आत्मसात् त्यति बेलासम्म गर्छ जतिबेलासम्म आफूले त्यसको रसास्वादन गर्न पाइरहन्छ। त्यस्तो प्रवृत्तिले सहजै सफलता हात लागेको कामलाई आफैँले गरेको भनी जस लिन पनि पछि पर्दैन, मात्र होइन त्यो सदैव ‘गणेश’ प्रवृत्तिको हुने भएकाले अपजस जति अरुलाई थोपर्न मै व्यस्त, मस्त र अभ्यस्त भइरहन्छ। 

समयमै कार्य सम्पादन गर्ने, संस्थाको हित चिताउने, देखेको सत्यलाई स्पष्ट र निडर ढङ्गले खरो रूपमा वस्तुपरक भएर राख्ने राजनीतिकर्मी वा पेसाकर्मी ‘कुमार’हरू भनौँ वा यति बेला चर्चाको शिखरमा रहेका लोक गायक ‘पशुपति शर्मा’हरू त्यसको शिकार भइरहन्छन् र सहजै त्यस्तो परिपाटीको अन्त्य गर्न अहिलेको अवस्थामा असम्भव प्रायः नै छ। नेतृत्वले महसुस नगर्दासम्म ‘कुमार’ हरूलाई घोर आलोचकको रूपमा चित्रण गर्ने गराउने कार्यमा प्रायः सबैले आ–आफ्नो ऊर्जाशील समय खर्चन्छन् नै। 

सहजै सफलता हात लागेको कामलाई आफैँले गरेको भनी जस लिन पनि पछि पर्दैन मात्र होइन त्यो सदैव ‘गणेश’ प्रवृत्तिको हुने भएकाले अपजस जति अरुलाई थोपर्नमै व्यस्त, मस्त र अभ्यस्त भइरहन्छ। 

यसलाई थप प्रस्ट्याउन एउटा उदाहरण हेराैँ। सबैका आमा–बाबुले आ–आफ्ना छोराछोरीको उज्ज्वल भविष्यको कामना गर्छन् नै। त्यसका लागि राम्रो गर्दा स्यावासी र नराम्रो गर्दा आलोचना गरेर बेलैमा सचेत गराएर सच्चिन प्रेरित पनि गर्छन्। मुलुकको हित चिताउने र आबद्ध संघ–संस्थाको नेतृत्वलाई सफल बनाउन चाहने जोकोहीले आफ्नो नेतृत्व भीरको डिलमा नपुग्दै सचेत गराउन ‘कुमार’हरू लालायित नै हुन्छन्। सत्तारुढ दल (नेकपा) को स्थायी समिति सदस्यहरूको केही समय अगाडि बसेको बैठकअघिको चिच्याहट र सोपश्चात् चिकित्सा शिक्षा विधेयेक पारित गर्दाको अरिङ्गालपन एउटा उदाहरण हुन सक्छ। प्रतिपक्ष नेपाली कांग्रेसको अवस्था कति दुरुह र भरोसाहीन छ तस्बिर आफैँ बोल्छ। निःसन्देह भन्न सकिन्छ, काग कराउँदै छ, पिना सुक्दै छ नेपाली कांग्रेसमा अहिले। 

चिकित्सा शिक्षा विधयेक पारित गर्दाका बखत सम्मानित संसद्मा देखिएको छिनाझपटीले ‘मार्सी चामल’को आडिलो पनलाई समेत एकाएक बहसमा ल्यायो र अझै केही समय ल्याई नै रहनेछ। भलै यसले चिकित्सा शिक्षा र जनस्वास्थ्यमा पार्ने दूरगामी प्रभावका विषयमा पक्ष र विपक्षमा उभिनेहरू को (?) सही थिए भन्ने जान्न अबका केही वर्ष सर्वसाधारणले भने कुर्नैपर्नेछ।  विधागत अभिव्यक्तिका विभिन्न माध्यम जस्तैः फुटकर गीत, कविता रचना लगायतका बहस, खुला छलफल र वस्तुपरक तर्क गर्ने, गराउने, गाउने जस्ता असल परिपाटीको अनुसरण गर्नेलाई निषेध र निस्तेज गरी आलोचकको पगरी गुथाउँदा आफ्नो परिक्रमामा जुटेका ‘गणेश’हरूले जय–जयकार गर्दै क्षणिक रूपमै भए पनि हर्षविभोर भएको स्वार्थप्रेरित भक्तिभाव त प्रकट गर्लान् नेतृत्वसामु तर त्यो चिरस्थायी हुँदैन र त्यसले नेतृत्वलाई कदापि सबल अनि सफल पनि बनाउँदैन। एउटै गीति–रचना कति बलशाली हुने रहेछ भन्ने धरातलीय यथार्थ यसले जनमानसमा ल्याएको तरङ्गले यति बेला सबैलाई छ्यांग्यै भएको हुनुपर्छ। सच्चा राजनीति वा पेसाकर्मीले त यस खाले विचार–विमर्श र बहस–पैरवी स्वभावैले गर्छन् र गर्नैपर्छ। देशको मुहार फेर्ने प्रतिबद्धताका कठिन भङ्गालोहरू तर्न र तार्न पनि। त्यस्तो अवसर प्रदान गर्दा–गराउँदा नेतृत्वलाई नै सफलता तर्फको बाटो पहिल्याउन सघाउ पुग्छ। 

