coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

दमकले गुमायो विकासका योजनाकार

दमक - प्रधानमन्त्रीका निजी सचिव युवराज दाहालको ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा मृत्यु भयो। सामान्य परिवारका दाहाल धनकुटाका हुन्। ३ वर्ष ६ महिना दमक नगरपालिकाका कार्यकारी अधिकृत हँुदै प्रमुख प्रशासकीय अधिकृतसम्म भए। केपी शर्मा ओली प्रधानमन्त्री भएपछी उनी निजी सचिवका रूपममा काम थाले। सामान्य परिवारका उनी अधिकृत हँुदै दमकमा आएका थिए।

दमकमा रहँदै उपसचिव भए। दमक जेसिसका पूर्वअध्यक्ष चन्द्र खत्री दाहाललाई उत्कृष्ट कर्मचारीका रूपमा स्मरण गर्छन्। ‘सबैलाई न्याय गर्न सक्ने एकजना कुशल नेतृत्व उहाँमा थियो,’ उनले सम्झिए, ‘दमकको विकासमा उहाँको योगदान अतुलनीय छ। दाहाल कार्यकारी भएर आएपछि दमकको विकासका योजना आएका थिए।’ दमकका सडक फराकिलो बनाउने सँगै दमकमा ठूलाठूला योजना ल्याउने उनकै प्रस्ताव थिए। त्यसमा उनीसँगै प्रधानमन्त्री ओलीले पनि साथ दिए। दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली विकास निर्माणका योजना ल्याउन दाहाललाई अब्बल ठान्छन्। प्रशासन चलाउने, योजना निर्माण र त्यसको कार्यान्वयनमा उहाँको विशेष दख्खल थियो, ओली सम्झन्छन्, दमकलाई समृद्ध बनाउने सपना उहाँकै पालाबाट सुरु भएको हो। ओलीले दाहालका सपना पूरा गर्ने अभिभारा सबैमा आएको समेत उल्लेख गरे। दाहालले नै दमकमा नमुना सडक बनाउने, भ्यु टावर, औद्योगिक पार्क, बुद्धको मूर्ति, सभागृह निर्माणको प्रस्ताव तयार पारेका थिए।

यसअघि इलाममा समेत कार्यकारी भएर काम गरेका दाहालले दमकलाई हरित नगर बनाउने सपना भने त्यतिकै छाडेर गएका छन्। प्रमुख ओलीले दाहालले तयार गरेका योजनालाई मूर्त बनाउनका लागि नगरपालिकाले पहल थाल्ने बताए। ‘उहाँका योजना पूरा गर्ने जिम्मेवारी सबैमा आएको छ,’ ओलीले भने, ‘त्यसका लागि सबैको सहयोग आवश्यक हुन्छ।’ पत्रकार मञ्च दमकका पूर्वअध्यक्ष गोपाल झापाली कर्तव्यनिष्ट र समन्वकारी भूमिकामा सधैं दाहाललाई पाएको बताए। सञ्चारमैत्री दाहालकै पालामा सुरु भएको नगर बुलेटिनका सम्पादक समेत रहेका झापालीले भने, ‘सबैलाई समन्वय गर्न सक्ने क्षमता दाहाल सरसँग थियो।’

झापाको गौरीगन्जकी बन्दना पौडेलसँग करिब ११ बर्ष अघि विवाह बन्धनमा बाधिँएका दाहाल परिवारका कान्छा छोरा हुन्। उनका दाजु कृषि विकास बंैकमा कार्यरत छन्। दाहालकी भान्जी देवका खतिवडाले परिवारमै सबैसँग मिलनसार व्यक्तित्व दाहालको रहेको बताइन्। ‘उहाँले मुलुकको विकासका अजेन्डा सुनाउनुहुन्थ्यो,’ उनले भनिन्, ‘तर खै अब ती कसले पूरा गर्ने ?’ दाहालका एक छोरा र छोरी छन्।

प्रकाशित: १६ फाल्गुन २०७५ ०३:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App