४ वैशाख २०८१ मंगलबार
अन्य

अँध्यारा कथाको उत्खनन्

सावित्री गौतम

‘तिमीलाई सबैभन्दा रमाइलो कतिबेला लाग्छ ?

ममीलाई सपनामा देखेको बेला ..

सबैभन्दा दुःख नि ?

निद्राबाट बिउ“झेको बेला..’ (अस्थिर मनहरू– पृ.१२१)         

‘कहर’ पुस्तकमा जनकराज सापकोटाले आफू पढेको स्कुल चितवन गीतानगरको इन्द्रपुरी मावि पुग्दा ४ कक्षामा पढ्ने मनिका न्यौपानेसँग गरेको वार्तालाप हो यो । दुबईबासी बाबु र साउदीबासी आमाकी छोरी, चम्किलो अनुहार भएकी सफासुग्घर मनिका र लेखकबीचको यो संवाद यति अ“ध्यारो छ, जसका अगाडि वैदेशिक रोजगारीलाई ‘ग्ल्यामराइज’ गर्न वर्षौंदेखि रेमिट्यान्स कम्पनीहरूले प्रयोग गरेका ‘सम्पन्न पार्दैछ जिन्दगी’जस्ता हरेक उज्याला नारा मैला लाग्छन् । नौ वर्षकी मेरी छोरी हरेक राति निदाउनुअघि भन्छे ‘म बिहान उठ्दा हजुर मेरै छेउमा हुनुपर्नेछ ।’ ‘तिमी ८ बजे उठ्छौ, मलाई खाना बनाउन, तिमीहरूलाई स्कुल पठाउन ढिला हुन्छ नि ।’ मेरो जवाफमा ऊ भन्छे ‘भए’नि होस् ।’ हिजोआज छोरीको यो ‘बिहान उठ्दा सँगै हुनुपर्ने’ सर्त दोहोरिएपिच्छे मेरा आ“खाले कहरकी ‘निद्राबाट ब्यु“झेर सपनामा देखिएकी आमा गुमाउन नचाहने’ मनिकाको अनुहार कल्पना गर्न थाल्छ ।

केही वर्ष अघिसम्म बाबुरहित हुने नेपाली घरहरू अचेल आमारहित पनि हुन थालेका छन् । शुक्लपक्षको चन्द्रमा झैँ दिनदिनै हुर्किने आफ्ना छोराछोरीको ‘ग्रोइङ मोमेन्ट्स’ अचेल लाखौँ नेपाली बाबु–आमा इन्टरनेटका भिडियो कलमा हेरेर महसुस गर्छन् । बाबु–आमाले पठाइदिएका लुगा, खेलौना र चक्लेटमा छोराछोरी आफ्नो हिस्साको वात्सल्य र ममता छाम्छन् । किनकि, छोराछोरीको हुर्काइ प्रत्यक्ष हेर्नुभन्दा महŒवपूर्ण छ उनीहरूका लागि तिनै छोराछोरीको प्राण धानेर हुर्काउनका लागि जरुरी पर्ने दालचामलको जोहो ।  बाबु–आमामध्ये एउटाले कमाएर अन्नपातको जोहो गर्छ र अर्कोले उनीहरूलाई हुर्काउ“छ । कोहीकोही बाबुआमै छोराछोरीलाई आफन्तको जिम्मा लगाएर विदेशिन्छन् ।

