coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सुदूरपश्चिम र गण्डकी प्रदेश सभामुखबीच अनुभव आदानप्रदान

गण्डकी तथा सुदूपश्चिम प्रदेशका प्रदेशसभाका सभामुखलगायतका पदाधिकारी छलफलमा।    तस्बिर : नागरिक

धनगढी – सुदूरपश्चिम र गण्डकी प्रदेशसभाका सभाभुख, पदाधिकारी तथा सांसदले प्रदेशसभाको अनुभव आदानप्रदान गरेका छन्। प्रदेशसभाको अनुभव साट्न गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीसहित १३ जना सांसद सुदूरपश्चिम प्रदेश आएका छन्। धनगढी जिल्ला समन्वय समितीको सभाकक्षमा मंगलबार दुवै प्रदेशका सभामुख, पदाधिकारी र सासंदबीच छलफल भएको हो।

प्रदेशसभा कार्य सञ्चालन प्रक्रिया, गरेका काम कारबाही, बनेका ऐन, सेवा, सुविधालगायत विषयमा दुई प्रदेशका पदाधिकारी र सांसदहरूले अनुभव साटासाट गरेका छन्। दुई प्रदेशका अनुभव आदानप्रदानले संसदिय काम कारबाही गर्न सहज हुने छलफलका क्रममा सुदूरपश्चिम प्रदेशसभाका सभामुख अर्जुनबहादुर थापाले बताए।

‘दुई प्रदेशको अनुभव साटासाटले एक अर्का प्रदेशले गरिरहेका गतिविधि, कार्यशैली जान्ने र बुझ्ने अवसर प्राप्त भएको छ,’ उनले भने, ‘यसले संसदीय काम कारबाही सहज हुनेछ।’ यस्ता अनभुव आदानप्रदानले संघीयता कार्यान्वयनमा र संसदीय गतिविधि परिपक्क बनाउन सघाउ पुगाउने उनले बताए। ‘हामी संघियताको अभ्यासको सुरुवातमा भएकाले संघियतालाई बलियो बनाउन पनि एक अर्का प्रदेशबीच अनुभव आदान प्रदान आवश्यक छ,’ उनले भने।

यसैगरी गण्डकी प्रदेशका सभामुख अधिकारीले प्रदेशसभा बैठकका गतिविधि, कानुन निर्माणर कार्य सञ्चालन प्रक्रिया कसरी भइरहेको छ भनेर सुदूरपश्चिम प्रदेशको अध्ययन गर्न र आफ्ना अनुभव बताउन यो अध्ययन भ्रमणमा आएको बताए। ‘संघीयता सही ढंगले कार्यान्वयन गर्न सकिन्छ वा सकिन्न भन्ने मुख्य चुनौती भएकाले सबै प्रदेशले काममा एकरूपता ल्याउन पनि अनुभव आदानप्रदान आवश्यक छ,’ उनले भने।

वर्गीय, जातीय, क्षेत्रीय, लैंगिक हिसाबले पछाडि परेकालाई सशक्तीकरण गर्न उद्देश्य संघीयताको अभ्यास भएको उनको भनाइ छ। ‘विकासमा पछाडि परेको र अगाडि बढेकोलाई समान दृष्टिकोणले हेर्ने कुरा संघीयता कार्यान्वयनमा चुनौती बन्न सक्छ,’ उनले भने। सवै प्रदेशबीच एक रूपता ल्याउन पनि प्रदेश प्रदेशबीच अनुभव आदानप्रदान आवश्यक भएको उनले बताए। ‘सबै प्रदेशका गतिविधि, कार्यशैलीमा एकरूपता कायम भएन भने संघीयताले अराजकता निम्त्याउन सक्दछ,’ उनले भने, ‘यसतर्फ हामी सबै सचेत हुनुपर्छ।’

संघीयता आत्मसाथ गर्न र सवै प्रदेशबीच एकरूपता कायम गर्नका लागि गण्डकी प्रदेशसभाले अनुभवआदान प्रदान अभियान थालेको उनले बताए। यसअघि, प्रदेश ५ र कर्णाली प्रदेशको भ्रमण गरी अनुभव साटासाट गरेको उनले बताए। दोस्रो चरणमा अन्य प्रदेशमा पनि अनुभव आदानप्रदान गरिने उनले बताए। मंगलबार साँझ मुख्यमन्त्री त्रिलोचन भट्टसँग भेटघाटपछि सभामुखको टोली कञ्चनपुरमा रहेको टनकपुर बाँध हेर्न महेन्द्रनगरतर्फ गएको छ।

प्रकाशित: १५ फाल्गुन २०७५ ०१:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App