७ वैशाख २०८१ शुक्रबार
समाज

गाउँका अदालत बन्दै मेलमिलाप केन्द्र

रामेछापको खाँडादेवी गाउँपालिका–४, पकरवासमा सामुदायिक मेलमिलाप केन्द्रमार्फत विवाद समाधान गर्न छलफलमा बसेका सहभागीहरू। तस्बिर/नागरिक

रामेछाप - पहिले सामान्य वादविवाद हुँदा पनि प्रहरी कार्यालय र अदालत पुग्ने नागरिक अहिले सामुदायिक मेलमिलाप केन्द्र धाउन थालेका छन्। गाउँ–गाउँमा सञ्चालित मेलमिलाप केन्द्रले स्थानीयस्तरमै सहज तरिकाले विवाद समाधान गर्न थालेपछि स्थानीयवासी यसतर्फ आकर्षित भएका हुन्। पछिल्लो समय सामान्य विवादमा रामेछापका प्रायः नागरिकको पहिलो रोजाइ मेलमिलाप केन्द्र बन्ने गरेका छन्। अड्डा अदालत धाइरहनु नपर्ने, समय र पैसाको बचत हुने तथा दुवै पक्षको जितजितको अवस्थामा विवाद मिल्ने भएपछि स्थानीयवासीले मेलमिलाप केन्द्रलाई नै पहिलो प्राथमिकता दिएका हुन्। स्थानीयका अनुसार अहिले गाउँमा अदालतको स्थान मेलमिलाप केन्द्रले लिन थालेको अवस्था छ।

गाउँ–गाउँमा मेलमिलाप केन्द्र स्थापना गर्दा सुरुका दिनहरूमा यसले के गर्ला र भनेर धेरैले पत्याएका थिएनन्। तर पछिल्ला दिनमा विवाद समाधानका लागि स्थानीय यिनै केन्द्रहरूमा धाउन थालेको सामुदायिक मेलमिलाप कार्यक्रमकी जिल्ला प्रशिक्षक मञ्जु खड्का(कार्की)ले बताइन्। केही समयअघि जग्गाको सिमानाबारे झगडा परेका रामेछाप नगरपालिका–९ का ४० वर्षीय नवराज श्रेष्ठ र टीकाराम कसाई अहिले असल छिमेकीका रूपमा खुसीका साथ बसेका छन्। गाउँमै मेलमिलापकर्ताले सजिलो तरिकाले विवाद मिलाएकाले अहिले आफूहरूबीचको मनमुटाव अन्त्य भई सम्बन्ध सुमधुर बनेको श्रेष्ठले बताए। गाउँका अन्य विभिन्न विवाद यसैगरी आत्मीयताका साथ समाधान हुने गरेको उनले सुनाए।

जिल्लाको लिखु तामाकोसी गाउँपालिका बद्रीप्रसाद उपाध्याय(काका) र गोविन्दप्रसाद अधिकारी(भतिजा) बीच लामो समयदेखि जग्गाको विवाद चलिरहेका थियो। उक्त विवाद अदालत जाँदासमेत समाधान हुने सकेको थिएन। तर गाउँमा सामुदायिक मेलमिलाप कार्यक्रम सञ्चालन भएपछि यसैका माध्यमबाट तीन महिनाअघि मात्र यो विवाद टुंगिएको छ। बाजेको पालादेखि जारी जग्गा विवाद दुई परिवारबीच नातिको पालामा आएर मिलेपछि दुवै पक्ष अति खुसी छन्। काका–भतिजबीच वर्षाैंदेखि बन्द बोलचालसमेत खुलेको छ।

रामेछापमा चार वर्षअगाडि मात्र सामुदायिक मेलमिलाप केन्द्र स्थापना सुरु भएको हो। अहिले यस्तो केन्द्र सबै स्थानीय तहमा विस्तार भइसकेका छन्। स्थानीय गैरसरकारी संस्था– तामाकोसी सेवा समितिको सहयोगमा स्थापना भएका मेलमिलाप केन्द्रहरूमार्फत अहिलेसम्म हजारभन्दा बढी विवाद समाधान भइसकेको समितिका निर्देशक गोविन्दप्रसाद घिमिरेले बताए। स्थानीय सरकारसँगको समन्वयमा वडा कार्यालयहरूमा स्थापना भएका मेलमिलाप केन्द्रहरूका लागि ६ सय ४१ मेलमिलापकर्ता सक्रिय रहेको तामाकोसी सेवा समितिले जनाएको छ।

केन्द्रमा दैनिकजसो विवाद दर्ता हुने गरेको गोकुलगंगा गाउँपालिका–३ स्थित सामुदायिक मेलमिलाप केन्द्रका संयोजक ओलकबहादुर सुनुवारले बताए। मेलमिलापकर्ताप्रति विश्वासका कारण गाउँमै विवाद मिलाउन संभव भएको उनको भनाइ छ। उक्त मेलमिलाप केन्द्रबाट अहिलेसम्म ७० भन्दा बढी विवाद समाधान भइसकेको सुनुवारले जानकारी दिए।कम खर्च र समयमै विवाद समाधान हुने उत्तम उपाय मेलमिलाप भएकाले यसतर्फ नागरिक आकर्षित भएको रामेछाप जिल्ला अदालतका न्यायाधीश माधवेन्द्रराज रेग्मी बताउँछन्। अदालतमा पनि मेलमिलाप गराउन मिल्ने प्रकृतिका मुद्दाहरूलाई मेलमिलापकै लागि पहिलो प्राथामिकता दिइने गरेको उनले जानकारी दिए। विवाद समाधानको राम्रो उपाय भएकाले पछिल्ला दिनहरूमा स्थानीय तहहरूले समेत मेलमिलाप केन्द्रलाई नै प्राथमिकतामा राख्न थालेका छन्।

आफ्नो गाउँपालिकामा पनि मेलमिलापलाई नै पहिलो प्राथामिकता दिने गरिएको दिएको सुनापति गाउँपालिकाका प्रमुख धावा लामाले बताए। हाल स्थानीय तहमा गठित न्यायिक समितिका लागि समेत गाउँमा सञ्चालित मेलमिलाप केन्द्र कोसेढुंगा सावित भएका छन्। गाउँपालिकाका न्यायिक समितिले पनि न्याय निरुपणका लागि मेलमिलाप केन्द्रको सहयोग लिने गरेको खाँडादेवी गाउँपालिकाकी उपाध्यक्ष एवं न्यायिक समिति संयोजक मखमली श्रेष्ठले बताइन्। उनले भनिन्, ‘गाउँमा रहेका मेलमिलाप केन्द्र र त्यहाँ आवद्ध मेलमिलाप कार्यकर्तालाई सशक्त बनाएर परिचालन गर्ने हो भने न्यायिक समितिकै कामको बोझ घट्छ।’

प्रकाशित: १४ फाल्गुन २०७५ ०२:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App