८ वैशाख २०८१ शनिबार
समाज

खुकुरी प्रहारबाट दम्पती गम्भीर घाइते

खोटाङ – खोटाङमा खुकुरी प्रहारबाट दम्पती घाइते भएका छन्। छिमेकी दलबहादुर राईले खुकुरीले हानेर जन्तेढुंगा गाउँपालिका–१, देवीस्थानका अमृतबहादुर राई र उनकी श्रीमती बिक्रीमाया राईलाई गम्भीर घाइते बनाएका हुन्।

खुकुरी प्रहारबाट शरीरका विभिन्न ठाउँमा चोट लागेका राई दम्पतीको उपचार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (धरान)मा भइरहेको प्रहरीले जनाएको छ। अमृतबहादुरको गर्दन र अनुहारमा तथा बिक्रीमायाको हात र टाउकामा गहिरो चोट लागेको जिल्ला प्रहरी कार्यालय (खोटाङ)का डिएसपी राजकुमार केसीले बताए। दलबहादुरलाई प्रहरीले सोही रात पक्राउ गरिसकेको छ। घाइते अमृतबहादुरको होस् खुले पनि बिक्रीमायाको अवस्था गम्भीर छ। उनको अझै होस् खुलेको छैन।

५९ वर्षीय दलबहादुरले राई दम्पतीलाई आइतबार राति सुतिरहेकै ठाउँमा गएर खुकुरी प्रहार गरेका थिए। उनीहरूबीच लामो समयदेखि जग्गाको सिमानाको विषयमा विवाद रहेको स्थानीयले बताएका छन्। सोही कारण दलबहादुरले छिमेकीमाथि खुकुरी प्रहार गरेको अनुमान गरिएको छ। घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अभियुक्त दलबहादुरविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा दर्ता गरी कानुनी प्रक्रिया अघि बढाइसकिएको डिएसपी केसीले बताए।

प्रकाशित: १६ फाल्गुन २०७५ ०६:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App