७ वैशाख २०८१ शुक्रबार
अर्थ

सुमार्गीको पैसा फर्काउन नसकिने

काठमाडौं – सर्वोच्च अदालतले विवादित व्यवसायी अजयराज सुमार्गीको विभिन्न बैंकमा रहेको रकम फिर्ता गर्न आदेश दिए पनि तत्काल सम्भव नहुने भएको छ।

नेपाल इन्भेस्टमेन्ट बैंकको रकम स्थानान्तरण गरेका बैंैंकहरुले पैसा फर्काउन सक्ने अवस्था नभएको बताएका छन्। सर्वोच्च अदालतको अन्तरिम आदेशपछि व्यवसायी सुमार्गीले इन्भेस्टमेन्ट बैंकमा रहेको आफ्नो ७५ लाख अमेरिकी डलर अन्य बैंकमा स्थानान्तरण गराएका थिए। न्यायाधीश दीपकराज जोशीको एकल इजलासले अल्पकालीन आदेश दिँदै रकम झिक्ने अनुमति दिएको थियो। 

सुमार्गी स्वामित्वको मुक्तिश्री सिमेन्ट उद्योगको नाममा बैंकमा जम्मा भएको रकम शंकास्पद देखिएको जनाउँदै पछिल्लो पटक सर्वोच्चले झिकेको रकम फिर्ता गर्न आदेश दिएको थियो। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश आनन्दमोहन भट्टराईको संयुक्त इजलासले यसअघि भएको अल्पकालीन अन्तरिम आदेश खारेज गर्दै सम्पत्ति शुद्धीकरण ऐनअन्तर्गत अनुसन्धान गर्नुपर्ने देखिएकाले बैंकबाट झिकिएको विवादित रकम फिर्ता लिन राष्ट्र बैंक र इन्भेस्टमेन्ट बैंकलाई आदेश दिएको थियो। 

सर्वोच्चको आदेशपछि राष्ट्र बैंकले सुमार्गीको पैसा फिर्ता गराउन बैंकहरुलाई निर्देशन दिएको थियो। तर, उक्त निर्देशन कार्यान्वयन गर्न सम्भव नदेखिएको हो।

सर्वोच्चको पहिलो आदेशलगत्तै व्यवसायी सुमार्गीले मुक्तिश्री सिमेन्टका नाममा आएको ७५ लाख अमेरिकी डलर झिकिसकेका छन्। सर्वोच्चले फेरि बैंकमै राख्न लगाउन आदेश दिएपछि राष्ट्र बैंकले पनि इन्भेस्टमेन्ट बैंकलाई साविककै स्थितिमा रकम राख्न आदेश दिएको छ। सर्वोच्चले विदेशबाट मुक्तिश्री सिमेन्ट उद्योगका नाममा भित्र्याइएको रकम शंकास्पद देखिएकाले सम्पत्ति शुद्धीकरण निवारण (मनी लाउन्डरिङ) ऐनअन्तर्गत अनुसन्धान गर्न भनेको छ। 

सर्वोच्च अदालतको अन्तरिम आदेशपछि व्यवसायी सुमार्गीले इन्भेस्टमेन्ट बैंकमा रहेको आफ्नो ७५ लाख अमेरिकी डलर अन्य बैंकमा स्थानान्तरण गराएका थिए।

७८ करोड रुपैयाँ मध्ये २३ करोड रुपैयाँ सुमार्गीले इन्भेस्टमेन्ट बैंकबाट लिएको ऋण तिर्न प्रयोग गरेका थिए भने बाँकी ५५ करोड रुपैयाँ अन्य तीन बैंक (२५ करोड नेपाल बंगलादेश बैंक, १० करोड महालक्ष्मी विकास बैंक र २० करोड प्राइम)मा स्थानान्तरण गरेका थिए। सुमार्गीले उक्त रकममध्येबाट अधिकांश ऋण तिर्न प्रयोग गरेको, कर्मचारीलाई तलव खुवाएको र  राजस्व बुझाएकाले त्यस्तो रकम फिर्ता गर्न असम्भव भएको बैंकहरुको भनाइ छ। ‘ऋण तिर्न प्रयोग भएको पैसा फेरि खातामा ल्याउन सकिने सम्भावना छैन,’ एक बैंकरले भने।

सुमार्गीले बैंकबाट पछिल्लोपटक ७८ करोड र यसअघि दुई अर्ब २५ करोड रुपैयाँ झिकिसकेका छन्। यसअघि सुमार्गीले नबिल र इन्भेस्टमेन्ट बैंकमा रोकिएको झन्डै दुई करोड १३ लाख अमेरिकी डलर (दुई अर्ब २५ करोड रुपैयाँ) अदालतको आदेशपछि भुक्तानी पाएका थिए। सुमार्गीले सुर्खेतमा सिमेन्ट उद्योग सञ्चालन गर्न चार करोड ५० लाख अमेरिकी डलर (करिब पाँच अर्ब रुपैयाँ) खातामा जम्मा पारेका थिए।

सुमार्गीले २०७० मा करिब ११ अर्ब रुपैयाँ नेपाल भित्र्याएका थिए। सुमार्गीले ‘ट्याक्स हेभन’ मानिने ब्रिटिस भर्जिन आइल्यान्ड र साइप्रसबाट उक्त रकम ल्याएका हुन्। उनले सो रकम अनुमति नलिइ सोझै नेपालका बैंकमा जम्मा गराएका थिए। कर छलीमार्फत् गैरकानुनी रूपमा आर्जन गरेको रकम ‘ट्याक्स हेभन’ बाट लगानीका नाममा भित्र्याउन खोजेको शंकामा राष्ट्र बैंकले रोक्का गरेको थियो।

प्रकाशित: १५ फाल्गुन २०७५ ००:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App