coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

आन्तरिक पाहुनालाई वर्षभरि छुट

पोखरा लेकसाइडका होटल। पछिल्लो समय यहाँ होटलको संख्या निकै नै बढेका छन्। तस्बिर : सन्तोष/नागरिक

पोखरा – गण्डकी प्रदेश सरकारले सन् २०१९ लाई आन्तरिक पर्यटक भ्रमण वर्ष मनाउने घोषणा गरेपछि यहाँका व्यवसायीले पाहुना तान्न विशेष छुटको घोषणा गरेका छन्। पश्चिमाञ्चल होटल संघमा आवद्ध होटलले कोठाको शुल्कमा कम्तिमा १५प्रतिशत छुट दिने घोषण गरेको हो। यो छुट आवासमा मात्र लागू हुनेछ।

पर्यटकस्तरदेखि तारेस्तरसम्मका होटलमा यो छुट उपलब्ध हुने व्यवसायीले बताएका छन्। संघका अध्यक्ष विकल तुलाचनका अनुसार यो छुट सन् २०१९ भर संघमा आवद्ध होटलमा लागू हुनेछ। आवद्ध बाहेकका होटलमा पनि छुट लागू गर्न संघले आग्रह गरेको उनले बताए। पोखरा घुम्न आएका जो कोही आन्तरिक पाहुनाले यो होटलका कोठामा यो छुट पाउने उनले बताए। संघमा झन्डै चार सय होटल आवद्ध छन्। 

होटलले बनाएको ‘ट्यारिफ’ (मूल्यसूची)मा यो छुट उपलब्ध हुने तुलाचनले बताए। सबै होटलले कोठाको सुविधाअनुसार मूल्यसूची बनाएका हुन्छन्। घोषणा गरेको छुट उपलब्ध गराउन संघले मातहतका होटललाई परिपत्र गरेको छ। त्यसबाहेक गण्डकी प्रदेश सरकारको पर्यटन मन्त्रालयलाई समेत छुटको लिखित जानकारी दिइसकेको छ।

‘आन्तरिक पाहुना तान्नका लागि हामीले सन् २०१९ भरि होटलका कोठामा १५ प्रतिशत छुट दिएका छौं। यो छुट सबै आन्तरिक पाहुनाका लागि लागू हुनेछ,’ उनले भने, ‘यसले अझै बढी आन्तरिक पाहुनालाई तान्न सघाउनेछ।’ व्यवसायीका अनुसार पोखराका होटलको अकुपेन्सीको अनुपात अहिले ५० प्रतिशतसम्म आन्तरिक पाहुनाको रहेको छ। छुट दिँदा यो अनुपात अझै बढ्ने व्यवसायीको अपेक्षा रहेको छ। ‘आन्तरिक पाहुनाका लागि छुट दिँदा त्यसले आउजाउ बढाउन सक्छ, त्यसले व्यवसायमा राहत दिनेछ,’ तुलाचनले भने। 

मार्च–अप्रिल–मे र सेप्टेम्बर–अक्टोबर–नोभेम्बरलाई पर्यटन व्यवसायीले मुख्य सिजन मान्छन्। मुख्य सिजनमा यहाँ विदेशी पाहुनाको आगमन बढ्न गई सुविधायुक्त होटलमा कोठा पाउन मुस्किल हुन्छ। विदेशी पर्यटकले महिनौंअघि होटलका कोठा बुकिङ गर्छन्। तर, आन्तरिक पाहुनाले अग्रिम रुपमा होटलका कोठा बुकिङ गर्दैनन्। अग्रिम बुकिङ नगरे ‘पिक’ सिजनमा रोजेका होटलमा कोठा पाउन मुस्किल हुन्छ। व्यवसायीले भने यो छुट पिक सिजनमा पनि आन्तरिक पर्यटकका लागि उपलब्ध गराउने बताएका छन्। 

