८ वैशाख २०८१ शनिबार
अन्य

अाफ्नाे मान्छे

अञ्जली सुवेदी

यस्तै कुनै विपत्तिको आभास भएको थियो उसलाई— झल्लक्क, बिनाकारण, गाडीमा दार्जीलिङ हिलमाथि उक्लिरहँँदा । कताकता, कस्तोकस्तो डर पसेको थियो मनमा । तर, यो हदको आघात त उसले सपनामा पनि सोचेको थिएन । मोबाइलमा आएको एउटा म्यासेजको झट्काले ऊ भावशून्य थियो ।

‘त्यति धेरै वर्ष भइसक्यो है ? म ह्याँ थिन नि, नत्र आइहाल्थेँ तेरो बिहेमा यार !’ अरुणको धेरै पिएर लट्ठ परेको एकसुरको बोली विवेकले सुनेकै छैन । अचानक बियरको गिलास भुइँमा झरेको आवाजले ऊ झस्क्यो । ‘सरी यार, कस्तो खसेर फुटिहाल्यो । अँ भन्न यार अरु,’ फुटेका काँचका टुक्रातिर नजर गाढ्दै अरुणले थप्यो ।

१४ वर्ष भयो । निकै ठूलो भोजभतेर, बाजागाजासहित घरमा भिœयाएको थियो उसले प्रीतिलाई । आफ्नै मर्जी र खुुसीले विवेकको जीवनमा पाइला राखेकी थिई प्रीतिले ।

‘यति राम्री केटीले पो मनपराई त भान्जा ! भाग्य त लेरै आ रैछौ,’ एकजना मामा पर्नेले विवाह मण्डपमै यसो भन्दै जिस्क्याएपछि विवेकले लाज मानेझैँ पुलुक्क एक नजर फालेको थियो प्रीतितिर । लामो सिल्की कपाल जुरो पारेर बाँधेको, निकै मिलेको अनुहार, सलक्क परेकी उज्याली बेहुली, ऊभन्दा ६ वर्षले कान्छी । देख्ने–भेट्नेजति सबैले जोडीको तारिफ गर्दा गम्मक फुलेको थियो विवेक ।

‘पैलाजस्तो कपाल खुला गरेर नहिँड्, लुगा नि जे पायो त्यै स्वाउँँदैन अब, यस्तो कुरा नि मैले भनिरनपर्छ र ?’ बिहेको एक साता पनि नहुँँदै विवेकले प्रीतिको चालचलनमा राम्रै सुधार गर्न खोज्यो, ‘उता गाउँमा जस्तो हैन, ह्याँको बोलीचाली, रहनसहन, व्यवहार अर्कै छ, सिक्नप¥यो नि !’ एकैछिन अगाडि विवेकलाई आमाले घरभित्र र बाहिर गर्दै बुहारीको यसो र उसो भएन भनेर सुनाएकी थिइन् ।

‘कस्तो होच्याएर बोल्ने बानी रैछ, पैला त त्यस्तो लाग्थेन, त्यै नि एक्लै पारेर भन्या भए पनि त हुन्थ्यो नि,’ मन दुखाई प्रीतिले । तैपनि केही नभएझैँ मुसुक्क हाँँसी र अर्को कोठामा छिरी । स्वभावैले चञ्चल, हँसिली थिई, सानातिना टीका–टिप्पणीलाई नजरअन्दाज गर्दै बिहेको केही दिनसम्म ऊ पहिलेझैँ सहज रहन खोजी, मानौँ उसको इलामको गाउँ र काठमाडौँमा केही फरक छैन ।

तर, बिहेका बित्दै गएका दिनहरू सुरुका जस्ता रहेनन् । सधैँ हाँसिरहने, बोलिरहने प्रीतिको ओठबाट मुस्कान हराउन थाल्यो बेलाबेला । कहिलेकाहीँ त भ्याइनभ्याई काम हुँदाहुँदै पनि ऊ त्यसै टोलाउन थाली । विवेकको घमण्डी स्वभाव उसलाई साह्रै बिझ्थ्यो । तर, धेरै नरमाइलो लागेका बेला उसैको सामीप्यता चाहन्थी ।

