८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

आतंकवादी क्याम्पमा प्रहार नभएको पाकिस्तानको खण्डन

इस्लामावाद – भारत–पाकिस्तान सीमा, लाइन अफ कन्ट्रोललाई उल्लङ्घन गरी पाकिस्तान अधीनस्थ काश्मिर क्षेत्रमा भारतीय सैनिक विमानले बम प्रहार गरेको गरेको पाकिस्तानले जनाएको छ।

भारतले आफ्नो सैन्य विमानले आतंकवादीहरुको क्याम्पमा हमला गरेको र ठूलो संख्यामा आतंककारीहरु मारिएको बताएको छ। तर ,पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल असिफ गफुरले भारतीय सैनिक विमानले मंगलबार बिहान बिनाअनुमति पाकिस्तानी सीमाभित्र आएको जानकारी दिए। उनले पाकिस्तानी सैनिक विमानले तत्काल उक्त क्षेत्रमा उडान भर्नासाथ भारतीय सैनिक विमान फर्किएको पनि बताए।

उनले ट्वीट गर्दै भनेका छन्, भारतीय सैनिक विमानले भाग्नेक्रममा हतारमा बालाकोट नजिक केही बम खसालेको भेटिएको छ तर यसबाट धनजनको क्षति भएको छैन।

भारतीय पक्षले सन् १९७१ मा भएको भारत–पाक युद्धपछि पाकिस्तानको क्षेत्रमा गरेको यो पहिलो आक्रमण हो। बालाकोट क्षेत्र सीमाबाट झन्डै ५० किलोमिटर भित्र पर्दछ। पाकिस्तानले भारतीय हमलाको भत्सर्ना गर्दै समयक्रममा यसको जवाफ फर्काउने बताएको छ।

भारतीय पक्षले आफ्नो सैन्य विमानले जेस–ए–मोहम्मदको तालिम केन्द्रमा हमला गरको बताएको छ। सो समूहले भारत प्रशासित काश्मिरमा गत फ्रेबुअरी १४ मा आत्मघाती बम विष्फोट गराएको दाबी गरेको थियो। सो समूहले भारतमा थप आक्रमण गर्नसक्ने सूचनाका आधारमा आक्रमण गरिएको भारतले बताएको छ। 

‘तत्कालिक खतराका कारणले पनि आक्रमण जरुरी थियो,’ भारतीय विदेश सचिव विजय गोखलेले भने। सयौं जिहादीहरुलाई तालिम दिने त्यस्तो केन्द्र पाकिस्तानी अधिकारीको जानकारीबिना चल्न सम्भव नहुने पनि उनले बताए। मंगलबार बिहानको सो विमान पाकिस्तानको मुजफ्फरावाद क्षेत्रबाट पाकिस्तानतर्फ प्रवेश गरेको थियो। मुजफ्फरावाद पाकिस्तान प्रशासित काश्मिरमा पर्दछ। सो विमान प्रवेश गरेर तुरुन्तै फर्किएको र त्यसबाट कुनै पनि मानवीय या भौतिक क्षति भने नभएको पनि समाचरामा जनाइएको छ।

भारत र पाकिस्तानबीच हालैका दिनमा बढिरहेको विवादका बीच मंगलबार बिहान यो घटना भएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन्।

गत फेब्रुअरीको १४ तारिखमा भारत प्रशासित काश्मिरमा भएको आत्मघाती हमलामा कम्तीमा ४० जना सशस्त्र प्रहरीको ज्यान गएपछि यी दुई देशबीच तनाव उत्पन्न भएको छ। सो आक्रमणमा भारतले पाकिस्तानी पक्षको हात रहेको बताएको छ तर पाकिस्तानले भने त्यो आरोपको खण्डन गर्दै आएको छ।

यसैबीच, भारतले काश्मिरी पृथकतावादी र अरु लडाकू लुकेर बसेको आशंकामा लाइन अफ कन्ट्रोल पार गरी पाकिस्तान–अधीनस्थ क्षेत्रमा हवाई कारबाही गरिएको जनाएको छ। यो हमलाबाट कैयौं आतंककारी शिविर ध्वस्त भएको भारतका कृषि राज्यमन्त्री गजेन्द्रसिंह सिखावतले पुष्टी गरेका छन्।

भारत–अधीनस्थ काश्मिरमा आत्मघाती आक्रमणमा ४० जना भारतीय अर्धसैनिक बलको मृत्यु भएपछि पहिलो पटक भारतले पाकिस्तानी क्षेत्रमा आक्रमण गरेको पनि मन्त्री सिखावतले बताएका छन्। भारत सरकारले यसअघि नै भारतीय सुरक्षाफौजमाथि आत्मघाती आक्रमण गर्नेमाथि फौजी कारबाही गर्न भारतीय सेनालाई पूर्णअख्तियारी दिइसकेको छ।

काश्मिरमा संघर्षरत मौलाना अजहरको नेतृत्वमा रहेको जैस ए–मोहम्मद समूहले आत्मघाती आक्रमणको जिम्मेवारी लिएको छ। मौलाना पाकिस्तानमै रहेकाले भारतले उनलाई भारतसमक्ष सुपुर्दगी गर्न आग्रह गर्नुका साथै पाकिस्तानविरुद्ध अन्तरराष्ट्रिय कुटनीतिक दबाब सिर्जना गरिरहेको छ।
भारतले पाकिस्तानी आतंकवादी केन्द्रमा हमला गरेपछि भारतभर दीपावली गरिएको छ। आसन्न चुनावलाई लक्षित गर्दै यस हमलाले भारतभर राष्ट्रवादी भावनाको उभार ल्याउने समीक्षकहरुले बताएको छन्। कतिपयले यस आक्रमणलाई मोदीको दह्रो निर्णयको रुपमा अथ्र्याउन थालेका छन्।

प्रकाशित: १५ फाल्गुन २०७५ ०४:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App