‘पिक’ सिजनमा पनि पर्यटन व्यवसायीले आन्तरिक पर्यटकलाई १५ प्रतिशत छुट दिने संघका निवर्तमान अध्यक्ष भरतराज पराजुलीले बताए। ‘हामीले आफ्नो ‘ट्यारिफ’मा कोठा बेच्ने भनेको ‘पिक’ सिजनमा हो। अरु बेला त निकै सस्तोमा कोठा बेच्छौं,’ संघका निवर्तमान अध्यक्ष पराजुली भन्छन्, ‘यो छुट पिक सिजनमा पनि आन्तरिक पाहुनाले पाउनेछन्।’ उनका अनुसार प्रतिस्पर्धा बढ्दै जाँदा अफ सिजनमा पोखराका होटलले निकै सस्तोमा कोठा बेच्ने गर्छन्। तर, सिजनका बेला भने राम्रा होटलमा कोठा पाउन मुस्किल हुन्छ। 

‘अफ सिजनका बेला त ५० प्रतिशतसम्मै मूल्य घटाएर कोठा बेच्ने गरिएको छ। तर, सिजनमा त्यस्तो हुँदैन। तर, यो छुट पिक सिजनमा पनि उपलब्ध हुनेछ,’ उनले भने, ‘पिक सिजनमा नदिने हो भने छुट घोषणाले अर्थ राख्दैन।’ पछिल्लो समय होटलका कोठामा छुट दिने घोषणा व्यवसायीले गरे पनि मूल्य बढाएर छुट दिने गरेको भन्दै पाहुनाले आलोचना गर्न थालेका छन्। व्यवसायी भने यो घोषणाले सिजनका बेला घुम्न आउने पाहुनालाई बढी राहत मिल्ने बताउँछन्। ‘अफ सिजनमा आउँदा निकै नै सस्तो पर्छ, यो छुटले अफ सिजनमा खासै अर्थ राख्दैन। तर, सिजनका बेला राम्रा होटलका कोठा समेत पाउन मुस्किल हुन्छ,’ पराजुली भन्छन्, ‘सिजनका बेलाका लागि भने छुटले अर्थ राख्छ। वर्षभरी छुट दिँदा त्यसले सिजनको बेला महत्व पाउँछ।’

प्रदेश सरकारले सन् २०१९ लाई आन्तरिक पर्यटक भ्रमण वर्ष मनाउने र यो वर्ष प्रदेशमा झन्डै १५ लाख पाहुना भित्र्याउने लक्ष्य राखेको छ। अहिले प्रदेशमा कति संख्यामा आन्तरिक पाहुना आउँछन् भन्ने कतैपनि तथ्यांक छैन। विदेशी पाहुनको हकमा भने हवाईमार्गबाट नेपाल भित्रिएका पाहुनाको झन्डै ४० प्रतिशत पोखरा आउने अनुमान छ। प्रदेश सरकारले यो वर्षदेखि स्थलमार्गबाट आउने पाहुनाको तथ्यांक राखे पनि आन्तरिक पाहुनाको भने अझै लेखाजोखा सुरु भएको छैन। 

पर्यटन बोर्डका म्यानेजर सूर्य थपलियाले पनि आन्तरिक पाहुनाका लागि व्यवसायीले दिएको छुट तारिफयोग्य रहेको बताए। ‘हुन त १५ प्रतिशत हो, तर, यसले व्यवसायमा महत्व राख्छ,’ उनले भने, ‘माग र आपूर्तिमा मूल्यले फरक पार्ने भए पनि यो छुटले आन्तरिक पाहुनालाई आकर्षण गर्छ।’ उनका अनुसार पर्यटन क्षेत्रको मूल्य सधैंभरी एकैखालको हुँदैन। पर्यटनको सेवा माग र आपूर्तिमा भर पर्छ। त्यसैले सिजनका बेला सेवाको मूल्य बढी नै हुन्छ। आन्तरिक र बाह्य पर्यटकले सधै एकैखालको मूल्य पाउने पनि हुँदैन। 

‘कुनै पनि वस्तु र सेवाको मूल्य माग र आपूर्तिमा निर्भर रहन्छ। तर, पर्यटन सेवा प्रदायक व्यावसाय भएकोले यो छुटले पाहुना तान्न सघाउँछ,’ थपलिया भन्छन्, ‘वर्षभरिका लागि छुट भएकाले यसले सिजनमा बढी महŒव राख्छ। यसले पर्यटन प्रवद्र्धनमा संस्थागत सहयोग गर्छ।’

प्रकाशित: १५ फाल्गुन २०७५ ०१:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App