‘हजुर आज अलि ढिलो न्युरोड गए हुन्न ? सागर पनि त छ त्याँ हेर्न,’ मधुर बोलीमा ऊ विवेकलाई फकाउन खोज्थी ।

‘के गर्नी घर बसेर, बेकार अल्छी भइन्छ,’ विवेकले अलि ठाडो जवाफ दियो ।

कहिलेकाहीँ एकछिन ढिलो जाँदा के बित्छ र ? आराम पनि त चाहिन्छ, शरीरलाई, मनलाई ।’

पूरा कुरै नसुनी हिँड्यो ऊ । प्रायः यस्तै गर्छ विवेक । कामकाज छोडेर प्रीतिसँग ‘टाँसिएर बसिरहने’ रहर जो थिएन । ‘आइमाईलाई टाउकोमा चढायो भने हेप्छन्,’ एक त यस्तो सानैदेखि सुन्दै आएकोे, त्यसमाथि, दाइलाई झैं आफूलाई पनि जोइटिंग्रे भन्लान् कि भनेर होला, सधैैँ सतर्क रहन्थ्यो विवेक ।

एउटा सानो क्यान्भास थियो, कोठामा एक्लै हँुदा चित्र कोर्ने गर्थी कहिलेकाहीँ प्रीति । बिहेअगाडि उसका हातहरूले अनेक चिजमा रंग भर्थे । खोलानाला, झरना, हिमाल–पहाड, चराचुरुंगी, मनमा जे आउँछ, त्यसलाई जीवन्त आकृति दिँदा रमाउँथी । कैले कविता कोर्थी, कहिले अनेक नाटक गरेर दिदीलाई हँसाएर मुर्छै पार्थी । कसैलाई उदास देखी भने कोट्याएरै बोल्नु, नानाभाँती गरेर हँसाइदिनु त उसको दायाँ हातको खेल नै थियो, सानोमा वा भनौँ इलाम छइन्जेल । धेरै भो उसको क्यान्भासले त्यो अनेक रंगमा सजिन पाएको छैन । पेटै मिच्नेगरी नहाँसेको पनि जुगै बितेजस्तो ।

खै के नमिलेजस्तो, चित्र त ऊ अहिले पनि कोर्छे । सुन्दर, लामो कपाल भएकी युवती कोर्छे । अनि, एउटा पिँजडा कोरेर युवतीलाई कैद गरिदिन्छे । धेरैचोटिको प्रयासमा पनि योभन्दा फरक केही बनाउन सकिन उसले ।

कारणवश एक दिन दिउँँसै कामबाट घर फर्कियोे विवेक । कसोकसो नजर त्यो चित्रमा ठोकिन पुग्यो, कोठामा छिर्नेबित्तिकै । उसले मजाक उडाउने हो कि ! प्रीतिलाई अघि नै त्यो नलुकाएकामा पछुतो भयो । तर, विवेक अलि तनावमा देखिन्थ्यो, त्यति वास्ता गरेन । चित्र देखेर हाँसेन, न त अचम्म नै प¥यो । बरु प्रीतितिर हेर्दै हका¥यो, ‘के हो यो, यसको के काम ? तेरो त दिमागै काँँ रन्छ कुन्नि ! त्यो अस्ति हराको बिल खोज्दिस् ?’

प्रीति अनकनाइ र बिलको चाङ राखेको टेबलतिर लम्किइ ।

विवेक छोरा चाहन्थ्यो, प्रीतिले छोरी जन्माई । तर, ऊ दुःखी भएन, डाक्टरको थुप्रै चक्कर काटेपछि जन्मिएकी सन्तान थिई आखिर । ‘मजस्ती छे यो, हेर् त नाक, मुख, आँखा ठ्याक्कै उस्तै, काटिकुटी ल !’ यसो भन्दै जोडजोडले ऊ हाँस्दा प्रीति पनि निकै रमाउँथी ।

छोरी भनेपछि प्रीति झन् ज्यानै फाल्छे । वास्तवमा छोरीको जन्मपश्चात् विवेकको जीवनमा आफ्नो अस्तित्व खोज्नै छाडिदिएकी छे उसले । कम गाह्रो छैन, आमा हुन । न निद्रा पुग्छ, न त खानाको ठेगान ! तर, बच्चाले खाए आफ्नै पेट भरिने, ऊ आरामले सुते आफ्नै थकान मेटिने, कस्तो अलौकिक नाता यो । काखकी छोरीले बडो दंग पारिदिन्थी प्रीतिलाई ।

