८ वैशाख २०८१ शनिबार
कला

निफमा ‘डाइङ क्यान्डल’ उत्कृष्ट

काठमाडौं – नेपाल चलचित्र तथा सांस्कृति प्रतिष्ठानको आयोजनामा गत बिहीबारबाट राजधानीमा भएको ‘दोस्रो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ मा फिल्म ‘डाइङ क्यान्डल’ले दुई अवार्ड जितेको छ। निर्देशक नरेशकुमार केसी निर्देशित फिल्मले ‘उत्कृष्ट कथा चलचित्र’ र ‘उत्कृष्ट कथा निर्देशक’को अवार्ड जितेको हो। 

गत सोमबार भएको महोत्सव समापन कार्यक्रममा उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले ५० हजार रुपैयाँसहित फिल्मलाई पुरस्कार प्रदान गरे। फिल्म ‘डाइङ क्यान्डल’को दुवै अवार्ड फिल्मका निर्माता तथा छाँयाकार रविन आचार्यले लिए। यो फिल्मले ‘अन्तर्राष्ट्रिय सिंगापुर साउथ एसियन फिल्म फेस्टिभल’ र न्यूर्योकको ‘क्वइन्स वल्र्ड फिल्म फेस्टिभल’मा ‘बेस्ट सिनेमाटोग्राफी’को अवार्ड जितिसकेको छ। महोत्सवमा शिवम् अधिकारीको लेखन तथा निर्देशन रहेको फिल्म ‘पञ्चायत’ले ‘उत्कृष्ट स्क्रीन चलचित्र अवार्ड’ पायो।

महोत्सवमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत ‘सर्ट फिल्म’ तर्फ भारत र बंगलादेशको संयुक्त सर्ट फिल्म  ‘मिन आलाप’ ले ‘उत्कृष्ट लघु चलचित्र’को अवार्ड जित्यो। सर्ट फिल्म ‘मिन आलाप’ले अवार्ड जितेसँगै पाँचसय अमेरिकी डलरसहित ‘माउन्ट एभरेस्ट अवार्ड’ पायो। फिल्ममा सुवर्ण सन्जुती तुसीको निर्देशन छ।

त्यस्तै ‘नेपाली पानोरामा’अन्तर्गत सेनाङ ग्याम्जो तामाङको सर्ट फिल्म ‘सुपरमङ्क’ले ‘उत्कृष्ट नेपाली सर्ट फिल्म’को अवार्ड जित्दै २५ हजार रुपैंयाँ पोल्टामा पार्‍यो। 

महोत्सवमा फिल्म निर्देशक एवम कलाकार नीर शाह, भारतीय फिल्मकर्मी प्रेमेन्द्र मजुमदार, चीनको बेइजिङ फिल्म एकेडेमीका प्रोफेसर ल्यांग स्याओ र ‘कान्स फिल्म फेस्टिभल’का प्रोग्राम निर्देशक एन्ने डेलेच निर्णायक थिए। महोत्सवमै आयोजना गरिएको ‘उत्कृष्ट कथावाचन प्रतियोगिता’मा दिवस अम्गाईंले ‘काशीनाथ कथा’बाट र सजन लोप्चनले ‘अर्को कथा’बाट ४० हजार रुपैयाँ पुरस्कार जिते। 

फेष्टिभलका अध्यक्ष केपी पाठकले फिल्ममार्फत दर्शकहरूलाई कला, संस्कृति जोगाउनका लागि प्रोत्साहन गर्न महोत्सव आयोजना गरिएको बताए। ‘फिल्म हेर्ने दर्शकहरूले कतिपय नायकनायिका भेट्न पाएका छैनन्’, उनले भने, ‘अभिनयसँगै दर्शकलाई फिल्मका पात्रहरूलाई प्रत्यक्ष भेटाउन यो महोत्सव चलाएका हौं।’

 

प्रकाशित: १५ फाल्गुन २०७५ ०२:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App