coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

मृत्युको सौन्दर्य

विप्लव ढकाल

म आँगनको धुलोमा चराको चित्र कोरिरहेको थिएँ । बुवा हातमा बसिला लिएर हलो ताछिरहनुभएको थियो । नजिकै परेवाहरू गीत गाउँदै चारो टिपिरहेका थिए । बाख्राका पाठाहरू छुनुमुनु गर्दै मेरो कलिलो काँधमा चढेर खेलिरहेका थिए । मैलो लुगा लगाएका चूडामणि जिबा परैबाट हल्ला गर्दै आउनुभयो‘ ‘ए ठूलाबारी जेठा ! तैँले थाहा पाइस् ? राजा त मरेछन् नि !’

 

बुबा बसिला फालेर जुरुक्कै उठ्नुभयो । म पनि झसङ्ग भएँ । राजा महेन्द्रको मृत्युका बारेमा उहाँहरूका संवाद सुनेर मेरो मनमा अनौठो त्रास उत्पन्न भयो । त्यतिबेला म ४ वर्षको थिएँ । मैले दौडिँदै गएर हजुरआमालाई सुनाएँ । आमालाई सुनाएँ । उहाँहरू पनि हस्याङ्फस्याङ गर्दै आँगनमा आउनुभयो । दिउँसो आमालाई सोधेँ– ‘आमा, राजा पनि मर्छन् र ?’ आमाले सहजै उत्तर दिनुभो– ‘राजा पनि हामीजस्तै मान्छे हुन्, मर्छन् ।’ ‘अनि हामी पनि मर्छौं त ?’ ‘हो, हामी पनि एक दिन मर्छौं !’ आमाको यस्तो कुरा सुनेर मेरो बालमनोविज्ञानमा पहिलोचोटि मृत्युभयको आँधी चल्यो । दिनभरि केही खान मन लागेन । खेल्न मन लागेन । सुत्न मन लागेन । रातभरि भित्तातिर फर्केर रोइरहेँ ।

धेरै पछिसम्म मृत्युको सन्त्रासले सपनामा पनि म झस्किरहन्थेँ । हो, त्यही मृत्युसँग जीवनका विभिन्न मोडहरूमा मैले पटकपटक साक्षात्कार गरेको छु । यी प्रसंगहरू मेरो अनुभव र स्मृतिका सबभन्दा डरलाग्दा पुँजी हुन् । मैले कुनै उपन्यास लेखेको थिएँ भने यी घटनाहरू मृत्युको सौन्दर्य बनेर आउने थिए होला । मैले लेख्न नसकेको उपन्यासका सबैभन्दा मार्मिक अंग बनेर आउने थिए होला । कवितामा कति अभिव्यक्त गर्न सक्छु, थाहा छैन । मेरो जीवनको नजिकै आएर खाली हात फर्किएको मृत्युसँग सम्बन्धित केही प्रमुख घटना यहाँ उल्लेख गर्छु ।

 

काठे पीपलमा चचहुई

मेरो गाउँनजिकै एउटा अजंगको भीर छ । त्यो भीरको नाउँ भुवानको भीर हो । बाल्यकालमा गोठालो जाँदा मैले त्यही भीरको थाप्लोमा बसेर रेडियो सुन्दै, गीत गाउँदै र कविता लेख्दै अधिकांश समय बिताएको छु । त्यो भीरको टुप्पामा एउटा काठे पीपलको रुख छ । त्यसका हाँगाहरू कपालझैँ नुहिँदै भीरैभीर तल्तिर झरेका छन् । ती हाँगाहरूमा दिलबहादुर कुमाल र मैले बाँदरझैँ चचहुई गर्दै धेरैचोटि पिङ खेलेका थियौँ । त्यहाँबाट खसियो भने लगभग तीन सय मिटर तल एकैचोटि खुँदुर्काको जंगलमा पुगिन्थ्यो । कुनै पनि दिन हामी अकालै मर्ने थियौँ र हाडखोड पनि कसैले भेट्ने थिएन ।