टाढाको बिसे नगर्ची भन्दा नजिकको जङ्गे राम्रो त्यसै भनिएको होइन। जङ्गे कराउँछ, चिच्याउँछ तर ऊ सदैव आफू आबद्ध संघ–संस्था र नेतृत्वको साख र प्रतिष्ठाप्रति निरन्तर चिन्तनशील र प्रतिबद्ध हुँदै उस्कै हित चिताइरहेको हुन्छ र त आवश्यक सामग्री पस्कन्छ आ–आफ्ना विधामार्फत। चिच्याउनेको पनि निश्चय नै केही न केही स्वार्थ त होला। उसले देशको भविष्यसँग आफ्नो भविष्य देखिरहेको हुन्छ र त तर्कसङ्गत बहस, पैरवी वा गायनमार्फत आफूलाई खरो ढङ्गले उतार्ने कोसिस बारम्बार गर्छ जस्तोसुकै अवरोधका बावजुद पनि। ‘गणेश’हरू देखावटी रूपमा आबद्ध संस्था र नेतृत्वप्रति बफादारी देखाउँदै त्यसलाई नै भ¥याङ बनाएर अवसर खोज्दै गर्दा ‘कुमार’हरू एकोहोरो आबद्ध संस्था वा देश राम्रो होस्, यसले सही मार्ग पक्रन सकोस् र सबैको भविष्य उज्यालो बनाउन सकियोस् भनेर लागिरहेका हुन्छन्। यद्यपि केही अपवाद र कमी–कमजोरी भने सबै क्षेत्र, तह र तप्कामा हुन्छन् नै। तर राम्रो–नराम्रो छुट्याउन सक्ने नेतृत्व भने अवश्य चाहिन्छ।

भुल्न नहुने सत्य के हो भने सञ्चार जगत्, टिप्पणीकार र सर्जक एकाध अपवादबाहेक प्रायः सबै ‘वाच डग’ वा प्रतिपक्षकै भूमिकामा हुन्छन्। तसर्थ, प्रत्यक्ष भेटघाटका बेला हुने छलफल वा अखबार वा आफ्ना विचार र गायकीमार्फत टिप्पणी गर्ने सबैलाई एउटै डालोमा राखेर ‘नेगेटिभ व्यक्तिको लिस्ट’मा उतार्नु अनि अचानोमा राख्नुअघि सबैले दुईचोटि घोत्लेर शान्त मनले सोच्न सके ‘विरोधका लागि विरोध गरेको हो’ वा साँच्चिनै कमी–कमजोरीलाई मिहिन ढङ्गले केलाएको हो भन्ने खुट्याउन सक्छन् सबैले। क्षणिक लाभ र तुष्टिमा रमाउने जमातको घेराबाट बाहिर आउन नसक्ने राजनीतिकर्मी वा पेसाकर्मी जोकोही ढिलो–चाँडो असफल नै हुन्छन्। भुक्तभोगीहरूले नेपाललाई मनसुन र भनसुनको देश पनि भन्ने गरेको सुनिन्छ। सिक्टा सिँचाइ लगायतका पूर्वाधारका परियोजनाको मौजुदा अवस्थाले एकातिर मनसुनको भर नपरी नेपालीलाई सुख्खै छैन भन्ने धरातलीय यथार्थलाई बोध गराउँछ भने अर्काेतिर घर–दैलो गर्ने, दैनिक हजुरकै सेवक हुँ भनी गजुर लगाउनेहरूको घेराबाट सबै क्षेत्रका नेतृत्वपंक्तिलाई बच्न र बचाउन पनि आज पर्यन्त कठिन भइरहेकै छ। यस्तै परिवेशको झल्को दिने प्रतिविम्बको रूपमा पंक्तिकारले सुनेको पञ्चायतकालको एउटा कथा वा सत्य–तथ्य (?) ले सबैलाई झल्याँस्स पार्न सक्छ कि ? 

