coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

तरुण दलले सरकारविरुद्ध एक लाख युवा उतार्ने

वीरगन्ज – नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले गरिरहेको विभिन्न विरोध कार्यक्रमअन्र्तगत राजधानीमा सरकारविरुद्ध एक लाख युवा उतार्ने तयारी गर्न थालेको छ। वीरगन्जमा तरुण दलका केन्द्रीय महासचिव भूपेन्द्रजँग शाहीले मंगलबार बिहान एक पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी गराए। सिंहदरबार घेराउ कार्यक्रमसहित तरुण दलको ‘युनिफर्म’मा एक लाख बढी युवा देशैभरिबाट राजधानीमा उतार्ने योजना रहेको उनले बताए।

‘आन्दोलन गर्ने र अखबारमा फोटो छपाउने हाम्रो रहर होइन, सरकार सुध्रियोस्, लोकतन्त्र, अभिव्यक्तिको स्वतन्त्रता, प्रेस स्वतन्त्रताविरुद्ध सरकारले देखाएको अधिनायकवादी चरित्र सच्यिोस् भन्ने चाहना मात्र हो, यदि सरकारले आफूलाई सच्याउँछ भने केही छैन, नभए प्रतिपक्षीको भूमिकामा काम गर्न यस सरकारविरुद्ध तरुण दल नै काफी छ,’ शाहीले भने, ‘वाइड वडी बिमान खरिद भ्रष्टाचार प्रकरणमा दोषी देखिएका मन्त्री फिर्ता काट्दै हिँडेका छन्, यसले देखेको छ भने प्रधानमन्त्री केपी ओलीकै संरक्षणमा भ्रष्टाचार मौलाउँदैछ।’

वीरगन्ज श्रीपुरस्थित नेपाल तरुण दलको कार्यालयमा भएको पत्रकार सम्मेलनमा बोल्दै शाहीले तरुण दलभित्र कुनै विमति र विवाद नभएको र समग्र तरुण दल एकजुट रहेकोले आफूहरूको ध्यान सरकारको स्वछन्द गतिविधिविरुद्ध खबरदारीतिर रहेको बताए। ‘निर्मला हत्याकाण्डमा दोषी पता लाग्न नसक्नु एउटा बेग्लै कुरा हो। कहिलेकाहीँ अनुसन्धान निष्कर्षमा पुग्न समय लाग्न सक्छ, तर एकपछि अर्को नक्कली अभियुक्तलाई जसरी पेश गरिएको छ त्यसले वास्तविक दोषीलाई सरकारले नै जोगाउन खोजेको प्रष्टिएको छ,’ महासचिव शाहीले भने, ‘बलात्कारपछि हत्या जस्तो घटनाको दोषी पत्ता लाग्न नदिने, कलाकारलाई गीत गाउन नदिने, पत्रकारलाई लेख्न नदिने, डाक्टरलाई अस्पतालबाटै उठाएर अपहरण शैलीमा बन्धक बनाउनेलगायतका कुराबाट सरकार निरंकुशतातिर बढेको देखिएको छ, तरुण दलले प्रतिवाद गर्छ।’

गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा खुलेका अस्पताल सरकारले बन्द गराउन खोजेको भन्दै उनले आक्रोश व्यक्त गरे। पत्रकार सम्मेलनमा तरुण दलका बारा जिल्ला अध्यक्ष लोकेश सिंह, पर्सा जिल्ला सचिव बिवेक चौरसिया, नेबिसंघका केन्द्रीय सदस्य सुधीर पटेललगायतको उपस्थिति थियो।

प्रकाशित: १५ फाल्गुन २०७५ ०२:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App