कक्षा ५ मा पढ्ने भएपछि विवेकले छोरीलाई दार्जीलिङमा पढाउने निर्णय ग¥यो । उसको कपडाको व्यापार दिन दुगुना, रात चौगुनाले बढेको थियो, पैसाको दुःख थिएन । साथीहरूको देखासिकी, त्यसमाथि आफू सरकारी स्कुलमा पढेर ‘सधैँ पछि परेकाले’ पनि छोरीलाई गतिलै ठाउँमा पढाउन चाह्यो उसले । प्रीतिलाई भने छोरी टाढा पठाउने कुराले नै भाउन्न भयो ।

‘काठमान्डुमै राम्रा स्कुल छन् नि, यतै राखम् न, त्यति टाढा लग्ने ?’ प्रीतिले सकेजति विरोध गरिरही । तर, विवेकले र परिवारका अरु सदस्यले बच्चाको उज्ज्वल भविष्यको हवाला दिइरहेपछि अन्ततः मन बलियो बनाई उसले ।

विवेकको सपरिवार दार्जीलिङ पुग्यो भर्नाको सिलसिलामा ।

हिउँद भर्खरै सकिन थालेको, फागुनको महिना । काम सिध्याउन एक हप्ता कुर्नुपर्ने भएकाले नयाँँ ठाउँँमा घुमफिर गर्ने योजना बन्यो । गाइडले कर गरेर दार्जीलिङ बसाइको अन्तिम दिन एउटा सांगीतिक साँझमा समेत सामेल हुन पुग्यो, विवेकको परिवार ।

प्रीतिले ती दिनहरू सम्झी– भर्खरभर्खर विवाह हँुदा उसको उत्साहको सीमा नै थिएन । विवेकसँगै बसेर सिनेमा हेर्न, गाना सुन्न, घन्टौँ गफिन कति जुक्ति लगाउँथी । तर, सधैँ पराजित । कहिलेकाहीं जिद्धी गर्न थाली भने कुरा कताको कता पुग्थ्यो र दुईबीच भनाभन पनि हुन्थ्यो । तर, एउटा रामवाण थियो, जसले झगडा टुंग्याउँथ्यो— विवेकले भन्न भ्याइहाल्थ्यो, ‘तँ आफै आकी त होस् नि, मैले कर ग¥याथेँ र ? मन प¥या छैन भने जा, जता मन लाग्छ !’ छोरी जन्मनुअघि ‘आफै आएकी...’ले प्रीतिलाई धेरैचोटि इलाम सम्झायो । यो सहर जतिजति बिरानो लाग्थ्यो, त्यतित्यति नै उसले इलामको यादलाई अँगालेर बस्थी ।

सांगीतिक साँझमा प्रीति अनेक सोच्दै थिई । आफ्नै जीवनको यात्रा, आफ्नै आत्मालाई नजिकबाट नियाल्दै थिई । अनि यी थुप्रै वर्षहरूमा आफ्नो वास्तविक स्वरूप निकै धमिलो भइसकेको चाल पाउँदै थिई ।

ट्याक्सी मन्द गतिमा गुडिरहेको थियो, दार्जीलिङको त्यो सुन्दर नागबेली सडकमा । आमाछोरी पछाडिको सिटमा आरामले ढल्किएका थिए । विवेक अगाडिको सिटमा हल्का सुस्ताएको थियो आँखा चिम्लेर । छोरीलाई दार्जीलिङमा छोडेपछि आउने दिनहरू अन्दाज ग¥यो उसले । ‘झन् प्रीतिलाई त त्यै छोरीकै वरिपरि घुम्ने बानी छ,’ यो विचार मनमा आएसँगै उसको टाउको कसोकसो आफै परक्क बटारियो प्रीतितिर ।

‘कति दुब्ली, पातली थिई त्यतिबेला, सबैले निकै राम्री भन्थे, अहिले त दोब्बरै वजन होला आँखामा नि कालो घेरा आइसकेछ, साँच्चै पाकी भई,’ विवेकले एकछिन् उसको मुहार हेरिरह्यो ।

