८ वैशाख २०८१ शनिबार
अर्थ

‘डेरी उद्योगमा विदेशी लगानी अनावश्यक’ : व्यवसायी

काठमाडौं – पशुपालन तथा दुग्ध व्यवसायमा विदेशी लगानी खुला गरे करिब २० अर्ब रुपैयाँ लगानी जोखिममा पर्ने भन्दै डेरी क्षेत्रमा विदेशी लगानी आवश्यक नभएको व्यवसायीले बताएका छन्। सरकारले तयार गरेको विदेशी लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७५ मा पशुपालन तथा दुग्ध प्रशोधन व्यवसायमा विदेशी लगानी खुला गर्ने प्रस्ताव गरेपछि निजी क्षेत्र सशंकित भएको छ। विधेयक उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले तयार गरेको हो।

आन्तरिक खपतका लागि आवश्यक पर्ने करिब ८० प्रतिशत दूध स्वदेशमा उत्पादन भइरहेको अवस्थामा डेरी क्षेत्रमा विदेशी लगानी खुला गर्न नहुने नेपाल डेरी एसोसिएसनले जनाएको छ। सरोकारवालासँगको छलफलमा कृषि तथा पशुपक्षी मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले पशुपालन तथा दुग्ध प्रशोधन व्यवसायमा विदेशी लगानी नखोल्ने प्रतिबद्धता जनाए पनि प्रस्तावित विधेयकमा विदेशी लगानी खुला नगरिएका सूचीबाट हटाएकोमा व्यवसायीले चिन्ता व्यक्त गरेका छन्।

दुग्ध व्यवसायमा विदेशी लगानी आए स्वदेशी लगानी धरापमा पर्ने नेपाल डेरी एसोसिएसनका पूर्वअध्यक्ष सुमित केडियाले बताए। ‘नेपालीले नै लगानी गर्न सक्ने यो क्षेत्रमा विदेशी लगानी आवश्यक छैन,’ केडियाले नागरिकसँग भने, ‘डेरी उद्योगमा विदेशी लगानी जरुरी छैन।’

विदेशी लगानीसम्बन्धी विधेयकमा पशुपालन तथा दुग्ध व्यवसायमा विदेशी लगानी खुला गर्ने प्रस्तावको विरोध।

सरोकारवालाको छलफलमा लघु उद्यम, घरेलु उद्योग, कृषिका प्राथमिक उत्पादनका क्षेत्रहरु एवं पशुपालन, कुखुरापाल, मत्यसपालन, मौरीपालन, दुग्ध प्रशोधन व्यवसायमा विदेशी लगानी खुल्ला नगर्ने सहमति भए पनि कुखुरापालन बाहेक यी अन्य क्षेत्रमा विदेशी लगानी खुला गर्ने गरी विधेयक प्रस्तावित गरिएको एसोसिएसनले जनाएको छ। मुलुक दूधमा आत्मनिर्भर हुन लागेकाले विदेशी लगानी आए हजारौंको रोजगारी गुम्न सक्ने व्यवसायी बताउँछन्। डेरी सञ्चालकले विदेशी लगानीका लागि बाटो खोल्ने व्यवस्था प्रस्तावित विधेयकबाट हटाउन माग गरेका छन्। 

बहुराष्ट्रिय कम्पनीले नाफामा मात्र ध्यान दिने भएकाले यहाँ साना उद्योगी समस्यामा पर्ने एसोसिएसनका महासचिव प्रल्हाद दाहालले बताए। ‘विदेशी कम्पनीसँग साना उद्योगले प्रतिस्पर्धा गर्न पनि सक्दैनन्,’ दाहालले भने, ‘स्वदेशी लगानी धरापमा परे डेरी उद्योगमा आश्रित करिब साढे चार लाख किसान पनि मर्कामा पर्नेछन्।’ एसोसिएसनका अनुसार अहिले दैनिक करिब ४८ लाख ५० हजार लिटर दूध उत्पादन हुन्छ। दूध बिक्री गरेर दैनिक तीन करोड रुपैयाँ सहरबाट गाउँमा जाने गरेको छ। 

मुलुक पोल्ट्रीमा आत्मनिर्भर भएकाले सरकारले वैदेशिक लगानी बन्द गरेको छ। दुग्ध क्षेत्रमा पनि नेपाल आत्मनिर्भरताको बाटोमा लागेकाले विदेशी लगानी आवश्यक नभएको र नेपाली व्यवसायी सक्षम भएको एसोसिएसनले जनाएको छ। प्रतिव्यक्ति प्रतिवर्ष ९० लिटर दूध आवश्यक पर्नेमा अहिले करिब ७५ लिटर पुुगेको र केही वर्षमा नपुग १५ लिटर पनि उत्पादन हुने व्यवसायीको दाबी छ।

यसअघि भने सरकारले स्वदेशी डेरी उद्योगको लगानी जोखिममा परेपछि सरकारले विदेशबाट धुलो दूध आयात गर्न प्रतिबन्ध लगाएको थियो। आर्थिक वर्ष ०७४÷७५ मा २१ लाख ४० हजार टन  दूध उत्पादन भएको थियो। सरकारले दूध उत्पादन वृद्धिसँगै दूध बजारलाई व्यस्थित बनाउने प्रयास पनि सुरु गरेको छ। 

कृषिमा विदेशी लगानी आवश्यक नभएको विभिन्न दल सम्बद्ध किसानका पेसागत संघ–संस्थाले विरोध गर्दै आएका छन्। कृषि क्षेत्रमा प्रत्यक्ष विदेशी लगानी ल्याउने सरकारको योजना २० वर्षे दीर्घकालनि कृषि विकास रणनीति विपरित भएको किसान नेताले आरोप लगाउँदै आएका छन्। कृषिको औद्योगिकीकरण, व्यवसायीकरणको नाममा हचुवाको भरमा सरकारले यस्तो प्रस्ताव गरिएको भन्दै विरोध सुरु भएको छ। नेपालमा कृषि क्षेत्रमा लगानीको अभावमा व्यवसायीकरण र आधुनिकीकरण हुन नसकेको चर्चा चल्दै आएको थियो।

 

प्रकाशित: १६ फाल्गुन २०७५ ०४:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App