त्यही रुखमा सैसैला खेल्दाखेल्दै एक दिन हजुरआमाले थाक्लेको डाँडाबाट देख्नुभएछ । अत्तालिँदै आउनुभयो । उहाँको कडा स्वभाव हाम्रा लागि आतंकको छायाँ नै थियो । त्यही छायाँ आफूतिर आएको देखेर भाग्नलाई हतार गर्दा मेरो हात झन्डै चिप्लियो । तर, उहाँले साह्रै नरम र मायालु आवाजमा फकाईफकाई ‘बिस्तारै ओर्ल बाबु, बिस्तारै ओर्ल’ भन्नुभयो । हजुरआमा रिसाउनुभएको छैन भनेर हामी ढुक्क हुँदै रुखबाट ओर्लियौँ । भुइँमा ओर्लिनासाथ उहाँले मेरो पाखुरामा च्याप्पै समात्नुभयो र डाँको छोडेर क्वाँक्वाँ रुँदै धँगेराको लट्ठी नै भाँचिने गरी पिट्न थाल्नुभयो । जिउभरि सुम्लैसुम्ला उठे । म पनि हिक्का छोडेर रुन थालेँ । लट्ठीको चोटले भन्दा पनि चकचके नातिको मायाले हजुरआमा रोएको देखेर मुटुमा भक्कानो प¥यो । अचेल त्यस ठाउँमा पुग्दा म आफूलाई बाल्यकालमै मरिसकेको ठानेर मनमनै श्रद्धाञ्जली अर्पण गर्छु ।

 

सुगासर्पको संगीत

११–१२ वर्षको उमेरतिर पिँजराभित्र सुगा पालेर मान्छेको भाषा सिकाउनु मेरो दैनिकी थियो । सुगाले त मेरो भाषा बोल्यो, तर मैले उसको भाषा बोल्न जानिनँ । हामीले गाईबाख्रा चराउने खजौरे, दमाई चिहान, रमिते, गायोढुंगा, माधे ओढार, डाँडाखर्क, खँदार, चिउरी ढाँड, बाँझागरा र हङ्ग्रायो खोलाको दोभानतिर पाइन्थे सुगाका बच्चाहरू ।

एक दिन ओमबहादुर र म घरबाट भागेर सुगाका बच्चा खोज्न जंगलतिर गयौँ । दिनैभरि सालका रुखहरूमा सुगाको गुँड खोज्दाखोज्दै झमक्कै साँझ परिगयो । भोक, तिर्खा, थकाइ र डरले हामी आधाप्राण भइसकेका थियौँ । कतै चढ्नै नसकिने अजंगका रुखहरू ! कतै रित्ता गुँडहरू मात्र भेटिन्थे । निराश भएर रमिते ढुंगानिर आइपुग्दा एउटा खुम्रे रुखमा बाटुलो टोड्को देखियो । म कम्मरमा खुकुरी भिरेर सुगाको संगीत सुन्न बल्लतल्ल रुखमा चढेँ ।

रुखको प्वालमा कान थापेर सुनेँ । मधुरो आवाज आए जस्तो लाग्यो । सुगाका बच्चा हुन् कि हैनन् भन्ने यकिन गर्न प्वालमा जोडजोडले फुकेँ र सानो लट्ठी घुसारेँ । तर, दुर्भाग्य ! प्वालबाट एउटा चिसो न चिसो सर्प निस्केर मेरो काँधमा हाम्फाल्यो । मैले आत्तिएर चिच्याउँदै हातखुट्टै छोडेछु । खम्रङ्गै तल खसेँ । झर्दाझर्दै ढुंगामा बज्रिएर मरेँ कि जस्तो लागेको थियो । रुखको तल्लो हाँगामा अड्किएछु । छाती र पाखुराभरि चोटैचोट लाग्यो । दापबाट खुकुरी चिप्लेर देब्रे हातको माझीऔँला काटिएछ ।

ओमबहादुरको सहाराले भुइँमा ओर्लिएँ । केही क्षण संसार अँध्यारो भयो । घाउका कारणभन्दा पनि घर पुगेपछि खानुपर्ने गालीको चिन्ताले शरीर र मन भतभती पोल्न थाल्यो । सायद त्यही चिन्ताले होला– मृत्युबाट बाँच्नुको खुसी पनि खल्लो लागिरहेको थियो !