समयसँगै प्रीतिले सबै सिकी, गरी, जिम्मेवारी लिई । त्यस्ती केटाकेटी स्वभावकी प्रीतिलाई विवेकले पनि सम्हालेकै हो । कुरै कुरामा दुई–चार थप्पड पनि हान्यो, के गर्नु, कैले त कुरै बुझ्थिन । हँुदाहुँदा त्यो मैनामा जाबो दुई–तीन हजार आउने बोर्डिङ स्कुलमा पनि पढाउन जान कम जिद्धी गरेकी थिइन  ।

यो सब रोक्न सकेकोमा, प्रीतिलाई आफ्नोअनुकूल गृहिणी बनाउन सकेकोमा आफूले आफैलाई धापै मा¥यो विवेकले मनमनै । सोच झन्झन् गहिरिँदै गयो, प्रीति केन्द्रबिन्दु बनी । थाहै नपाई प्रीतितिर अनायासै आकर्षित हुँदै गयो ऊ । अचम्म ! जिन्दगीमै पहिलोपल्ट प्रीतितिर त्यसरी लहसिँदै थियो उसको मन । पहिले प्रेम गरेर विवाह गरेको हो भन्ठान्दा पनि यस्तो अनुभूति कहिल्यै भएको थिएन । विवाहपछिका दिनहरूमा त झन् वास्तै भएन ।

बडो विचित्रको हँुदो रहेछ मान्छेको मन ! कहिले के कुराले यसलाई भावुक बनाइदिने हो थाहै नहुने । विवेकले आँखा बन्द ग¥यो र मानसपटलमा प्रीतिको आकृतिलाई कैद गरिरह्यो । झन्झन् ऊसँगको सामीप्यको अनौठो चाह भयो उसलाई । त्यो मान्छेप्रति गहिरो आकर्षण हुनु, जो पहिल्यैबाट आफ्नै छ, त्यो आनन्दको बयान त गरिनसक्नुकैै हुँदो रहेछ ! तुरुन्तै प्रीतिलाई अँगालोमा कसौँजस्तो लाग्यो विवेकलाई । के भन्ठान्ली, कहिल्यै गरेको छैन त्यस्तो । मायालु कुराहरू गर्नुु, नजिकिनु, भावनामा बग्नु, यो सब त सिनेमाका विषयवस्तु मात्रै हुन् जस्तो लाग्थ्यो उसलाई । तर, होइन रहेछ, जब प्रेम हुन्छ, त्यो मनमा मात्रै अटाउँदो रहेनछ, त्यसले त व्यक्त हुने बाटो खोजिहाल्दो रहेछ, छताछुल्ल हुने रहर गर्दो रहेछ । ए गाँठे, सायद पहिलोपल्ट यति गहिरो प्रेम हुँदै छ उसलाई, आफ्नै श्रीमतीसँग । अब घर फर्केपछि उसले विवेकको नौलो रूप देख्ने छे, बिल्कुलै नौलो । के भन्ठान्ली, मन नपराउने पो हो कि ? ढुकढुकी बढ्यो विवेकको ।

०००

गाडी उकालो चढ्दै थियो गन्तव्यतिर । अस्ताउन आतुर घामको सुनौलो किरण छरिएको थियो आकाशमा, दार्जीलिङको त्यो पहाड, मौसम, हरियाली निकै मनमोहक देखिन्थ्यो । तर, त्यसतिर न विवेकको ध्यान थियो, न त प्रीतिको ।

छोरी निदाउन खोजेजस्तो लागेर प्रीतिले आफूतिर च्यापी । नलडोस् भनेर टाउको राम्रोसँग अड्याइ र अँगालोमा बाँधिरही । प्रीतिका आँखा विवेकतिर पुगेर टक्क अडिए । छोरी त उसकै अंश हो । तर विवेक ? वर्षौं सँगै बिताउँदा पनि सहज नलाग्ने, साथीभैmँ नलाग्ने ! ऊसँग बितेका सायदै कुनै पल होला, जसलाई साँच्न उसको मन लालायित होस् । विवाह त भयो, तर मन साटासाट भएन ।