विशेषगरी खाडी र दक्षिणपूर्वी एसियाका मलेसियालगायतका देशमा रोजगारीका लागि गएका नेपाली नागरिकको दुर्दान्त कथाले कहर भरिएको छ । उतै मारिएका, अंगभंग भएका र अनेक हण्डर खाएका पात्रका नाम फरक छन्, तर दुःख उस्तै छन् । किताबभरि प्रश्न पोखिएका छन् । सम्पन्नता र सुखको परिभाषा के हो ? जिन्दगीको कस्मेटिक मूल्य मूल्यवान् कि पारिवारिक र मानवीय मूल्य ? खरबाट टिनमा बदलिएको छानोको वा सिमेन्टबाट मार्बलमा बदलिएको भुइँको चमक चम्किलो कि माटोकै भुइँमा बसेर घरभरिका परिवारले रुखोसुखो खा“दा अनुहारमा आएको चमक बढी उज्यालो ? त्यो भन्दा अझ महŒवपूर्ण प्रश्न हो, रुखोसुखो भए पनि देशमै खान पाउने अवस्था भए कोही विदेशमा थ्रीडी (डर्टी, डेन्जर, डिमिनिङ ) काम गर्न जान्थ्यो कि जाँदैनथ्यो ? ‘५२ रुपिया“ किलोको गहु“को बीउ किनेर खेती गरेका थिए । अहिले बेच्ने बेला त्यसको मूल्य २२ रुपिया“मात्रै छ । तैपनि, उनका साहु भन्दै थिए– ‘छिटै बेचिहाल्नुस् है नत्र भाउ झनै घट्छ... । घर फर्किंदा मसँग तिर्नुपर्ने कुरामात्रै थियो ...छोराछोरीको स्कुलको शुल्क, पसलको उधारो...। (महाबीरको घरमा महाविपत्ति –पृ. १४७ ) । ‘आफ्नै बारीको आम्दानीले खान पुग्छ ? सलितलाई यो प्रश्न सोध्नु तीखो व्यंग्य थियो ।’ (भगवान् नैह सुनैछै पृ. १८२) । घरपरिवारलाई ऋणमा डुबाएर विदेशमा थ्रीडी काम गरिरहेको परिवारको एकमात्र भरपर्दो सदस्य उल्टो भा“चिएको ढाड बोकेर घर फर्किंदा परिवारको हालत के हुन्छ ?

पैसा कमाउने आशमा खाडी उडेकी छोरीले उतै मृत्युदण्ड पाएपछि कुशको शरीर बनाएर दाहसंस्कार गरेका बूढा बाबु–आमाले ज्वाइँले पहिल्यै त्यागिसकेको छोरीको कलिलो छोरोको सामना अब कसरी गर्न सक्छन् ? –‘पेट दुख्यो बाबु, त्यही भएर रो’को’ (कुशकी शोभा पृ –५३) । बिहान–बेलुका हातमुख जोर्नै हम्मे पर्ने घरबाट विदेश हिँडेर बेपत्ता भएको छोराको खोजी गरिदिन गुहार माग्नका लागि बारम्बार राजधानी धाउ“दा बाबुचाहिँ कसरी कंगालमाथि कंगाल र मानसिकरूपमा हतास बन्छन् –‘बुढेसकालमा कमाएर देला भनेको छोरा हराएपछि मेरो निद हराम भा’छ ...ठ्याक्कै १० पटक काठमाडौँ धाइसकेँ...भैँसी बेचेर हात पारेको ३० हजार रुपैयाँ स्वाहा भयो ...धपेडीले ज्यानै जालाजस्तो भइसक्यो’(सुशीला दिदी, पृ –७४) । स्याङ्जाका कुशल कार्कीको हातबाट मारिएका महोत्तरीका इर्शाद अन्सारीको घरको ठेगाना पत्ता लगाउन स्याङ्जाका सांसद राजु थापा र महोत्तरीका सांसद शिवजी यादवलाई लेखकले गरेको बारम्बारको अनुरोधपछि दिइएको ‘घर पत्ता लगाउन प्रयास भइरहेको’ आश्वासनका बीच पत्ता नलागेको घर जलेश्वर नगरपालिकाभित्रैको वडा नम्बर १३ मा रहेछ भनेर लेखकले सजिलै कसरी पत्ता लगाए ? (कुशल मंगल छैन –पृ. १०७) । विदेशमा मारिएका र मृत्युदण्ड पर्खेर बसेका नागरिकका समस्या र पीडाप्रति समेत यतिसम्म लापरबाह र असंवेदनशील हुन सक्ने राज्यका सरोकारवाला निकायले अरु ठाउ“मा कसरी काम गरेका होलान् भन्ने थाहा पाउन किताबको यही एउटा प्रसंग काफी छ । किताबभरि जतासुकै मनै कोक्याउने गरी यस्तो असंवेदनशीलताको चरम अवस्था देखाइएको छ । ‘पतिको जीवनमृत्युको दोसा“धबाट तिलमिलाएकी कृष्णाकुमारी सरकारी अधिकारीको एउटै जवाफबाट थाकिसकेकी छन् । थाहा छैन उनलाई ‘त्यो माथि’ कस्तो दुनियाँ छ ? त्यहा“ कस्ता मान्छे बस्छन्, जसलाई एउटा पत्रको जवाफ फर्काउन साढे दुई वर्षभन्दा लामो समय लाग्छ ।’ (कफिन हिँड्ने बाटो –पृ.२१४)

