७ वैशाख २०८१ शुक्रबार
खेल

लिभरपुललाई पछि पार्नु पहिलो लक्ष्य

लन्डन – म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले इङ्लिस लिग कपको उपाधि जितेपछि खेलाडीहरूमा अन्य उपाधिको समेत इच्छा जागेको प्रतिक्रिया दिएका छन्।

ग्वार्डिओलाले आफूहरुको पहिलो लक्ष्य इङ्लिस प्रिमियर लिगको शीर्ष टोली लिभरपुललाई पछि पार्नु रहेको प्रष्ट पारे। प्रिमियर लिगमा २७ खेलको समाप्तिमा ६९ अंकका साथ लिभरपुल शीर्ष स्थानमा छ भने साबिक विजेता सिटी ६८ अंकका साथ दोस्रोमा छ।

प्रिमियर लिग विजेता सिटीले आइतबार चेल्सीलाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै लिग कपको उपाधि जितेको थियो। ग्वार्डिओलाले सिजनको सुरुआतबाटै टोलीको लक्ष्य प्रिमियर लिगको उपाधि रक्षा गर्नुका साथै एफए कप, लिग कप र च्याम्पियन्स लिगको उपाधि जित्ने रहेको बताउँदै आएका थिए। 

उनले ४ उपाधिमध्ये एक उपाधि जितेपछि अन्य प्रतियोगिताका लागि समेत टोलीको मनोबल बढेको बताएका छन्। ‘विगत दुई महिनाको बीचमा खेलाडीको मानसिकतामा आएको परिवर्तनले ठूलो अर्थ राखेको छ,’ ग्वार्डिओलाले भने, ‘तपाईसामु उपाधि रक्षाको लक्ष्य छ भने खेलाडीलाई कुनै पनि बाहानाको छुट छैन। म सधैं खेलाडीमा उपाधिको भोक देख्न चाहान्छु।

‘केही साता अघि मात्र उनीहरु हामीभन्दा ७ अंकले अघि थिए । तर अहिले त्यो अंकदूरी एकमा झरिसकेको छ,’ ग्वार्डिओलाले भने, ‘हाम्रो उपाधि रक्षा सम्भावना जीवित नै छ र प्रिमियर लिगमा अझै ११ खेल बाँकी छ। हामीले उपाधि रक्षामा केन्द्रित हुन आवश्यक छ।’

प्रकाशित: १६ फाल्गुन २०७५ ०५:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App