तल बरन्डामा बसेर चियाको चुस्की लिँदैै थियो विवेक, माथि झ्यालबाट चिहाउन पुगेकी थिई ऊ । मान्छे त त्यति राम्रो हैन, खै के कुरा मन प¥यो त्यतिबेला उसलाई । सायद उमेरै त्यस्तो, जम्मा २० वर्षकी, त्यत्तिकै आकर्षण बढ्दै गयो । विवेकले पनि लुकी–चोरी हेर्न थालिहाल्यो । फूपूले त्यहाँ डेरा नलिएको भए, ऊ काठमाडौँ आउने नै थिइन, अनि ऊसँग भेटै हुन्थेन । थानकोटमा सँगै जोडिएको फूपूको डेरा र विवेकको घरले नै यो सम्बन्धको घेरा हाल्दियो । अनि, यसबारे नानाथरी अड्कल भएपछि कुरो बिहेसम्म पुग्न भ्यायो ।

प्रीतिले ट्याक्सीबाट झ्यालबाहिरको दृश्य नियाली । कति शान्त छ आकाश, धर्ती सब आफ्नो ठाउँमा । आफ्नो मनभित्र हेरी, केही छैन आफ्नो ठाउँमा । यस्तै हो जीवन भनेर सधैँ सम्झाएको मन आज नथामिने गरी निहुँ खोज्दैछ । लहडी बन्दैछ, उन्मुक्ति खोज्दैछ । कारण उसलाई थाहा छ, तर आफैलाई भन्न चाहिन । ‘धन्न मनलाई कसैले देख्दैन, त्यसैले बाँच्न सजिलो छ, वा सायद त्यसैले जीवन यति कठिन पनि छ ।’

आफू उभिएको धरातल नियाली प्रीतिले । अचानक वर्षौंदेखि गोडाहरूमा फनफनी बेरिएका अदृश्य साङ्लाहरू बिस्तारै खुकुलो हुँदै गएको भान भयो उसलाई । उसका पाइला जन्जिरबाट स्वतः बाहिरिए र नांगा पाइतालाले स्पर्श गरे, चिसो शीतल भुइँ । पूरै आङ सिरिंग भयो । त्यो जादुई तरंगको लहर पाउदेखि शिरसम्म यसरी फैलियो कि मानौँ वर्षाैंदेखि सुस्ताएको उसको तनमन पूरै ज¥याकजुरुक्क उठे र तंग्रिए । अनौठो खुसी, उमंग, बेफिक्रीपनले बाल्यकालमाझैँ फेरि एकचोटि बुर्कुसी मार्न खाजेझैँ लाग्यो उसलाई । फेरि भेटिएकी आफूलाई जतनले थामेर राखी एकछिन, बडो रोमाञ्चित भई ऊ । विवेकलाई उसको मनले कतै विसर्जन गरिदियो सायद । त्यसैले यो बेफिक्रीपन, आत्मविश्वास र आत्मसम्मान फिर्ता आएको छ । सक्कली प्रीति फिर्ता आएकी छे । सन्तोषको गहिरो सास फेरी उसले, एउटा नौलो यात्रा सुरु भएकोमा । एउटा पट्यारिलो अध्याय टुंगिएकोमा ।

०००

ट्याक्सी रोकियो । एक सातादेखि सँगै हिँडेको गाइड कुरेर बसेको थियो, उनीहरूलाई सांगीतिक माहोलतर्फ लैजान । नेपाली र अंग्रेजीभाषा उत्तिकै राम्ररी बोल्थ्यो ऊ, बेलाबेला हिन्दी पनि बोल्थ्यो । कहिले नारायणगोपालको गीत गुनगुनाइरहन्थ्यो । ‘दार्जीलिङभरिकै सबैभन्दा भरपर्दो र महँगो गाइड, यै होटलमा बस्दै हुनुन्छ, त्यसैले स्पेसल मान्छे मिलाइदिएको,’ गाइडसँग भेटाउँदा होटल मालिकले विवेकको परिवारलाई भनेको थियो ।

भेटेकै दिन, बेलुकीपख गाइडको घरमा एकैछिनको पाहुना बन्न पुगेका थिए उनीहरू, संयोगवश । घुम्दै गरेको ठाउँबाट केवल पाँच मिनेटको पैदलदूरीमा थियो उसको घर, विवेक र प्रीतिलाई घर छिरेर जान आग्रह ग¥यो उसले । उनीहरू सायद मान्थेनन्, तर छोरीले जिद्दी गरिदिइ ।