 

तोलातोला जिउ घट्यो होला

बिहान झिसमिसेमै नाम्लो, डोरी र हँसिया बोकेर घाँस काट्न खुँदुर्काको जंगलतिर गएका थियौँ । पोल्टाभरि भिजाएको चामल, चिउरा र सख्खर थियो । बुवाको पछिपछि मोहन, म र गाउँका केही महिला गोठाले गीत गाउँदै कालीखोलाको अनकन्टार झाडीतिर लाग्यौँ । मैले पहरै थर्किने गरी गीत गाएँ– तोलातोला जिउ घट्यो होला, कालीखोला घाँसैको भारीले... !

पाखैभरि खरुकी, सिरु, काँस, अर्थुंगे, सालिम्बो र बाबियोका भुइँघाँस लहलह झुलिरहेका थिए । वनमा चुरुमचुरुम हँसियाको संगीत गुञ्जिन थाल्यो । ११ मुठा काटेपछि घाँसको भारी पुग्थ्यो । कसले छिटो भारी पु¥याउने र कसले कलिलो घाँस भेट्टाउने भन्ने मौन प्रतिस्पर्धा गर्दै मैले ७–८ मुठा काटिसकेको थिएँ । अलि पर भीरको थाप्लोमा लोभ लाग्दो कलकलाउँदो घाँस देखेँ र हतारिँदै त्यतातिर गएँ ।

पुरुनीको लहरो समातेर ओर्लिंदै थिएँ । अचानक मैले टेकेको डिल भत्कियो । समातेको लहरो पनि चुँडियो । म उछिट्टिएर चट्टानमा बजारिँदै तल झरेछु र अजंगको पहरामाथि साँदनको जरामा अल्झिएछु । त्यहाँबाट पनि खस्नै लाग्दा बुवाले संयोगवश मेरो खुट्टामा समाउन भ्याउनुभएछ । लामो बेहोसीपछि म ब्युँझदा शरीर चिसो भइसकेको थियो । पसिना र रगतले जिउ निथ्रुक्कै भिजेको थियो । जंगलमा रुवाबासी चलिरहेको थियो । बुवाले पिठिउँमा बोकेर घर पु¥याउनुभयो । अनि पो चलमलाउन र सास फेर्न गाह्रो भएर म रुन थालेँ । मृत्यु त जीवनकै भीरमा लुकेर बस्दोरहेछ ! सम्झिँदा अहिले पनि आङ सिरिङ्ग हुन्छ ।

 

कुकुर बनेर आएको यमराज

निमा र नोर्बु कहाँ छन् होला अचेल ? मैयुँको डाँडानजिक एकान्त लेकमा थिए तिनका ससाना झुपडीहरू । हामी कहिले जंगल, कहिले ढाँड र कहिले नागीहरू पार गर्दै एउटा विकट उकालो चढिरहेका थियौँ । रुखभरि गुराँस र चिमालहरू ! भुइँभरि सेतै–पहेँलै बुकी फुलहरू ! पर एउटा नागीमा भेडा र चौँरीहरू चरिरहेका थिए ।

सुनसान जंगलमा अचानक कुकुरहरू भुक्न थाले । निमा र नोर्बु अत्तालिँदै रुखमा चढे । म भुइँमै अलमलिएँ । उनीहरू चिच्याए– ‘छिटो चढ रुखमा ! कुकुरले मार्छ !’ म पनि हतारिँदै त्यही रुखमा चढेँ । एकै छिनमा जोडजोडले भुक्दै दुई ओटा डरलाग्दा भोटे कुकुर नजिकै आइपुगे र हामी चढेको रुखको फेदलाई टोक्दै, चिथोर्दै, उफ्रिँदै झम्टिन थाले ।

सबैभन्दा तल म थिएँ । रुख होचो र सानो थियो । कुकुरले झम्टिँदा झन्डै मेरो खुट्टामै भेट्टाउला कि जस्तो भयो । हात छोडिएला भनेर अत्यन्त जोडले रुखलाई अँगालो हालेँ र खुट्टा माथि उचालेँ । रुखै हल्लिने गरी कुकुरहरू निरन्तर झम्टिरहेका थिए । पसिनैपसिनाले भिजेको शरीर थरथरी काँपिरहेको थियो । धेरै बेरपछि परबाट सुसेली हाल्दै दुई जना बूढा सेर्पा आइपुगे ।

