coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

राज्य व्यवस्था समितिमा यसरी आयो दुर्घटनाको खबर

काठमाडौं - प्रतिनिधिसभाको राज्य व्यवस्था समितिको बैठक बुधबार बिहान साढे ११ बजे बोलाइएको थियो। निर्धारित समयभन्दा केही ढिलोगरी समितिको बैठक बसेको थियो। नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि सहमति भएका विषयमा तयार गरेको प्रतिवेदन उपर पुनः छलफल भएको थियो। समितिमा सदस्यको उपस्थिति पनि ठूलै थियो भने सञ्चार माध्यमहरू पनि उल्लेख्य थिए।

छलफलका क्रममा नागरिकता विधेयकको दफा ४ मा रहेको व्यवस्थामाथि छलफल हुँदै थियो। समितिमा गृहमन्त्रालयका सचिव प्रेमकुमार राईको पनि उपस्थिति थियो। समितिमा विवाद भएका विषयलाई गृहसचिव राईले स्पष्ट पार्दै गएका थिए।

विधेयकको दफा ४ मा रहेको व्यवस्थामाथिको छलफलका क्रममा गृहसचिव प्रेम राईलाई गृहमन्त्रालयबाट टेलिफोन आयो। समिति चलिरहेका बेला गृह मन्त्रालयबाट फोन आएपछि आँखाको इसाराले समिति सभापति शशी श्रेष्ठसँग अनुमति माग्दै उनी बाहिर निस्किए। बाहिर निस्केर पाँच मिनेट जति फोनमा व्यस्त भएका थिए। उनी फोनमा कुरा गर्न गए पनि समितिमा छलफल जारी नै थियो। फोनको कुरा सकेपछि गृहसचिव बैठककक्षभित्र पसी आफ्नो सिटमा बसेका थिए। उनी सिटमा बस्दाबस्दै कुनै कुरा बताएनन्। उनी बस्दा नेकपाका सांसद झपटबहादुर रावलले भनिरहेका थिए, ‘एक हातमा सिन्दुर र एक हातमा नागरिकता हुन सक्दैन।’

माल्दिभ्सलगायतका देशको उदाहरण दिदै विदेशीले वैवाहिक सम्बन्धबाट नेपाली नागरिकता लिदा कडा कानुन बनाउनुपर्ने उनले बताएका थिए। सांसदको भनाइ सकेपछि मात्रै गृहसचिव राईले मसिनो स्वरमा भने, ‘एउटा दुःखद खबर आयो म यहाँ बताउन गइरहेको छु, पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहितको टोली चढेको हेलिकप्टर दुर्घटनामा परेको छ।’ उनले यो कुरा भन्दा नेपाली समय अनुसार दिउँसोको १ बजेर ५५ मिनेट गएको थियो। सायद यो नै सञ्चारमाध्यमका लागि पहिलो खबर थियो। त्यसपछि त्यहाँ रहेका विद्युतीय सञ्चारमाध्यमले आ–आफ्नो सञ्चार गृहमा खबर गरिरहेका थिए भने समिति सभापतिले बैठक अर्को सुचना नभएसम्म स्थगित भएको घोषणा गरेकी थिइन्।

प्रकाशित: १६ फाल्गुन २०७५ ०३:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App