१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

प्रियंका र आयुष्मान महिनावारी स्वच्छता दूत

काठमाडौं– खानेपानी तथा सरसफाई मन्त्रालयले कलाकार प्रियंका कार्की र आयुष्मान देशराज जोशी श्रेष्ठलाई महिनावारी स्वच्छता दूत नियुक्त गरेको छ। 

महिलाहरु महिनावारी हुँदा भोग्नु परेको समस्या सम्बन्धी जनचेतना जगाउने उद्देश्यले मन्त्रालय र आयंका फाउन्डेसनबीच प्रियंका र आयुष्मानलाई एक वर्षका लागि स्वच्छता दूत नियुक्त गर्ने सहमति भएको हो। उनीहरुलाई खानेपानी मन्त्री बिना मगरले दूत नियुक्त गरिएको पत्र हस्तान्तरण गरेकी थिइन। महिनावारीका सम्बन्धमा आम मानिसमा रहेको नकारात्मक धारणालाई बदल्न मन्त्रालय र फाउन्डेशनले यो अभियान सुरु गरेको हो।  

मन्त्री मगरले महिलाहरुले महिनावारी हुँदा भोग्नुपरेका समस्याका विषयमा जनचेतना जागृत गराउन कलाकारहरुको भूमिका अति महत्वपूर्ण हुने भएकाले अभियानमा लाग्न दुवै जनालाई शुभकामना दिइन। उनले महिनावारी हुँदा महिलाहरुले झेल्नुपरेका समस्याका विषयमा सबै जनाले सकारात्मक सोच राख्नुपर्ने बताइन।

मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले महिलाहरुलाई महिनावारी सम्बन्धी जनचेतना जगाउने विषयमा आयंका फाउन्डेसनले महत्वपूर्ण भूमिका खेल्नेमा मन्त्रालय आशावादी रहेको बताए। मन्त्रालयका तर्फबाट यो अभियान सफल बनाउन कुनै कसर बाँकी नराख्ने सचिव शर्माको भनाई छ। 

कलाकार प्रियंका र आयुष्मानको जोडीले महिलाहरुलाई महिनावारी सम्बन्धी जनचेतना जगाउन ठाउँ ठाउँमा खटेर आफैं लागि पर्ने प्रतिबद्धता जनाए। पहिलो चरणमा उनीहरुले धनुषा जिल्लाबाट यो अभियानको सुरुवात गर्ने घोषणा गरेका छन्। ६ वटा महिला मैत्री शौचालय बनाउने र किशोरीलाई स्यानिटेशन प्याड समेत प्रदान गर्ने उनीहरुको योजना छ। 

प्रकाशित: १४ फाल्गुन २०७५ १२:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App