७ वैशाख २०८१ शुक्रबार
खेल

फेरि पुलिसको तगारो क्यामरुनी टोली

पोखरामा नेपाल पुलिसविरुद्ध डाउफिन्स एफसीका खेलाडी बल क्लियर गर्दै।    तस्बिरः उमेश पुन/नागरिक

पोखरा – सिजनको चौथो उपाधि उचाल्ने योजनालाई साकार पार्ने अभियानमा रहेको क्यामरुनी टोली डाउफिन्सले आहा राराको १७औं संस्करणको क्वार्टरफाइनलमा नेपाल पुलिस क्लबलाई पन्छाएको छ। 

तिलोत्तमा गोल्डकपमा फाइनलमा पुलिसलाई पराजित गर्दै पोखरा भित्रिएको डाउफिन्सले मंगलबार पनि आहाको क्वार्टरफाइनलमै पुलिसविरुद्धको जितलाई निरन्तरता दियो। क्वार्टरफाइनल भेटमा थपिएको अतिरिक्त समयमा २–१ गोलले पराजित गर्दै डाउफिन्सले सेमिफाइनलको यात्रा तय गर्दा आहा गोल्डकपमा गर्विलो इतिहास बनाएको नेपाल पुलिस क्लब फेरी पहिलो खेलबाट बिदाई लिन पुग्यो। 

यससँगै लगातार दुई दिनको खेलमा पुलिसका लागि डाउफिन्स नै बाधक बन्यो।   सुदूरपश्चिम गोल्डकपबाट उदाएको डाउफिन्सले पोखरा, धरान र बुटवलमा उपाधि उचाल्दै ह्याट्रिक गरिसकेको छ। नकाउट फुटबलको चौथो उपाधि उचाल्ने सपनालाई पोखराबाटै साकार पार्ने सम्भावनालाई अझ बलियो बनाउँदै डाउफिन्स अन्तिम चारमा प्रवेश गरेको छ। 

उपाधि यात्रामा पुग्नुअघि डाउफिन्सले त्रिभुवन आर्मीसँग सेमिफाइनलमा भेट गर्ने निधो भइसकेको छ। पहिलो हाफमा पाएको दोस्रो कर्नरलाई उपयोग गर्ने क्रममा डाउफिन्सले अग्रता बनाई छाड्यो। ३७औं मिनेटमा अहन्दा एसाह लोयासले हानेको कर्नर बललाई आन्द्र थिएरीले छातीले रोक्दै फुर्सदिलो रूपमा प्रहार गरेको बल सीधै पोस्टभित्र छिरेपछि पुलिसको सेमिफाइनलको ढोका बन्द गरिदियो।

पहिलो हाफमा पुलिसले प्रभावकारी खेल प्रस्तुत गर्न असमर्थ देखियो। घरेलु फुटबलमा उत्कृष्ट प्रदर्शन गर्दै आएको पुलिसको टिम क्यामरुनी टोलीसँग उत्कृष्ट प्रदर्शन गरे पनि शारीरिक रूपमा कमजोर देखिँदा हारको श्रृखंलालाई दोहोर्याइरहेको छ। 

धरानमा सेमिफाइनलमा पुलिस डाउफिन्ससँगै पराजित हुँदै उपाधि विमुख हुन पुग्यो। तिलोत्तमा गोल्डकपमा फाइनलमा पनि सडन डेथको शिकार हुँदै उपाधिविनै पुलिस पोखराको मैदानमा खेल्न रातारात आइपुगेको थियो। खेलको २६औं मिनेटमा मनबहादुर परियारले हानेको फ्रिकिकलाई अग्ला कदका सुमन सुवेदीले प्रहार गरे पनि बाहिरियो।

३४औं मिनेटमा निरकुमार राईले हानेको फ्लिक बल लाइनमा प्रहार हुन सकेन। तर बल भेट्नप्रति तीर्थ मगरले डिबक्सभित्र इफोर्ट गर्नै सकेनन्। पुलिसको युवा जोशलाई क्यामरुनी टोलीले हरेक समय मत्थर पार्दै शारीरिक अब्बलता मैदानमा फाइदा लिइरहेको थियो।

खेलमा म्यान अफ दी म्याच भने पहिलो गोल गर्ने क्यामरुनी टोलीका खेलाडी थिएरी घोषित हुँदै नगद ५ हजार रुपैयाँ पुरस्कार पाए। पुलिसले खेलको अतिरिक्त समयमा गोल गर्दै खेललाई थप समयसम्म लम्ब्यायो। अतिरिक्त समयमा सुमन सुवेदीले गोल गर्दै खेलमा फर्किएको पुलिसको टोलीले आफ्नो सम्भावनालाई जीवितै राख्यो। सुमन लामाको फ्रिकिकलाई सुवेदीले हेडिङ गर्दै गोल गरेपछि पुलिस आत्मविश्वासी देखिएको थियो। 

दोस्रो हाफमा भने दुवैले जुझारु देखिए पनि थप गोल नहुँदा १–१ मा टुंगिदैै खेल थप २० मिनेट लम्बियो। थपिएको समयमा क्यामरुनी टोलीले गोल गर्दै पोखराको यात्रालाई सुखद बनायो। थपिएको चौथो मिनेटमा यान्निकले गोल गर्दै क्यामरुनी टोलीको जित पक्का गर्दै सेमिफाइनलको ढोका खोले।

पुलिस निराश मात्रै नभई थकित मुद्रामा मैदान छाड्दै बेन्चमा आइपुग्यो। पुलिसको अन्त्य निकै दुखद बन्न पुग्यो। थप गरिएको समय टुंगिदा पुलिस १० खेलाडीबाट विश्राम लियो। हरि कठायतले रातो कार्ड खाँदै मैदान बाहिरिएका थिए। त्यो नै प्रतियोगिताको पहिलो रातो कार्ड थियो। 

सहारा क्लबको आयोजना तथा हिमश्री फुड्स प्रालिको मुख्य प्रायोजनमा सञ्चालित १७औं सस्करणको आहा रारा गोल्डकपको पहिलो सेमिफाइनल खेल रुस्लान थ्री स्टारले विभागीय टोली सशस्त्र प्रहरी बलसँग बुधबार खेल्नेछ। 

प्रकाशित: १५ फाल्गुन २०७५ ००:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App