वैदेशिक रोजगारीमा जानेहरूको, घाइते र अंगभंग भएकाको संख्या, वर्षौंदेखि तोकिएको भन्दा बढी रकम तिरेर खाडीमा निकृष्ट श्रममा जान अभिशप्त नेपालीको अवस्था, उनीहरूमाथि भएको श्रमशोषण, पाउनुपर्ने क्षतिपूर्ति रकम, मृत्यु वा शारीरिक क्षतिलाई सम्बोधन गर्न पुग्ने गरी नबनेको सरकारको ऐन कानुनजन्य कमजोरी, मृत्यु भएकाको लास घर फर्काउन समेत नसक्ने सम्बन्धित दूतावासहरूको लाचारी आदिलाई लेखकले तथ्यांकसहित प्रस्तुत गरेका छन् । विभिन्न जर्नल, किताब, वैदेशिक रोजगार विभाग, अर्थमन्त्रालय, परराष्ट्र मन्त्रालय र एम्नेस्टी इन्टरनेसनलसमेतले प्रस्तुत गरेका आधिकारिक तथ्यांकसहितका खा“दाखा“द विवरणले किताबलाई एउटा महŒवपूर्ण दस्ताबेजको बनाएको छ ।  

यीबाहेक वैदेशिक रोजगारीमा रह“दा दुःख पाएका र मारिएका व्यक्तिका आफन्तको पीडा र देशको लाचारीलाई लेखकले दृश्यवर्णन र उद्धरणमार्फत् जीवन्त बनाएका छन् ।

‘उनको आ“सुको प्रत्येक ढिक्कामा शोभाको स्मृति छचल्किरहेको थियो ।’ (पृ. –७२)

‘तिमीजस्तै त थियो मेरो छोरा । ऊ यही खाटमा उभिएको भए पहाडजत्रो देखिन्थ्यो’ (पृ. –१०६)

‘सकुन्जेल त मैले पढाउ“ला...पढेर पनि कतार—दुबई जालान् भन्ने पीर छ ...तरतरी पसिना काढेर पढाएका छोराहरू तरतरी पसिना काढ्ने देशमा पुगे भने के होला ?...विदेशको कमाइले भान्छाको स्वाद फेरियो...तर जिन्दगीको नक्साचाहिँ...? राज्यले दिन नसकेको जवाफ मैले दिनसक्ने कुरै थिएन ।’ (पृ. –१२५)