‘अन्त, नानीको घर कता नेपालमा ? यो पनि पुगेको छ नि नेपाल । इलाम, झापा त जाइबस्थ्यो । यसको बाबाको अर्को परिवार थियो नि त त्यता हो, तर यसले कहिल्यै बैर राखेन । ऐले त निकै पो भो नगाको,’ घर पुगेको एकछिनमै गाइडकी आमाले सासै नफेरी बात मार्न थालिन् । प्रीति चुपचाप सुनिरही । प्रश्नको उत्तर विवेकले नै दिइरह्यो । गाइड भान्सातिर लाग्यो ।

‘हेर्नोस् त, यो सबै बगैँचा यै छोरोको मेहनत हो । घर–परिवार, केटाकेटीको अति ख्याल गर्छ, आफ्नो चैँं वास्तै छैन के अन्त । एकचोटि म सारो बिरामी परेँ हौ, त्याँदेखि धेर टाढा गा’छैन । देश–विदेश निकै घुमिबस्थ्यो नत्र...,’ गाइडकी आमाले छोराका कुरा गरिरहिन्, विवेकका परिवार त्यहाँ बसिन्जेल ।

०००

यो एक साताजति मौन र सोचमग्न देखिन्थ्यो गाइड । उसकी आमाका अनुसार, जस्तोसुकै उतार–चढाव, अप्ठेरा आइपरे पनि अविचलित रहने ऊ आज निकै सुस्ताएको छ । आँसु थामिएको छैन, मन शिथिल छ । एक मन सोच्यो हारिदिउँ, जीवन जसरी चलेको छ चल्न दिउँ । तर, त्यो सम्भवै लागेन । फेरि आजसम्म उसले लडेरै त बाँचेको छ, हारेर भागेको छैन कहिल्यै । अघि बढ्ने सोच्यो उसले ।

ट्याक्सीबाट ओर्लेर विवेकले प्रीतिलाई मायालु नजरले हे¥यो एकचोटि, अनि चुरोट सल्काउन एकातिर सरक्क पन्छियो । छोरी आमासँग लाडे पल्टिँदै यताउता नजर डुलाउँदै थिई । विशाल रंगीचंगी बगैँचाको बीचमा दार्जीलिङकै नाम चलेको त्यो भव्य होटेल, अनि वरिपरि देखिन्थे सुन्दर पहाडहरू । त्यसमा टक्क अडेका अनौठा घरहरू, अति मन हर्ने प्रकृति । त्यसको आनन्द लिन उसै त भीड लाग्ने ठाउँमा, आज त झन् विशेष संगीतको माहोल भएकाले सजावट झनै उत्कृष्ट ।

विवेकको एउटा पुरानो साथी अरुण पनि अचानक भेट भयो त्यहीँ । उसले विवेकलाई छोड्दैछोडेन र तुरुन्तै पिउने कार्यक्रम बनिहाल्योे । विवेक प्रीतिलाई त्यस्तो वातावरणमा मिसाउन चाहँदैनथ्यो । उसले छोरीलाई परैबाट बोलायो र आफू कार्यक्रममा एकैछिन ढिला हुन सक्ने जानकारी दियो ।

छोरीले मुन्टो हल्लाएर हुन्छ भनी, अनि केटाकेटीको पिङ देखेर त्यतै दौडी । नीलो किनारा भएको सेतो कुर्ता–सुरुवाल लगाएकी प्रीति टक्क त्यहीँ अडिएकी थिई, गाडी पार्क गरेको ठाउँनजिकै । टाउको निहुराएर कहिले भुइँतिर त कहिले पर नियाल्दै थिई । गाइड बिस्तारै प्रीति भएतिर आयो । प्रीतिले अझै देखिन । छोरी चिच्याई ‘प्रेम अंकल’ गाइड अडियो । प्रीतिले ऊतिर हेरिन । गाइड झनै नजिक आयो ।