उनीहरूले कुकुरलाई के भने कुन्नि– दुइटै कुकुर चुप लागेर पुच्छर हल्लाउन थाले । ‘झर ए केटाहरू !’ बूढाले तलबाट आदेश दिए । ‘अब झरौँ, केही हुँदैन !’ निमा र नोर्बु माथिबाट बोले । मैले रुखमा अँगालो हालेको हात निकाल्न खोजेँ । तर, कसै गरे पनि निकाल्न सकिनँ । हात त बाउँडिएर कक्रक्कै जमिसकेछ ! भित्रभित्रै कटकटी दुख्न थाल्यो । शरीर कालो, निलो, हरियो, पहेँलो, रातो सबै रङमा परिणत भइसकेको थियो । धेरै बेरपछि हात निकाल्न सकेँ र बल्लतल्ल भुइँमा ओर्लिएँ ।

दुवै कुकुरले फनफनी घुम्दै जिउ सुँघ्न आउँदा फेरि मेरो सातो गयो । ती बूढा सेर्पाहरू नआएको भए यमराज यस पटक कुकुर बनेर आएको रहेछ ! सम्झिन्छु– निमा र नोर्बु कहाँ छन् होला अचेल ? 

       

बाघको आँखामा बिजुली

कवि मणि राईको घरमा विद्यार्थी संगठनको मिटिङ थियो । म आफूलाई गोर्की र लु सुनका क्रान्तिकारी पात्रहरूको साक्षात् अवतार ठान्दै काँधमा झोला भिरेर थाक्लेको डाँडैडाँडा खुँदुर्काको जंगलतिर झरेँ । तल कालीखोला सुसाइरहेको थियो । नुनथलाको भीरतिर न्याउलीहरू रोइरहेका थिए । घाम डुबिसकेको थियो र जंगलमा सहस्र झ्याउँकीरीले साँझको डोली उठाइरहेका थिए ।

दिउँसै अन्धकार हुने कालीखोलाको भुत्याहा दोभानमा पुगेपछि मनमा सन्त्रासका माकुराहरू दौडिन थाले । खोलो तरेर पछाडि हेर्दै छिटोछिटो पाइला चाल्दै थिएँ । झाडीबाट बाघको तिखो गन्ध आयो । केही पाइला हिँडेपछि अगाडि मोडमा एउटा डरलाग्दो बाघ उभिइरहेको देखेँ । मेरो सातो पहिले नै हल्लिसकेको थियो । त्रासले सासै रोकिएला जस्तो भयो । पछाडि फर्केर भाग्ने स्थिति थिएन । शरीर हिउँ बनेर कक्रियो । बाघका आँखाहरू बिजुलीझैँ चम्किए । अब कुनै पनि बेला यसले मलाई आक्रमण गर्छ । मेरो छातीमा चिथोर्छ र घटघटी रगत पिउँछ । अब एकै छिनपछि म मर्दैछु !

मृत्युको यो कठिन क्षणमा भगवान् सम्झिएँ । बाबु–आमा सम्झिएँ । र, जीवनसँग अन्तिम बिदा मागेँ । मृत्युलाई यति निरीह भएर कुर्दाकुर्दै बाघ त आफ्नै सुरमा बिस्तारै डिलमाथि उक्लियो र सरासर बाटो लाग्यो । अनि पो म पागलझैँ चिच्याउँदै, कहालिँदै, रुँदै भाग्न थालेँ । दुबिनीको जंगल एकै सासमा छिचोलेछु । खेतको पुछारमा आइपुग्दा मेरो चित्कार सुनेर कवि शशि लुमुम्बु र मानबहादुर राई दौडिँदै आइरहेको देखेँ । उनीहरू स्कुलबाट घर जाँदै रहेछन् । मेरो मुटु फुट्नै लागेको थियो । अर्धबेहोस बनेर चिसो जमिनमा ढलेँ । उनीहरूले नै सम्हाले । मैले आफैसँग क्षमा मागेँ र मृत्युलाई धन्यवाद भनेँ ।

                

पहाडी खोलाको धमिलो बाढी

हङ्ग्रायो खोलामा पुल थिएन । माथिबाट अजिंगरझैँ बटारिँदै धमिलो बाढी आइरहेको थियो । खोलो तर्न सकिनँ । जसरी भए पनि त्यही दिन भोजपुर सदरमुकाम पुग्नु थियो । बाटोभन्दा निकै माथि साँगुरो खोँच भएको ठाउँमा काठको मुढो तेस्र्याएर एउटा फट्के बनाइएको रहेछ । त्यसमा समाउने आधार केही थिएन ।