प्रत्येक हिउँदमा पूर्व राजा–रानीले विकास क्षेत्रको भ्रमण गर्ने गरेको तथ्य जगजाहेरै छ। एकपटक साबिकको पश्चिमाञ्चल विकास क्षेत्रको प्रमुख नगरी पोखरालाई अस्थायी मुकाम बनाई भ्रमणमा निस्केका बेला तत्कालीन महारानीलाई काँक्रो खान मन लागेछ रे। उनले काँक्रो खाने बताइछन् आफ्ना नजिक रहेकालाई। व्यवस्थापनमा जुटेकाहरू हस्याङ्ग–फस्याङ्ग गर्दै काँक्रो खोज्ने अभियानमा लागेछन्। पुस–माघ महिनाको त्यो ठण्डीमा आजभोलि जस्तो पोलि–टनेलमा बैमौसमी तरकारी फलाउने प्रविधि पनि नेपालमा भित्री सकेको थिएन सायद ! 

राजपरिवारको भक्तिका लागि ठूलै शक्तिले पोखरा वरपर मात्र नभई हेलिकप्टरै लिएर बुटवल, भैरहवा नै पुग्दा पनि देशको सीमाभित्र काँक्रो फेला पार्न सकेन तर सीमापारि सुनौलीबाट किनेर ल्याउन भने सफल भयो रे। रानीले काँक्रो कहाँ फल्ने रहेछ ? भनेर सोधिछन्। दरबारले सालबसाली प्रत्येक विकास क्षेत्रको पालैपालो गर्ने भ्रमणका बेला गराउने गरिएको कृषि मेलामा सबैभन्दा ठूलो फर्सी, मूला, केराको घरी लगायतका कृषि फसल राजा–रानीलाई देखाएर देश विकासको मूल  फुटाएका (?) तत्कालीन सेवकहरूले फ्याट्टै भनेछन् सरकार ! यो काँक्रो हाम्रै बुटवलमा फल्ने रहेछ। रानी पनि अवाक्। यसले देश विकासको परम्परागत दिशा अनि हाम्रो कार्यशैलीको बर्तमान मनोदशा दर्शाउँछ।राजा–रानीका अगाडि त्यतिबेला यो नेपालमा फलेको काँक्रो होइन, भारतीय नाका सुनौलीबाट ल्याएको हो। अब त्यो प्रविधि भित्र्याउने पहल गर्नुपर्छ सरकार ! भनेर कोही निडर तर देशको माया गर्ने सपूतले भन्ने आँट गरेको भए आजसम्म आइपुग्दा मुलुकले विकासका मामलामा ठूलै फड्को मार्न सक्थ्यो होला ? हजुरमाथि गजुर लाउनेकै बहकाउमा लाग्दा अनि त्यस्तो घेराबाट आफूलाई बचाउन वा बाहिर राख्न नसक्दा तत्कालीन समयमा अजय शक्तिको स्रोत ठानिएको दरबारले आफ्नो पुर्खाको विरासत र राजकाज सबै नै एकैचोटि गुमायो। तर गजुर लगाएर व्यक्तिगत फाइदा लिने सबै नै पानी माथिको ओभानो भएर चोख्खिए। कसै–कसैले त दरबारका गतिविधिका बारेमा किताबै लेखी विमोचन गर्नसमेत भ्याए। अहिले पनि त्यसबेलाको अवस्थाबाट खासै भिन्न छैन भन्दा अतिशयोक्ति हुनेछैन। 

प्रत्येक मुद्दामा हुने गरेको स्वच्छ बहसलाई आलोचनाको रूपमा हेरी आलोचक (?) लाई अचानोमा राख्ने परिपाटी आज पनि ‘हात्ती बलियो कि हात्तीछाप चप्पल बलियो’ भने जस्तै अकन्टक चलिरहेको छ। ‘माथि’बाट आएको सबै ‘ब्रह्मवाक्य’ मानेर शिरोधार्य गर्न नसक्नेहरू अनि ‘बटम–अप’मा विश्वास गर्नेहरू क्षणिक रूपमा असफल देखिए पनि कालान्तरमा निःस्वार्थ ढङ्गले हुने बहसले नै जित्छ भन्ने सत्य घाम जत्तिकै छर्लङ्ग छ। जनताले बाख्रा–पाठा बेचेर तिरेको करमा तर मार्नेहरूको लर्कोले मुलुक विकासको गतिलाई सघाउनुको साटो आफ्नो विचारमा असहमति राख्नेको तेजोवध गर्ने खेलमा रमाउने, नेतृत्वलाई त्यतै बहकाउने अनि त्यही परिवेशले झाङ्गिने मौका पाउँदासम्म मुलुक विकासको गति निश्चित रूपमा उँभो होइन उँधो नै लागिरहन्छ। यद्यपि यो सत्यलाई बुझ्न र बुझाउन भने नजाने अझै कैँयन् हिउँद–बर्खा लाग्न सक्छ र थाहा छैन राज्यले अझै कति मूल्य चुकाउनु पर्नेछ। हेक्का राखौँ, समय नभड्किँदै आलोचकलाई आडैमा राख्ने आँट भएको सपूत नै सफल नेतृत्वका रूपमा इतिहासका पानामा सुरक्षित हुनेछ।    

 

प्रकाशित: १६ फाल्गुन २०७५ ०७:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App