गैरआख्यान लेख्दा अपनाइनुपर्ने ‘सार्पनेस’को कमी भने किताबको खट्किँदो पक्ष हो । दृश्यवर्णनले नै किताबलाई मर्मस्पर्शी बनाएका लेखकले कतैकतै यही कारण किताबलाई बोझिलो बनाएका छन् । ‘बिहानदेखि चिसो हावा जोडले चलिरहेको थियो ...मकै र गहु“को सुगन्ध फैलाइरहेको थियो’ (पृ.–१४६) । यस्ता दुई–तीन हरफका प्रसंग किताबमा थुप्रै ठाउ“मा आउ“छन् । ‘फिक्सन’मा जस्तो लेखकलाई ‘फैलने’ स्वतन्त्रता ‘ननफिक्सन’मा हु“दैन, सीधै विषयमा प्रवेश गर्नुपर्छ भन्ने हेक्का राख्न बिर्सेर लेखक बेलाबेला खेत, घर, गाउ“ वा जातिविशेषको विशेषताको बयान गर्न थाल्छन् । धेरैपटक उनी ‘हाइपोथेटिकल’ पनि बनिदिन्छन् । जुन दृश्यवर्णन र हाइपोथेसिसले किताबका अध्यायहरूलाई अनावश्यक लम्ब्याइएिको छ । ‘अपना किशोरीजीके टहल बजबै’..‘परदेसिन नपरेको भए सलित यसैगरी लय हालेर लोरी गाउ“थे...’(पृ. –१७५) । उल्लेख गरिएको मैथिली भाषाको लोरी सुन्दर छ, तर लेखकले कल्पना गरेर सीके लालसँग यो लोरी सापट माग्नुको सट्टा सलितले साँच्चिकै गुनगुनाइरहने मैथिलीको कुनै गीत वा लोरी राखिदिएको भए बढी ‘आधिकारिक’ हुन्थ्यो । हरेकजसो सहरमा पुग्दा रेडियोमा सुनेका वैदेशिक रोजगारीका विज्ञापनका प्रसंग पनि किताबमा दोहो¥याइदोहो¥याइ लेखेका छन् । यसको सान्दर्भिकता एकपटकभन्दा बढी हुँदैन । 

‘सुशीला दिदी’ शीर्षकमा उनका श्रीमानको मनमौजी स्वभाव र पहाडबाट बसाइँ सरेर आएको अनुभवमा लेखक धेरै अल्झेका छन् । सुरुआतदेखि नै पाठकलाई थाहा भैसकेको हुन्छ, किताबका सबै अध्याय मन कोक्याउने विषयवस्तुमा केन्द्रित छन् । कुनबेला पूरै किताब पढिसकु“ र यो कहालीबाट बाहिर निस्कु“ भनेर पढिरहेको पाठकलाई लेखक आफैले ‘फोकसआउट’ भएजस्तो गरी हल्काफुल्का प्रसंगमा अल्झाइराख्दा अत्यास लाग्छ । ‘महावीरको घरमा महाविपत्ति’ मा उनी भाजुको घरसम्म पुग्न निकै बेर लगाउ“छन् । ‘कफिन हिँड्ने बाटो’मा उनले आफ्ना लाहुरे हजुरबाको लामो प्रसंग उल्लेख गरेका छन् । यो प्रसंगलाई किताबको पहिलो अध्याय बनाइएको भए लेखकलाई पारिवारिक पृष्ठभूमिका कारण पनि वैदेशिक रोजगारीको ‘डार्कसाइड’तर्फ रूचि लागेको रहेछ भन्ने थाहा पाउन सजिलो हुन्थ्यो ।

यस्ता केही अथवा सामान्य कमजोरीबीच सापकोटाको कहर नेपालमा वैदेशिक रोजगारीको अवस्थाबारे अध्ययन गर्न र विशेषगरी त्यसको अ“ध्यारो पाटोबारे जान्न चाहनेका लागि एउटा महŒवपूर्ण ‘रिसोर्स मटेरियल’ हो । किताब कति शिल्प प्रयोग गरेर लेखियो भन्ने भन्दा कैयौँ गुणा महŒवपूर्ण छ– किताबभित्र के लेखिएको छ भन्ने कुरा । लेखकले उठान गरेको विषय यति गहन र महŒवपूर्ण छ कि त्यसले उनको लेखनका अरु कमजोरीलाई सजिलै छाया“मा पारिदिएको छ । किताबले वैदेशिक रोजगारीका कारण थिलथिलो र कुरूप भइसकेको देशको सामाजिक÷आर्थिक अवस्थाको चित्र यसरी देखाएको छ, वर्षौंसम्म हिमाल, ताल र डा“डाकाडाको वर्णन गरिएकोे साहित्यमा ‘सुन्दर नेपाल’ हेरेर लठ्ठिइरहेका हामी ‘कसैले पानी छ्यापेर बिउ“झाइदिएझैँ गरी’ होसमा आउने छौँ ।

पुस्तक : कहर (गैरआख्यान)

लेखक: जनकराज सापकोटा

प्रकाशक : वि रिड

मूल्य : रु. ३५०

 

 

प्रकाशित: २२ आश्विन २०७३ १०:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App