चप्पल र लुगा खोलेर पछाडि ब्यागमा सिउरिएँ । घोप्टो परेर काठको मुढो दह्रो गरी समाउँदै चिप्लेकीराझैँ घस्रिन थालेँ । झरीले लेउ लागेर चिप्लो भएको फट्केको बीचतिर पुगेको थिएँ, हात फतक्कै गल्यो । तल मुर्दावाद भन्दै कुदिरहेको थियो पानीको जुलुस । एकछिन बिसाएर पानीको नृत्य हेर्दै थिएँ । पृथिवी फनफनी घुम्न थाल्यो । म अत्यन्त तीव्र गतिमा उँभैउँभै बग्न थालेँ । अनि आँखा जोडले चिम्म गरेँ र फेरि घस्रिन थालेँ । कुसुमे जोवनमै मरिन्छ कि जस्तो लागेको थियो, तर पारि पुगेपछि मृत्यु त आफै हारेछ !

सदरमुकाम जाने छ घन्टाको यो बाटो कुनै दिन साढे तीन घन्टामै छिचोलेको थिएँ । गाउँमा छिटो हिँड्ने युवामा भीमबहादुर भुजेल, दुर्गा कोइराला र मणि राईपछि अर्को नाम मेरै थियो । हिँड्दाहिँड्दै हिले भञ्ज्याङमा नइन्द्र राई भेटिए । कुरा गर्दै श्यामशिलाबाट मुलाबारीको ओरालो झ¥यौँ । जुके खोलामा पनि धमिलो बाढी आइरहेको थियो । जँघार तर्ने आँटै आएन ।

झन्डै ४५ मिनेट खेतैखेत हिँडेपछि तल एउटा झोलुंगे पुलमा पुगिन्थ्यो । म त्यतै जान खोजेँ । तर, एकोहोरो स्वभावका नइन्द्रले तल्लो बाटो जान मानेनन् । ‘किन डराएको, खोलो मै तारिदिउँला नि’ भनेर उकासे । अनि पेन्ट खोलेर झोलामा सिउरिएँ । चप्पल खोलेर हातमा बोकेँ । हामी हातेमालो गर्दै अघि बढ्यौँ । खोलाको बीचमा पुग्नै लाग्दा पानी कम्मरमाथि आउन लाग्यो । जसरी भए पनि झोला जोगाउनु थियो । एक सातालाई पुग्ने चामल र सिन्की त्यहीँ थियो । किताब–कापी त्यहीँ थिए । कविताहरू त्यहीँ थिए ।

कालसँग फेरि भेट हुनु रहेछ ! झोला जोगाउन खोज्दा खुट्टा चिप्लिएर लडेँ, हात खुस्कियो । मलाई पानीले बगाउँदै निकै तल पु¥याएछ । बग्दाबग्दै एउटा चुच्चे ढुंगाको औँला समातेर उठ्न भ्याएँ । नइन्द्र पारिबाट बोलाइरहेका थिए । मैले रुँदै हारगुहार मागेँ, तर उनी आएनन् । खोलासँग निकै बेर लाप्पा खेल्दै मृत्युबाट मैले फेरि आफूलाई जोगाएँ । झोला पनि जोगाएँ । तर, झोलाभित्रको सपना जोगाउन सकिनँ ! धमिलो बाढीमा चप्पलहरू जोगाउन सकिनँ । तर खुट्टाहरू जोगाएँ !