हावाले प्रीतिको पातलो आकाशे नीलो सल फर्फरायो, सल कुमबाट झर्नै लागेको थियो । उसले वास्ता गरिन । गाइडले हावामा लहराइरहेको त्यो पारदर्शी सल हेरिरह्यो र इसारा ग¥यो । ऊ मौन बसी । आफ्नै हातअगाडि बढायो उसले । अगाडिपट्टि सपक्क ढाकिने गरी मिलाएर सल ओढाइदियो । हावा झन्झन् जोड्ले चल्न थाल्यो, मानौँ गाइडको प्रयासलाई ठूलै चुनौती दिँदै छ । यताउति नजर दौडायो उसले । ‘एकछिन्’ भन्दै प्रीतिको गुटुमुटु पारेर जुरो बनाएर अड्याएको लामो केस खोलिदियो र त्यही क्लिपले सललाई पछाडि लगेर बडो ध्यानले मिलाएर च्यापिदियो ।

‘अर्कैखालका आइमाईले मात्रै त्यस्तो कपाल खोलेर फिँजाएर हिँड्छन् । यो नि भनिरहने कुरा हो ?’ विवेकको दम्भ मिसिएको आवाज एकपल्ट फेरि प्रीतिको कानमा बेस्सरी गुन्जियो । तर, ऊ बिल्कुल चलमलाइन ।

हावामा उसका रेशमसरी केस बेफिक्री लहराइरहे । प्रेम पछाडि उभिरहेको थियो चट्टानझैँ । न प्रीति हल्लिई त्यस ठाउँबाट, न त प्रेम । प्रीतिका केस लहराउँदै प्रेमको छाती र घाँटीमा टाँसिन, बेरिन पुगे ।

एकछिन्मा प्रीति बिस्तारै गाइडतिर फर्की र केही बोल्न खोजी । तर, वाक्य फुटेन । प्रेमले कोटको भित्री पकेटबाट एउटा सानो मूर्ति झिक्यो र प्रीतिको पर्समा खसालिदियो । उसले मूर्ति बाहिर निकालेर नियाली । केही वर्षअघि इटलीको रोम पुग्दा किनेको थियो उसले त्यो रोमियो–जुलियटको मूर्ति । त्यसै रहर लागेर, कसैलाई उपहार दिन । तर, आजसम्म दिनै सकेन कसैलाई । जीवनमा हक जताउने त आए, तर उसको प्रेममा त्यो हक अरूको हुनै सकेन ।

‘मैले त तिमीलाई होटेलमा देख्नेबित्तिकै चिनेँ, तर तिमीले चिनेनौ नि है ? धेरैचोटि सपनामा देखेँ, तिमी यतै दार्जीलिङतिरै, मसँँगै... । छक्क पर्थें, त्यस्तो देखेर । तर, अस्वाभाविक पनि लाग्थेन । आखिर तिमी आइछाड्यौ,’ प्रेमले यति सहज ढंगले बोल्यो कि मानौँ, वर्षौंदेखि उनीहरूबीच घनिष्टता छ र प्रत्येक दिन भेट हुन्छ ।

प्रीतिले भेद खोल्नै बाँँकी थियो । उसले पनि देख्थी यस्तै अनौठा सपना बेलाबेला । सपनामा ऊ सवार एउटा सेतो सुन्दर घोडा नील गगनमा, पछाडि कोही हुन्थ्यो— मनले चाहेको मान्छे । तर, कहिल्यै अनुहार देख्न पाएकी थिइन । वेगले घोडा उडाउँथी प्रीति बादल भित्रभित्रबाट एकदमै रोमाञ्चकारी पारामा । छक्काउँदै निकैपल्ट पछाडि फर्केर अनुहार हेर्न खोजेकी थिई आफ्नो सहयात्रीको, तर ऊ थपक्क हात अगाडि ल्याएर आँँखा छोपिदिन्थ्यो, मानौँ अहिले देखापर्ने बेला भएकै छैन ।

