४ वैशाख २०८१ मंगलबार
अर्थ

कुखुरा मरेपछि कृषक चिन्तित

हेटौंडा उपमहानगरपालिका–७ मा अचानक मरेका सयौं कुखुरा। तस्बिर : अशोकसुजन/नागरिक

मकवानपुर – प्रदेश ३ को राजधानी हेटौंडा उपमहानगरपालिकामा कुखुरा मर्न थालेपछि कृषक चिन्तित भएका छन्। हेटौंडाको वडा नम्बर ७, ८ र ११ मा अण्डा र मासुका लागि पालिएका करिब १५ हजार कुखुरा एक सातामै मरेका छन्।

दैनिक रुपमा धेरै संख्यामा कुखुरा मरेर किसानको खोर रित्तिदा लाखौं क्षति भएको कृषकको भनाइ छ। अण्डाका लागि पालिएका लेयर्स धेरै कुखुरा एकैपटक मरेपछि बर्डफ्लुको आशंका गरिएको थियो। मरेका कुखुराको नमुना चितवन हुँदै काठमाडौं पठाइएको र प्राप्त रिपोर्ट अनुसार एच नाईन भाईरस देखिएकोले सतर्कता अपनाउन थालिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख डा. चेतनारायण खरेलले बताए।

भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र, हेटौंडाले कुखुरामा एचनाइन भाइरस भएको जनाएको छ। ‘रोग नियन्त्रणका लागि तत्काल रोग देखिएको खोरको कुखुरा बिक्री वितरणमा रोक लगाएका छौं,’ उनले भने, ‘रोग सर्भिलेन्स गर्ने र रिपोर्ट सम्बन्धित निकायमा पठाउने र निर्देशनअनुसार नियन्त्रणका लागि सूचना सम्प्रेषण र सहयोग गर्ने कार्यलाई तीव्रता दिएका छौं।’ हेटौंडाका अन्य वडामा पनि धेरै मात्रामा कुखुरा मरेको सुने पनि वडा नम्बर ७ बाट मात्र जानकारी आएको उनले बताए।

ठूलो संख्यामा एकै गाउँका कुखुरा मरेपछि नमुना संकलन गरेका हेटौंडा ७ मा कुखुरा बिक्रीमा मंगलबारदेखि रोक लगाइएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी असमान तामाङले बताए। यसैबीच, मकवानपुर कुखुरा व्यवसायी संघले मंगलबार पत्रकार सम्मेलन गर्दै अचानक धेरै कुखुरा मर्दा कृषकमा चिन्ता छाएको जनाएको छ। संघका अध्यक्ष राजु अधिकारीले बर्ड फ्लू नभई कुखुरामा सामान्य प्रकृतिको रानीखेत रोगको समेत संक्रमण भएको हुनसक्ने बताए।

यता, उपभोक्तावादीहरुले भने एक साताअघि नै रिपोर्ट सस्पेक्टेड आए पनि कुखुराजन्य पदार्थ बिक्री वितरणमा रोक नलगाई गम्भीर त्रुटी गरेको आरोप लगाएको छ। भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले नतिजा गुपचुप राखी कुखुरा व्यवसायीसँग मिलेमतो गरी स्थानीय प्रशासनलाई समेत जानकारी नदिएको उपभोक्ता हीत संरक्षण मञ्च मकवानपुरका अध्यक्ष बासु खतिवडाले बताए। यसले मानव स्वास्थ्यमा असर गरेको प्रमाणित भएमा गल्ती गर्ने उपर मञ्चले कानूनी उपचार खोज्ने उनको भनाइ छ।

उपभोक्ता हीत संरक्षण मञ्चले चासो व्यक्त गरेपछि सोमबार प्रशासन, उपभोक्ता मञ्च, पशुसेवा विज्ञ केन्द्र, प्रहरी, कुखुरा व्यवसायी, सञ्चारकर्मीको टोलीले कुखुराको खोर संयुक्त रुपमा निरीक्षण गरेको थियो। टोलीले उच्च संक्रमण रहेको आशंका गरिएका पाँचवटा खोरबाट कुखुराको र्‍यालको नमुना संकलन गरेको थियो। टोलीले दीपेन्द्र गौतमको डिएस पोल्ट्री फर्म, नवराज सिलवाल र कुवेरप्रसाद चौलागाईंको कुखुरा फर्म, अनिश पोल्ट्री फर्म र दुर्गा महतको खोरबाट कुखुराको र्‍याल संकलन गरेको हो।

प्रकाशित: १५ फाल्गुन २०७५ ०१:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App