 

लेकाली जंगलको अँध्यारो सुरुङ

भोजपुरको साहित्यिक इतिहास खोज्न हिँडेको थिएँ । उत्तरी भेगको यात्रा सिध्याएर कवि शयली (गुरुप्रसाद राई)सँग बिदा मागेँ । दिङ्लाबाट हिँडेर घुर्बिसे, तेर्छेबर्छे र तिनतलेको जंगल पार गर्दै सुन्तले डाँडा पुग्नु थियो । त्यति घना र डरलाग्दो जंगलमा घन्टौँ हिँडिसक्दा पनि कोही भेटिएन ।

बाक्लो भुइँकुहिरो लागिरहेको थियो । लेउ उम्रिएका, झ्याउ पलाएका, सुनाखरीलाई बुई बोकेका अजंगका बूढा रुखहरूको बीचबाट एउटा अँध्यारो सुरुङजस्तो बाटोमा एक्लै हिँडिरहेको थिएँ । रुखहरू कतै दौरासुरुवाल लगाएजस्ता, कतै टाई बाँधेर उभिएजस्ता र कतै बख्खु ओढेर गजधुम्म बसेजस्ता देखिन्थे । हेर्दाहेर्दै डर लाग्न थाल्यो ।

जति अगाडि गयो, त्यति घना जंगलको चेपभित्र बाटोले लुकामारी खेल्थ्यो । दोबाटो आयो भने कुन बाटो कता जाने भनेर सोध्नका लागि रुखहरूबाहेक कोही थिएनन् । रुखसँगै बाटो सोध्दै लेकाली उकालो चढिरहेँ । तर, म कहाँ जाँदैछु ? कति समयपछि कहाँ पुगिन्छ ? केही थाहा थिएन ।

अचानक मलाई लेक लागेछ । रिँगटा लागेजस्तो, ओठमुख सुकेजस्तो र सास फेर्न अक्सिजन सकिएजस्तो भयो । पेट बटारिएर वाकवाकी लाग्न थाल्यो । खातखुट्टा पूरै लल्याकलुलुक भए । आँखाको पानी सुकेर संसार धमिलो देखिन थाल्यो । एउटै रुख दुइटा देखिन थाले । हिँड्दाहिँड्दै बीच बाटामा थचक्कै बसेँ । बस्दा पनि भएन, लासझैँ लम्पसार परेँ । कहाँको जन्म, कहाँको मरण रै’छ भनेर मुटु कटक्कै काटियो ।

जंगलमा एक्लै मर्दै–बाँच्दै गरिरहेको थिएँ । निकै समयपछि मानिसहरू गुनगुनाएको र गीत गाएको मधुरो आवाज कानमा ठोकियो । एउटी महिला चिच्याइन्– ‘आप्पुइ ! मान्छे मरेछ !’ आँखा खोलेर हेरेँ । ४–५ जना सेर्पिनी दिदीहरू ठूल्ठूला डोकामा पत्करको भारी बोकेर आइरहेका थिए । न्वारनदेखिको बल लगाएर हातखुट्टा फाल्दै रोएँ । मेरो मुखबाट अचम्मको आवाज निस्कियो– ‘म मरेको छैनँ दिदी ! मलाई बचाउनुहोस् !’

उनीहरूले भारी बिसाए । एउटीले कहाँबाट आफ्नो पुरानो मजेत्रो पानीमा चोपेर ल्याइन् र मेरो मुखमा निचोरिदिइन् । बाँच्ने आशा पलायो । उनीहरूले टाउको र हातखुट्टा माडमुड पारिदिए । जंगली झारको तीतो रस पिलाए । मकैभटमास खान दिएँ । मैले रुँदै धन्यवाद भनेँ, तर उनीहरू मलाई हेर्दै हाँसिरहे । उनीहरूकै सहारामा म बिस्तारै उकालो लागेँ । केही बेरपछि सुन्तले डाँडा आइपुग्यो । नागीमा थरीथरीका भुइँफूलहरू फुलिरहेका थिए । 

छुट्टिने बेलामा मैले उनीहरूको नाम सोधेँ, ठेगाना सोधेँ तर उनीहरूले केही बताएनन् । आफूसँग भएको एचएमटी घडी र केही पैसा दिन खोजेँ, तर उनीहरूले लिन मानेनन् । मेरो मृत्युको अन्तिम क्षणमा आइपुगेका ती देवीहरू को थिए ? उनीहरूको नाम के थियो ? उनीहरूको घर कहाँ थियो ? जीवनमा म एक पटक उनीहरूलाई भेट्न चाहन्छु र सँगै बसेर रुन चाहन्छु । म एक पटक भन्न चाहन्छु– ‘हे देवी ! कुनै दिन तिमीले बचाएको मान्छे म नै थिएँ । म तिम्रा पाउ छुन चाहन्छु !’’

प्रकाशित: २२ आश्विन २०७३ १०:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App