coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

जनजीवन प्रभावित, अन्नबाली सखाप

साइपाल गाउँपालिमा रहेको आग्ररामा किसानको खेतमा जमेको बाक्लो हिउँ। तस्बिर : जगत/नागरिक

धनगढी/बझाङ -  सुदूरपश्चिमका उच्च पहाडी र हिमाली भेगमा बुधबार हिमपात भएको छ। सुदूरपश्चिम प्रदेशका बझाङ, दार्चुला, बाजुरा, अछाम, बैतडी, डोटी र डडेल्धुरामा हिमपात भएको हो। यी जिल्लाका विभिन्न बस्तीमा यसपालि पटक–पटक हिमपात भइरहेको स्थानीयले बताएका छन्। सुदूरपश्चिमका बस्तीहरूमा लगातार यति धेरैपटक हिमपात भएको दुई दशकयताकै पहिलोपटक भएको स्थानीयको भनाइ छ। मंसिर २६ बाट सुरु भएको हिमपात पटकपटक गरी अहिलेसम्म जारी छ।

पानी अभावमा खेतमा लगाइएको हिउँदेबाली गहुँ, जौ, मुसुरो, उवालगायतका बाली नटुसाएर किसान चिन्तित भइरहेका बेला पहिलोपटक मंसिरको अन्तिममा हिमपात भएको थियो। एकपछि अर्को गर्दै लगातार हिमपातको असर बालीनालीमा परेपछि भने किसानको खुसी बेकार बन्न पुगेको छ। ‘अहिलेको हिमपातले अन्नबाली नष्ट हँुदा हामी किसानलाई ठूलो नोक्सान भएको छ।’ बझाङ साइपाल गाउँपालिका–४ का असभाने रोकायाले भने, ‘हामी गरिब किसानलाई केहीले पनि सुख नदिने भयो, पहिले खडेरीले समस्या अहिले पटक पटकको हिमपातले, बालीनाली नष्ट भयो।’ हिउँदे बाली नोक्सान हुने भएपछि किसानहरू जेठ महिनामै भोकमरी सुरु हुने भन्दै चिन्तित बनेका छन्। ‘सुरुमा सुक्खा खडेरी भएर खेतमा लगाएको गहुँ, जौ र उवा राम्रोसँग उमे्रेन, अहिले लगातारको हिमपातका कारण हिउँमाथि हिउँ थुप्रिएर बाली सखाप भएको छ,’ उनले भने, ‘हामीले अन्न बाली भित्र्याउने समय जेठ र असारमा खाद्यान खोज्नुपर्ने देखिएको छ।’ यो वर्ष एघारपटक हिमपात भएको उनले बताए।

हिमाली गाउँहरूमा अन्न उब्जनी कम हुन्छ। ‘खडेरी भएर अन्न नटुसाएका बेला भएको हिमपातले दिएको खुसी हिमपातले नै खोसेर लगेको छ,’ जयपृथ्वी नगरपालिका–११ धामीलेका उमशंकर जोशीले भने, ‘यस वर्ष गरिब किसानको अन्न भिœयाउने सपना हिउँले लगेको छ।’ सुदूरपश्चिमका हिमाली भेगमा अन्नबाली लगाएको खेतमा दुई फिटभन्दा बढी हिउँ जमेको स्थानीयले बताएका छन्। हिमाली भेगमा जमेको हिउँले ओहोरदोहोर गर्न पनि समस्या भएको उनीहरू बताउँछन्।

हिउँदमा हिउँ नपरे अन्नबाली राम्रो हँुदैन भन्ने पुरानो मान्यता छ। भिरालो जमिनमा लगाएको गहुँ, जौ र उवा बालीलाई यो वर्षको हिमपातअभिशाप बनेका जोशीको भनाइ छ। हिमाली भेगबाट सदरमुकाम चैनपुर आउन हिउँले गर्दा बाटो नै छैन। तीन दिन लाग्ने बाटोमा पाँच दिन लगाउनुपरेको उनको भनाइ छ।

‘अकासे पानीको भरमा खेती लगाउने हामी किसान दुईतीनपटकको हिमपात हुँदासम्म निकै खुसी थियौं,’ अर्का किसान बिर्ख बोहरा भन्छन्, ‘अहिले त्यो खुसी बाँकी रहेन, सबै किसान चिन्तित छौं।’ यसपाली हिउँदे बालीमा निकै ठूलो नोक्सानी बेहोर्नुपरेको किसानहरूले बताएका छन्। केही हिउँले खायो केहीको जरा नै हिउँले उखेलेर सुकाइदिएको उनीहरू बताउँछन्। ‘आकाशमा बादल लागेर वर्षा र हिमपात हुन लागेको दुई महिना भइसक्यो,’ उनी भन्छन्, ‘ घाम नै देख्न पाइएको छैन।’ आगोमा सेकिएर नै दिन बिताइरहेको उनीहरू सुनाउँछन्।

हिउँसँगै आवश्यकताभन्दा बढी पानी परेकाले (बेसी) का किसानको अन्नबाली पनि नोक्सान भएको जयपृथ्वी–४ गोलाईका ७५ वर्षीय जोगबहादुर खातीले बताए। एउटै साल लगातार यति धेरैपटक हिमपात भएको बीस वर्षअघि मात्र देखिएको उनले बताए। ‘बीस वर्षपहिले यसरी हिमपात भएको देखेको छु,’ उनले भने, ‘यसपालि अचम्म पार्नेगरी हिमपात भएका छन्।’ भिरालो तथा पाखो जमिनका लागि हिउँ जम्नु राम्रो हो। हिउँले माटोमा भएका खाद्यबालीलाई नोक्सान गने कीरा नष्ट गर्नुका साथै जमिन ओसिलो बनाएर दाना पुष्ट र बिरुवा पनि पोटिलो बनाउने कृषि प्राविधिकहरू बताउँछन्। तर यो वर्ष आवश्यकताभन्दा बढी हिमपात भएकाले कृषकलाई नोक्सान पुगेको उनीहरूको भनाइ छ। ‘यो वर्ष धेरै बढी हिमपात भएकाले किसानहरुलाई फाइदाको सट्टा नोक्सान भएको छ,’ ज्ञान कुञ्जका (साबिक कृषि विकास कार्यालय) जेटिए रामलाल जोशी भन्छन्। जिल्लामा खाद्यान्न उब्जनी निकै कम हुने र यो वर्ष हिमपातले गर्दा उब्जनी कम हुने उनी बताउँछन्।
सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक सुरज केसीले बुधबार राति र बिहीबार सुदूरपश्चिमका पहाडी सातवटै जिल्लाका उच्च भागमा हिमपात भएको बताए। बाजुराको उत्तरी भेगका बस्ती, अछाममा खप्तडनजिका बस्तीमा हिमपात भएको छ। यसैगरी, दार्चुलाका बस्तीमा हिमपात भएको छ। बैतडी र डडेल्धुराका पनि डाँडाकाँडामा बिहीबार हिमपात भएको उनले बताए। यो वर्ष लगातार धेरै हिमपात भएकाले हिमाली भेगको जनजीवन प्रभावित भएको उनले बताए। 

प्रकाशित: १६ फाल्गुन २०७५ ०३:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App