‘त्यो मान्छे त तिमी नै थियौ । अनि, त्यो यात्रा अनन्त थियो । विवाह भइसकेको, कोही अन्जान मान्छेलाई सपनामा त्यसरी भेट्दा मन निकै डराउँँथ्यो । धेरै प्रश्नले घेर्थे, सताउँथे । तर, सपनामा मेरो वश कहाँँ चल्नु ?’ प्रीतिले लामो सास फेर्दै भनी । केहीबेर फेरि मौनता छायो । प्रीतिले गाइडको आँखामा हेरी– त्यति आत्मीयता, समर्पण र विश्वासले उसलाई आजसम्म कसैले हेरेको थिएन । आँखा नझिम्क्याइ नियालिरही । र भनी, ‘आखिर जीवन पनि सपना नै त रहेछ नि है ? त्यही सपनामा अनगिन्ती प्राणी युगौँयुगदेखि जगत्मा चिर्बिराइरहेको जस्ता हेर त, अनि ती अनेकमध्ये हामी दुई । पहिल्यै किन हामी भेटेर पनि छुट्टिएको ?’ उसले केही दुःख व्यक्त गरेझैँ कुरा टुंग्याइ ।

प्रीति कक्षा १० मा थिई, जतिबेला प्रेम केही महिनाका लागि गितार सिकाउन उसको स्कुलमा पुगेको थियो । एक–दुईपटक यसरी नै दुईको नजर जुधेको थियो । तर, ती नजरका भाकाहरू ठम्याउने जमर्कै गरिन उसले त्यतिबेला । उसलाई फेरि भेट्न चाहेको थियो, केही भन्न चाहेको थियो प्रेमले तर नियतिले दिएन । धेरैचोटि इलाम पुगेर पनि निराश नै फर्केको थियो ऊ । पछि जीवनले अर्कै मोड लियो, चाहेको–नचाहेको जुनसुकै बाटोमा बितिरह्यो जिन्दगी । अनेक नाता गाँसिए । कर्तव्यपरायण भएर अघि बढिरह्यो, कसैलाई केही सिकायतको मौका दिएन, तर उसको आफ्नो अन्तर्मन ढुक्क थिएन । सायद त्यसैले कहिल्यै आफ्ना लागि बाँचेन । तर, आज उसको मनले आराम पाएको छ, जीवनले पूर्णता पाएको छ ।

मौन, निश्छल नजरहरू जुधिरहे, एकअर्कामा हराइरहे । केहीबेरमा प्रीतिले पर्सबाट मोबाइल झिकी र म्यासेज टाइप गरी, ‘अनौठो नमान्नुहोला । मुस्किल होला, तर आशीर्वादको अपेक्षा राख्छु । कुरै त्यस्तो छ । कुरा के भने, विवाहपश्चात् हामी एकै परिवारका सदस्य त जरुर भयौँ । जीवनसाथी हुन सकेनौँ । मैले भलो चाहने व्यक्ति हजुर सधैँ रहिरहनु हुनेछ, तर मेरो आफ्नो मान्छे त मैले आज भेटाएँ । बाँकी कुरा भेटेर भन्नेछु ।’

विवेकलाई म्यासेज पठाएपछि मोबाइल पर्समा फुत्त खसाली र प्रेमलाई गल्र्याम्म अँगालो हाली । यसो गर्दा प्रेम थोरै पछाडि धकेलियो । त्यहीँ रहेको काँडाको बोटले कम्मरमा गहिरो घाउ बनायो र रगत बग्न थाल्यो । तर, ऊ चलमलाएन । त्यो पलको मिठासलाई कत्ति बिथोल्नु थिएन उसलाई । उसको अँगालोमा जे थियो, त्यसैलाई पाउन ऊ यो धर्तीमा आएको थियो । सायद त्यसैको जतन गर्नै ऊ जन्मेको ।

उता चिसो बियरको आनन्द लिँदै विवेक साथी अरुणलाई आफ्नो कथा सुनाउँदै थियो । जीवनमै पहिलोपटक त्यत्ति हौसिएको थियो ऊ प्रीति र आफ्नो सम्बन्धबारे बोलिरहँदा ।

‘१४ वर्ष भयो यार, झ्याइँझ्याइँ बाजा बजाएर गरियो नि,’ तँ आइनस् है ?’ विवेकले बियरको स्वाद लिँदै भन्यो ।

‘म ह्याँ थिन नि यार...’ अरुण बोल्दै थियो । विवेकको मोबाइलमा म्यासेजको घन्टी बज्यो ।

प्रकाशित: २२ आश्विन २०७३ १०:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App