४ वैशाख २०८१ मंगलबार
समाज

विद्यार्थी बोकेको बससँग ट्रक ठोक्कियो, १० जना घाइते

रौतहट – रौतहटमा विद्यार्थीबाहक बस र उखु बोकेको ट्रक आपसमा जुधेको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। चार जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ।

रौतहटको गरुडा ४ बजारस्थित नेपाल पुलिस स्कुलको शाखाबाट विद्यार्थी र शिक्षक बोकेर गरुडा ८ जिंगडियामा रहेको विद्यालयको होस्टलतर्फ बा१ग २१७९ नम्बरको बस जाँदै थियो। विपरीत दिशाबाट ना३ख ७४१८ उखुको बोकेर गरुडास्थित श्रीराम सुगर मिल्सतर्फ आइरहेको ट्रकसँग उक्त बस गरुडा ८ मा रहेको पेट्रोल पम्पनजिक ठोक्किएको हो। 

ट्रक चालकले मादक पदार्थ सेवन गरेको पाइएको छ। ट्रक चालक बारा निजगढका प्रह्लाद थपलियाले ओभरटेक गर्ने क्रममा ट्रकलाई सम्हाल्न नसकेपछि विद्यार्थीबाहक बसमा ठोकिएर पल्टेको थियो।

घटनामा बसका चालक डम्बर विक, ट्रकका चालक थपलिया, शिक्षिकाद्वय निरुपा कार्की र ईश्वरी थापा घाइते छन्। बसका विद्यार्थीहरु आयात सिंह, युवराज पटेल, कृतिका रन्जन, सौगात सारु, आर्यन रस्तोगी, कैलरिन राई भएका छन्। घाइतेमध्ये चार जनाको अवस्था चिन्ताजनक छ।

गरुडामा सबै घाइतेको उपचार भइरहेको छ। गम्भीर घाइते कैलरिन राई, चालक डम्बर विक, जवान विष्णुमाया स्याङतानसहित चार जनालाई वीरगन्जतर्फ रेफर गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख एसपी भूपेन्द्र खत्रीले जानकारी दिए। 

घटनालगत्तै व्यापक मात्रामा प्रहरी परिचालन गरिएको छ। घटनाको मुख्य दोषी आफैं घाइते भएकोले प्रहरी नियन्त्रणमा उपचार भइरहेको र थप अनुसन्धान भइरहेको रौतहट प्रहरी प्रमुख एसपी खत्रीले बताए। 

प्रकाशित: १४ फाल्गुन २०७५ १२:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App